ग्लोवल फण्ड परियोजनाको ‘चिफ अफ पार्टी’मा भारतीय राख्न मरिहत्ते, स्वास्थ्य सचिव र तारा क्षेत्रीमाथि छानबिन गर्न माग


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्लोवल फण्ड परियोजनाका लागि ‘चिफ अफ पार्टी’ पदमा भारतीय नागरिकलाई राख्न मरिहत्ते गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

एनजिओ÷आइएनजिओमाथि निगरानी बढाएको स्वास्थ्य लाइभले सेभ द चिल्ड्रेनले ग्लोवल फण्डको परियोजना हेर्ने चिफ अफ पार्टीमा स्वास्थ्य मन्त्रालयको स्वीकृत नलिई भारतीय नागरिक कुनाल किशोरेलाई नियुक्ति गरेको यस अगाडि नै सार्वजनिक गरिसकेको छ ।

सेभ च चिल्ड्रेनले चिफ अफ पार्टीमा गैरकानुनी रुपमा कुनाल किशोरेलाई राखेपछि नियुक्ति सच्याउन स्वास्थ्य मन्त्रालयले सेभ द चिल्ड्रेनलाई पत्रचार गरेको थियो । तर, स्वास्थ्य सचिवमा डा. रोशन पोखरेलको उदय भएसँगै भारतीय नागरिक किशोरेलाई ग्लोवल फण्ड परियोजनाको चिफ अफ पार्टीमा स्वीकृत गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई पत्रचार गरेको तथ्य फेला परेको छ ।

अघिल्लो पत्रमा स्वास्थ्य मन्त्रालयले चिफ अफ पार्टीको रुपमा रहन नेपाली नै सक्षम भएकाले व्यवस्थापन कार्यका लागि बाहिरको एक्सपर्ट आवश्यक नभएको स्पष्ट पार्दै महिला बालबालिका मन्त्रालयलाई पत्रचार गरेको थियो । तर ग्लोवल फण्ड हेर्ने कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम)को अध्यक्षको जिम्मेवारी सचिव पोखरेलले पाएसँगै भारतीय नागरिक किशोरेलाई राख्न लागि सिफारिस गरेको फेला परेको छ । यसमा सेभ द चिल्ड्रेनकी तारा क्षेत्री र सचिव पोखरेलको संलग्नता आश्चर्यजनक छ ।

सेभ द चिल्ड्रेनबाट ग्लोवल फण्ड परियोजना हेर्ने चिफ अफ पार्टीको जिम्मेवारी सम्हालिसकेकी तारा क्षेत्रीको चलखेलमा किशोरेलाई त्यो पदमा राखिएको सेभ द चिल्ड्रनका अधिकारीहरु बताउँछन् । उनै क्षेत्री र स्वास्थ्य सचिव डा. पोखरेलको मिलेमतोमा अवैध रुपमा चिफ अफ पार्टीको जिम्मेवारी पाएका किशोरेलाई त्यो पदमा राख्न स्वास्थ्यले सिफारिस गरेको खुल्न आएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा ग्लोवल फण्डको ‘चिफ अफ पार्टी’मा विदेशी नागरिक नियुक्ति गरेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको थियो ।

स्वास्थ्य मन्त्रालयको अर्को पत्रले ग्लोवल फण्डको’चिफ अफ पार्टी’मा भारतीय नागरिकलाई निरन्तरता दिन स्वीकृति दिइसकेको खुलासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयको अघिल्लो पत्रमा ग्लोवल फण्डका लागि सन् २०२१–२०२४ सम्मको एचआईभी, मलेरिया र टिबीविरूद्धको (जिएएफटिएम) परियोजना प्रस्ताव गर्दा एक्सपर्टको विषयमा कुनै छलफलसमेत नभएको उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम)बाट ग्लोवल फण्ड समक्ष पेश भएको प्रस्तावमासमेत कुनै पनि एक्सपर्टको परिकल्पना नगरिएको स्वास्थ्य मन्त्रालयले असार ३१ गते महिला, बालबालिका मन्त्रालयमा पठाएको पत्रमा स्पष्ट पारिएको छ ।

