सिओएमएसका भि नटराजनले भरतपुर अस्पताललाई साढे ३ करोड भाडा तिरेनन्


काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालको नाममा रहेको जग्गा भाडामा लिएको कलेज अफ मेडिकल साइन्सेज (सिओएमएस) ले साढे ३ करोड भन्दा बढी तिर्नुपर्ने रकम नतिरेको पाइएको छ ।

भरतपुर अस्पतालसँग भएको सम्झौता उल्लंघन गर्दै सिओएमएसका भारतीय सञ्चालक भि नटराजनले ३ करोड ५३ लाख ४३ हजार नतिरेका छैनन् । सम्झौता अनुसारको रकम तिर्न आग्रह गर्दा उनी नतिर्ने भन्दै भरतपुर अस्पतालविरुद्धमा अदालत गएका छन् । मुद्दा नटुगिंएको नटराजको भनाई छ ।

सिओएमएसले आर्थिक वर्ष ०७२/०७३ देखि ०७८/०७९ सम्म सम्झौता बमोजिम भरतपुर अस्पताललाई ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ तिर्न बाँकी छ । यो रकम हरेक दिन बढ्दै गइरहेको छ ।

०५३ सालमा अस्पतालसँग सम्झौता गरेर सिओएमएसले ४९ वर्षका लागि ९ विघा जग्गा भाडामा लिएको थियो । जग्गा भाडामा लिएबापतको उक्त रकम सिओएमएसले नतिरेको हो । भरतपुर अस्पतालले आफ्नो जग्गा लिएपछि सम्झौता अनुसारको भाडा तिर्न पटक पटक ताकेता गरेको छ ।

तर, सिओएमएसका संचालक भि नटराजन भने भरतपुर अस्पताललाई कुनै रकम तिर्न नभएको बताउँछन् । ‘उनले स्वास्थ्य लाइभसँग भने, ‘हामीले जग्गा लिएबापतको रकम एक रुपैयाँ पनि तिर्न बाँकी छैन । बरु भरतपुर अस्पतालसँग लिन छ ।’

भरतपुर अस्पताललाई क्लिनिकल फिल्ड बनाउँदै आएको सिओएमएसले जग्गा भाडा मात्र होइन त्योबापत दिन्छु भनेर लिखित कबोल गरेको अनुदानको रकमसमेत नदिएको स्वास्थय लाइभले फेला पारेको छ ।

सरकारलाई तिर्नु पर्ने दायित्व बोकेको भारतीय नागरिकको लगानी भएको उक्त कलेज अहिले भित्रभित्रै बेच्ने तयारी भइरहेको छ । पोखरास्थित मणिपाल मेडिकल कलेज बेचेको चर्चाकैबीच सिओएमएस पनि बिक्री गर्न लागिएको हो ।

४९ वर्षका लागि नेपाल सरकारसँग जग्गा भाडामा लिएर भाडा तिर्न आनाकानी गरिरहेको सिओएमएसले कलेज तथा अस्पताल बिक्री गरेर हिड्ने तरखरमा देखिन्छ ।

स्वास्थ्य लाइभलाई प्राप्त सुचना अनुसार भि नटराजन आज (बुधबार) नेपाल आउँदैछन् । उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई उक्त रकम मिनाह गरेर सहमतिमा आउँन आग्रह गरेका छन् । सहमतिमा आएको खण्डमा केही रकम दिनेसम्मको प्रलोभन संचालक  नटराजनले गरेको स्वास्थ्य लाइभले सूचना पाएको छ । उनले तिर्नुपर्ने रकम मिनाह गराउन राजनीतिक दलका उच्च नेताहरुलाईसमेत भेटिरहेका छन् । अहिले चुनाव नजिक आएकाले रकम मिनाह गराउन र पार्टीलाई सहयोग गर्न भि नटराजन तल्लिन देखिएका छन् । तर, स्वास्थ्य लाइभले यसलाई नजिकबाट नियालिरहेको छ ।

सिओएमएसले भाडा नतिर्दा समेत नेपाल सरकार र भरतपुर अस्पताल निरीह देखिन्छ । कलेज अफ मेडिकल साइसेन्जसँग सरकारले आर्थिक वर्ष ०७२ /७३ मा मात्र ६७ लाख ७८ हजार बढी रकम लिन छ । आर्थिक वर्ष ०७३/७४ मा ५६ लाख २५ हजार र त्यहिँ आबमा औँल्याएको १० प्रतिशत बृद्धिको रकम १६ लाख ६८ हजार असुल्न बाँकी देखिन्छ ।

०७४/ ७५ मा १९ लाख २४ हजार बढी रकम सरकारले लिन सकेको छैन । त्यस्तै आव ०७५ /७६ मा ६० लाख २८ हजार रुपैयाँ, आव २०७६/७७ मा ६७ लाख ८५ हजार रुपैयाँ सरकारले सिएमसीसँग लिन सकेको छैन । आव ०७७/०७८ मा पाउनु पर्ने ६५ लाख ३४ हजार रुपैयाँ रकम सिओएमएसका नटराजनले नतिरेको खुल्न आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com