प्रहरी अस्पतालमा विशेष उन्मुक्ति पाउने इन्जिनियर बराल को हुन् ?


काठमाडौं । नेपाल प्रहरी अस्पतालमा लिएको बायोमेडिकल इन्जिनियरको परीक्षामा अन्य परीक्षार्थी भन्दा फरक व्यवहार भएपछि एक परीक्षार्थीको  विषयमा विशेष चर्चा चलेको छ ।

प्रहरी अस्पतालमा बायोमेडिकल इन्जिनियरमा लिइएको आन्तरिक परीक्षामा अन्य परीक्षार्थीलाई पुरै चेकजाँच गरेर पठाएपनि इन्जिनियर भावना बराललाई भने विशेष उन्मुक्ति दिएको पाइएको छ । प्रत्यक्षदर्शी सुरक्षा मामिलाका पत्रकार टपेन्द्र कार्कीका अनुसार बायोमेडिकल इन्जिनियरको आन्तरिक जाँचमा भावना बराललाई चाहिँ कुनै पनि चेकजाँच नगरी पठाइयो, अन्यलाई भने पुरै नियम लगाइयो । पत्रकार कार्कीले नेपाल प्रहरीलाई उनीचाहीँ कुन शक्ति केन्द्रबाट जाँच दिन आएकी हुन् भनेर प्रश्न गरेका छन् ।

प्रहरी अस्पतालमा लिइएको बायोमेडिकल इन्जिनियरको आन्तरिक परीक्षामा विशेष उन्मुक्ति पाउने पात्र तिनै बराल हुन्  जो यसअघि डा. जागेश्वर गौतम युनिफाइड कोभिड १९ अस्पताल, वीरको प्रमुख प्रशासकीय अधिकारी हुँदा करारमा जागिर खाएकी थिइन् । बरालमाथि वीरमा कार्यरत हुँदा आफूले पहिला काम गरेको म्याग्सिम इन्कर्पोरेशन ट्रडर्स प्रालीलाई मिल्नेगरी सेटिङमा स्पेसिफिकेसन बनाएको आरोप लाग्दै आएको छ ।

 

वीरको ठेक्का हत्याउने म्याग्सिमका सुन्दर भुषाल  तत्कालीन प्रमुख प्रशासकीय अधिकारी डा. गौतमले विजनेश पार्टनर’समेत रहेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट पुष्टि हुन्छ ।

प्राप्त कागजात अनुसार वीर अस्पतालको ठेक्का हत्याउने म्याक्सिमका भुषाल र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. गौतमको सगोलमा क्यानभास एजुकेशन फाउण्डेसन प्राली सञ्चालनमा रहेको देखिन्छ । धेरै सेयर भुषाल र गौतमको रहेको क्यानभासमा दीपकराज काफ्ले, राजु गुरुङ र ओमबहादुर थापा पनि संस्थापक सेयर सदस्य रहेको देखिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त कागजातमा भुषाल र गौतमको सगोलमा रहेको अर्को कम्पनी ग्यालेक्सी इन्भेष्टमेण्ट हो । जसमा डा. गौतमको ३३ प्रतिशत शेयर रहेको छ भने भुषालको २८ प्रतिशत सेयर रहेको देखिन्छ । ग्यालेक्सीमा लक्ष्मीपैसाद पौडेलको २८ प्रतिशत र दीनेश प्रसादको ११ प्रतिशत सेयर रहेको प्राप्त कागजातबाट देखिन्छ ।


म्याग्सिमसँग ठेक्कामा मिलेमतो गरेको आरोप लागेकी बराललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाटसमेत ठेक्कामा बद्मासी गरेको आरोपमा हटाइएको थियो ।  बायोमेडिकल इन्जिनियर उनै बराललाई गौतम आएलगत्तै करारमा नियुक्त गरी स्पेसिफिकेसन निर्माण गर्नेगायतका कामको जिम्मा दिनु र म्याग्सिमले महत्वपूर्ण ठेक्का हत्याउनुले ठेक्का मिलेमतो भएको वीरका अधिकारीहरुको आरोपमा बल पुग्छ ।

प्रहरी अस्पतालको बायोमेडिकल इन्जिनियरको परीक्षामा पनि बरालले विशेष उन्मुक्ति पाएको फेला परेपछि उनी कुन शक्तिबाट परिचालित छिन् भन्ने विषयले चर्चा पाएको हो । यसले प्रहरी अस्पतालले लिएको बायोमेडिकल इन्जिनियरको परीक्षामै कतै सेटिङ त थिएन भन्ने आशंका उब्जिएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com