तर, साउन २८ गते स्वास्थ्यले महिलालाई फेरि अर्को पत्र पठाउँदै दातृ निकायसँग भएको सम्झौतामा उक्त पद तथा बजेट स्वीकृत भइसकेको दाबी गरेको छ ।

ग्लोवल फण्डको परियोजना हेर्ने आधिकारिक संयन्त्र कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम)बाट ग्लोवल फण्डसमक्ष पेश भएको प्रस्तावमासमेत कुनै पनि एक्सपर्टको परिकल्पना छैन ।

स्वास्थ्य मन्त्रालयको अनुमतिबिना नै ग्लोवल फण्ड हेर्ने ‘चिफ अफ पार्टी’मा विदेशी नियुक्त गरेको खुलासा शीषर्कमा समाचार प्रकाशित गरेकै दिन स्वास्थ्य मन्त्रालयले दातृ निकायसँग भएको सम्झौतामा उक्त पद तथा बजेट स्वीकृत भइसकेको भनेर भ्रामक तथ्य उल्लेख गरेको पाइएको छ ।

सचिव पोखरेल र सेभ द चिल्ड्रेनकी तारा क्षेत्रीको मिलेमतोमा तत्कालीन राज्यमन्त्रीलाईसमेत गुमराहमा राखेर त्यो निर्णय गराउन लगाएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।एनजिओ, आइएनजिओको स्वार्थम डा. पोखरेलले काम गर्न थालेपछि स्वास्थ्य सेवा कै सचिव हुनुपर्छ भनेर आवाज उठाउने सरोकारवालाहरू समेत निराश बनेका छन् ।

स्वास्थ्यको हितमा भन्दा पनि सचिव पोखरेल एनजिओ, आइएनजिओको स्वार्थमा जोडिन थालेपछि स्वास्थ्य सचिवको हैसियतमा उनले गरेका कामप्रति आशंका उब्जन थालेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

ग्लोवल फण्ड नेपालमा सञ्चालन भएदेखि (सन् २००३ देखि २०१९) हालसम्म पनि नेपाली नागरिकले नै सफलतापूर्वक व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेलेका छन् ।

सरकारसँग स्वीकृति नै नलिइ सेभ द चिल्ड्रेनले अवैध रूपमा राखेको भारतीय नागरिकलाई टिकाउन स्वास्थ्य मन्त्रालय नै दुरूपयोग भएको पाइएपछि सचिव पोखरेलको भूमिकामाथि प्रश्न उठेको हो । अधिकारीहरुले स्वास्थ्य सचिव र तारा क्षेत्रीमाथी तत्काल छानबिन अगाडि बढाउन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले लेखेको अघिल्लो पत्रसँग बाझिने गरी भारतीयलाई त्यो पदमा स्वीकृत गर्न अर्को पत्र लेखेपछि महिला मन्त्रालयमा हल्लीखल्ली भएको छ ।

अवैध काम गरेका भारतीय नागरिक किशोरे

महिला मन्त्रालयले चिफ अफ पार्टी र टिबी तथा एचआईभी एक्सपर्टमा विदेशी नलिन दिएको सुझावलाई चुनौती दिँदै स्वास्थ्य मन्त्रालयले विदेशी राख्न सिफारिस गरेको हो । यो कदमले स्वास्थ्य मन्त्रालय सेभ द चिल्ड्रेनको गोटी बनेको स्पष्ट भएको महिला मन्त्रालयका अधिकारीहरूको आरोप छ ।

त्यती मात्रै हैन अर्को कुरा सचिव पोखरेलले मन्त्रालयको नीति निमार्णदेखि ट्वाइलेटसमेत कब्जा गरेर बसेको एनएचएसएसपीलाई समेत संरक्षण गरेका छन् । आइएनजिओ संरक्षणमा जुटेपछि सचिवको क्षमता र कार्यशैलीप्रति चौतर्फी बिरोध सुरु हुन थालेको छ ।

सचिव पोखरेलले व्यक्तिगत स्वार्थमा काम गर्न थालेपछि स्वास्थ्यमा प्रशासन र स्वास्थ्य तर्फकै दरबन्दी भएकाले संस्थालाई जोगाउन प्रशासन तर्फको सचिव पनि राख्नुपर्ने आवाज पछिल्लो समय उठ्न थालेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com