राष्ट्रिय कर दिवस

गेट पालेसँग कर उसुल्ने राज्य कर छल्ने उच्च पदस्थसामु निरीह


काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आज कार्यक्रम गरेर धुमधाम साथ मनायो ।

विभागले विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान समेत गरेको छ । तर जनताले तिरेको करबाट तलब भत्ता खाने उच्च पदस्थहरूले आयकर छल्दा पनि सम्बन्धित निकाय गैर जिम्मेवार र बेखबर बनेको छ ।

राष्ट्रिय कर दिवसको अवसर पारेर अर्थमन्त्रीदेखि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकसम्मले ठूल्ठूला गफ दिए । एउटा सामन्य गेट पाले (चौकीदार) सँग आयकर असुल्ने आन्तरिक राजस्व विभागको संयन्त्रले ठालूसँग कर उठाउन सक्ने हैसियत राखेको पाइँदैन ।

वैदेशिक भत्ता खाएबापत राज्यलाई कानुनबमोजिम तिर्नुपर्ने आयकर नतिर्ने मुख्य सचिव शंकरदास बैरागीसँगै क्याविनेटमा बस्ने अर्थमन्त्री जनार्दन शर्माले आज कर सुशासनको विषयमा दिएको भाषणले उनैलाई गिज्याइरहेको थियो ।

आयकर ऐन, २०५८ को दफा ११९ मा कर तिर्नु पर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्ने उल्लेख छ । तर मुख्य सचिव शंकरदास बैरागी खनालले कूटनीतिक नियोगमा कार्यरत रहँदा खाएको वैदेशिक भत्तामा लाग्ने करिब १५ लाख कर अझै तिरेका छैनन् । आयकर ऐनमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा जम्मा २५ प्रतिशतमा मात्र आयकर लागाउने भनिएको छ । ७५ प्रतिशतमा भने कर लाग्दैन ।  एउटा गेट पालेसँग आयकर असुल्ने राज्य मुख्य सचिवसँग जनताको पैसाबाट खाएको वैदेशिक भत्ता खाएबापतको आयकर असुल्न सक्ने अवस्थामा देखिँदैन ।

राजस्व परामर्श विकास समितिको अध्यक्ष महेशप्रसाद दाहालले समेत हङकङको महावाणिज्यदूत हुँदा वैदेशिक भत्तामा लाग्ने झन्डै ५ लाख आयकर तिरेका छैनन् । कर दिवसको दिनमा करसम्बन्धी भाषणबाजी गर्ने अर्थमन्त्री शर्मा उनै दाहालसँग  राजस्वको विषयमा परामर्श लिने गर्छन् ।

मुख्य सचिव बैरागी मात्र होइन परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघको स्थायी नियोग, न्यूयोर्क प्रमुख, अमृतकुमार राई, क्यानडाका राजदूत भृगु ढुंगाना, युएईका राजदूत कृष्ण ढकाललगायत दर्जनौं उच्च अधिकारीको पारिश्रमिक कर बक्यौता देखिन्छ । यिनीहरुले करदाताको पैसाबाट खाएको भत्ताबाट राज्यलाई तिर्नुपर्ने करसमेत नतिर्दा राजस्व प्रशासन हुतिहारा बनेको छ ।

स्वास्थ्य सचिवको जिम्मेवारी रहेका केदारबहादुर अधिकारी, चन्द्र घिमिरेदेखि बंगलादेशका राजदूत भएका चिकित्सक चोपलाल भुसालले पनि पारिश्रमिक कर तिरेका छैनन् । कर दिवसको दिन ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने नेपाली उखान यिनीहरुको हकमा ठ्याकै मेल खाएको छ ।  पूर्व सचिव हरिप्रसाद बस्याल, बिण्णुप्रसाद लम्सालले समेत आयकर नतिरेको कुरा स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

भोजराज घिमिरे (क्यानडा), शंकरप्रसाद शर्मा (अमेरिका), अम्बिका लुइटेल (फ्रान्स), लक्की शेर्पा (अस्ट्रेलिया), मदन भट्टराई (जापान), मोहन कृष्ण श्रेष्ठ (फ्रान्स), सुरेश चालिसे (बेलायत)को नाममा दशौं लाख कर बक्यौता रहेको छ । त्यस्तै महेश मास्के (चीन), राममणि पोखरेल (बेल्जियम), सुशील चन्द्र अमात्य (श्रीलंका), प्रल्हाद प्रसाइ (इजरायल), मुक्ति भट्ट (डेनमार्क), अर्जुन कार्की (अमेरिका), दीपक धिताल (जेनेभा), उदयराज पाण्डे(साउदी अरब), ऋषि घिमिरे (रुस) लगायतको नाममा लाखौं कर बक्यौता रहेको छ । तर सरकारले उनीहरूसँग आयकर असुल्न सकेको छैन ।

अमेरिकाको राजदूत हुँदा वैदेशिक भत्ता खाएबापतको आयकर नतिर्ने शंकरप्रसाद शर्मा फेरि भारतको राजदूत भएर जान खोजेका छन् । उनलाई आयकर नतिराई भारतका लागि  राजदूतमा अनुमोदन गर्ने तयारी भइरहेको छ ।

आयकर नतिर्ने यी उच्च पदस्थहरुसँग सरकारी बाँकी सरह कर असुल्नु पर्नेमा त्यो गर्न सक्ने हैसियत नराखेको संयन्त्रले राष्ट्रिय कर दिवस मनाएर फगत औपचारिकता मात्र पूरा गरेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com