मेडिकल टुरिजम विशेष बहस

लुम्बिनीमा भवनसँगै अन्तर्राष्ट्रियस्तरका दक्ष स्वास्थ्यकर्मी तयार पारौं


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान बनाएको लुम्बिनीमा एउटा सुविधा सम्पन्न अस्पतालको खाँचो छ ।

बुद्ध नेपालमा जन्मेको भन्दै गौरव गर्ने र लुम्बिनीलाई राष्ट्रिय गौरवका रुपमा विश्वसामु प्रस्तुत गर्ने हो, भने लुम्बिनीमा एउटा अन्तर्राष्ट्रियस्तरको अस्पतालको आवश्यकता टट्कारो छ ।

लुम्बिनीमा अस्पताल बन्ने चर्चा चलेको छ । यो आफैमा सकारात्मक कुरा हो । तर, देशका कयौं भागमा बनेका अस्पतालहरुले पूर्णता पाएका छैनन् भने पाएकामा पनि भवन मात्रै उठेको छ । सेवा सञ्चालन भएको छैन । अन्तराष्ट्रिय जगतले नियालेको लुम्बिनीमा त्यस्तो नहोस् ।

सरकारले लुम्बिनीमा भवनसँगै अन्तर्राष्ट्रियस्तरका दक्ष स्वास्थ्यकर्मी पनि तयार पार्दै जानुपर्छ । भवनले मात्रै स्वास्थ्य सेवा गुणस्तरीय हुँदैन । यसका लागि स्वास्थ्यकर्मी र त्यहाँ उपलब्ध गराईने मेडिसिनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन ।

नेपाल बाहेक धेरै देशका नागरिक विश्वको पवित्र स्थल लुम्बिनीमा आफ्नो बच्चा जन्माउन चाहान्छन् । यो संख्या दिनहुँ बढ्दो क्रममा छ ।

हामीले लुम्बिनीमा अस्पताल बनाएर त्यहाँबाट प्रसूति सेवालाई जोड दिनुपर्छ । यसका लागि अन्तर्राष्ट्रियस्तरको सेवा अपरिहार्य छ । ताकी कुनै पनि बाहनामा बिरामीलाई अन्य अस्पतालमा रिफर गर्न नपरोस् ।

लुम्बिनीमा बन्ने अस्पताल, औषधि प्रयोग गर्ने, स्वास्थ्य सेवा प्रवाह सबै अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ । लुम्बिनीबाट जन्मेका बच्चाले केही न केही अंश बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश छाड्नुपर्छ ।

नेपालीहरु मृत्युवरण गर्न बनारस, देवघाट जाने गर्छन । त्यस्तै विदेशीलाई पनि नेपाल आउने वातावरण बनाउँनु पर्छ । जीवनको अन्तिम समयमा रहेका बिरामीहरुको स्याहार सुसार गर्न चिकित्सक नर्सहरु पनि हामीले उपलब्ध गराउन सक्छौं । यती गर्दागर्दै नेपालमा मृत्यु भएको खण्डमा उनीहरुको धर्म, परम्पराअनुसार दाहसंस्कार गर्न दिनुपर्छ । यसले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जान्छ ।

नेपालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार र विदेशीलाई गर्नेमा केही परिवर्तन आवश्यक हुन्छ । शल्यक्रियामा बढी जोड दिनु हुँदैन । विदेशीलाई जटिल अवस्थाबाहेक नर्मल डेलिभरी गराउनु पर्छ ।

लुम्बिनीमा दिने स्वास्थ्य सेवामा उच्चस्तरको स्टान्डर्ड मेन्टेन हुुनै पर्छ । यसरी अस्पताल बनेको अवस्थामा बच्चा जन्माउन कै लागि धेरै बुद्धिस्टहरु नेपाल आउने छन् ।

यसरी नेपाल आउने बिरामीका कुरुवालाई लुम्बिनीको भ्रमण गराउँन सकिन्छ । जसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, विचार, सार्वजनिक सरोकार
ट्याग : ##Dr Kirtipal, ##Hospital, ##Lumbani, ##टुरिजम बहस, ##मेडिकल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com