वीर अस्पतालको आकस्मिक कक्षमा मनिटरसहितका अत्याधुनिक वेड


काठमाडौं ।  वीर अस्पताल स्थापनाको १ सय ३१ वर्षमा पहिलोपटक आकस्मिक कक्षमा अत्याधुनिक वेड जडान गरिएको छ । अस्ट्रेलिया सरकारको सहयोगमा ३५ वटा वेड आकस्मिक कक्षमा जडान गरिएको छ । यस अगाडि साधारण वेड मात्रै थिए । हाल जडान गरिएका वेड मनिटरसहितका छन् ।

वीर अस्पतालमा उपचार गर्न आउँने बिरामीहरुले निजी अस्पतालझैँ स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने मान्यता अस्पतालको छ । सोहीअनुसार बिरामीको पहिलो प्रवेशद्वार, आकस्मिक कक्षमा आकर्षक वेड र पर्दा राखिएको छ ।

वीरको आकस्मिक कक्षमा प्रयोग हुँदै आएका वर्षौं पुराना खियाँ लागेका वेड भने विस्थापित गरिएको छ । वीर अस्पतालका चिकित्सक डा. दिपक मल्लको पहलमा नेपालका लागि अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्कले करिब ४५ लाख मूल्य बराबरका  वेड बिहीबार वीर अस्पताललाई हस्तान्तरण गरिन् ।

वीर अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच राजदूत भोल्कले उपकुलपति प्राध्यापक डा. देवनारायण शाह र प्रमुख प्रकाशकीय अधिकारी प्राधयापक डा. भुपेन्द्र कुमार बस्नेतलाई हस्तान्तरण गरेकी हुन् । उनले कोरोना सुरु भएपछि विभिन्न चरणमा गरेर थुप्रै स्वास्थ्य सामग्रीहरु सहयोग गरेको बताईन् । उनले सानो भएपनि विपन्न नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् भन्ने भावले सहयोग गरेको बताईन् ।

वीर अस्पताल गरिब र विपन्न नागरिकको एक प्रमुख केन्द्र हो । वीर अस्पतालमा दैनिक २ हजार देखि २५ सय सम्म बिरामी ओपिडीमा आउँने गर्छन् । नागरिकलाई मुलुककै सबैभन्दा बढी निःशुल्क स्वास्थ्य सेवा दिने अस्पताल पनि वीर हो ।

वीर अस्पतालका उपकुलपति प्राध्यापक डा. देवनारायण (डिएन) शाहले सहयोग गरेको प्रति राजदूत भोल्कलाई धन्यवाद दिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकारी प्राध्यापक डा. बस्नेतले भुकम्पदेखि कोरोना कालमा देखाएको सहयोग सह्रानीय रहेको बताए । उनले यस्तो सहयोग आगामी दिनमा पनि दुवै पक्षबीच जारी रहने विश्वास व्यक्त गर्दै अस्ट्रेलियन नागरिक र सरकारप्रति धन्यवाद व्यक्त गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com