मेडिकल काउन्सिलको डाटा चोरीको आरोपमा सिरान टेकले किन जवाफ दिन सकेन ?


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको डाटा ‘चोरी’ प्रकरणमा एसएमएस सेवा प्रदायक सिरान टेक्नोलोजिजले तोकिएको समयमा जवाफ नदिएपछि काउन्सिलको बैठकले कुनै निर्णय लिन सकेन ।

काउन्सिलका एक सदस्यकाअनुसार मेडिकल काउन्सिलमा रहेको चिकित्सकहरूको डाटा चोरीमा लागेको आरोपका विषयमा ई-सेवा कै अर्को कम्पनी सिरान टेकले तोकेको समयभित्र जवाफ नदिएपछि बैठकले कुनै निर्णय नलिएको हो । भोलि लिखित जवाफ दिएपछि आवश्यक निष्कर्ष निकालेर निर्णय सार्वजनिक गर्ने सहमति भएको बैठकमा सहभागी ती सदस्यको भनाइ छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य रहेका डा. कालुसिंह खत्रीलगायतले काउन्सिलमा रहेको चिकित्सकको विवरण ‘चोरी’ गरेको आरोप लागेपछि काउन्सिलले आजका लागि आकस्मिक बैठक बोलाएको थियो । मेडिकल काउन्सिलका सदस्य डा. खत्रीले, सदस्यको अर्की उम्मेदवार डा. तोशिका कार्की, डा. लवकुमार शाहले काउन्सिलले चिकित्सकहरूलाई सूचना प्रदान गर्दै आएको ३७८८८ नम्बरबाट भोट मागेपछि यो विषय विवादित बनेको छ ।

चिकित्सकहरुको आरोपलाई डा कालुसिंह खत्रीले चुनाबी फण्डाका रुपमा लिएका छन् । उनले आफूसँग १५ हजार फोन नम्बर भएकाले काउन्सिलबाट लिन आवश्यक नभएको यस अगाडिनै बताए छन् ।

काउन्सिलमा १५ वर्ष अगाडि दर्ता गराएको नम्बरमासमेत त्यो नम्बरबाट एसएमएसमार्फत भोट मागेपछि काउन्सिलबाट डाटा ‘चोरी’ भएको आरोपलाई थप बल पुगेको छ । नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक निकायलाई एउटा प्रयोजनका लागि दिइएको व्यक्तिगत विवरण अर्को प्रयोजनका लागि प्रयोग गर्नु अख्तियारको दुरुपयोग र अपराध हो । यसले नेपाल मेडिकल काउन्सिलमाथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।

यता नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा कृष्ण अधिकारीले बैठकले गरेको निर्णय सोमबार मात्रै सार्वजनिक गर्ने बताए । ‘इ–सेवाले किन जवाफ समयमा पठाएन भन्ने प्रश्नमा उनले शनिबार परेकाले जवाफ दिन नसकेको भन्दै सोमबार पठाउने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले स्वास्थ्य लाइभसँग डाटा चोरी आरोपको विषयमा चिकित्सकसँगै ई-सेवामाथि पनि छानबिन हुने बताएका थिए । त्यही अनुसार काउन्सिलले ई-सेवाको सिरान टेक्नोलोजिजलाई पत्र काटेपनि जवाफ दिन नसकेपछि बैठकले कुनै निर्णय लिन नसकेको बैठकमा सहभागी एक सदस्यले स्पष्ट पारे । ई-सेवाको सिरान टेकलाई भोलिसम्म लिखित जवाफ दिने समयसीमा दिइएकाले त्यसपछि निर्णय सार्वजनिक गर्ने कुरा भएको ती सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com