डेंगीमा अपमान खेपेका डा. अनुपले कोरोनामा सरुवा भेटे


काठमाडौं । नेपालमा डेंगी रोग फैलन क्रममा थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगीमा बिरामीको थामिनसक्नु चाप थियो । त्यो बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. बासुदेव पाण्डे थिए ।

डेंगीको बिरामीको उपचार गर्न फ्रन्टलाइनमा डा. अनुप बाँस्तोला र डा. शेरबहादुर पुन खटिएका थिए । अस्पतालभित्र बिरामी राखेर उपचार गर्न स्थान अभाव हुँदै गयो । त्यो बेला अस्पताल निर्देशक पाण्डे विदेश गएका थिए । अस्पतालभित्र बिरामीको व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि डा. अनुपको टिमले एउटा ‘आईडिया’ निकाल्यो टेन्ट टाँगेर बाहिरै उपचार गर्ने । डेंगीका बिरामी बढ्न थालेपछि शनिबार पनि सेवा दिने भनेर टेन्टमै बिरामी राखेर डा. अनुपको टिमले हेर्न थाल्यो । त्यसैबीच अस्पताल निर्देशक डा. पाण्डे विदेशबाट फर्किए । निरन्तर बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरूले हाकिमबाट स्यावासी पाइएला भन्ने आशा गरेका थिए तर भयो ठिक उल्टो ।

निर्देशक डा. पाण्डेले आफूलाई नसोधी टेन्ट राखेको र शनिबारपनि बिरामीको सेवा गरेको भन्दै हप्काए ।  अनुपको टिममा रहेर डेंगीका बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीले हाकिमबाटै अपमान खेपेर त्यो बेला खिन्नता प्रकट गर्नु पर्ने अवस्था आएको थियो ।

कोभिडको सुरुवातमा कसैले बिरामी छुन नखोज्दा बिरामी हेर्दै डा अनुप

डेंगीपछि नेपालमा देखा परेको अर्को कोरोना भाइरसको पहिलो ‘केस’ हेर्ने चिकित्सक उनै अनुप बाँस्तोला हुन् । चीनबाट आएका विद्यार्थीमा पहिलो कोभिड-१९ को केस देखिएको थियो । त्यो बेला कोरोना भन्नेबित्तिकै आतंक नै मच्चिने गरेको थियो । निजी अस्पतालहरुले त सुरूमा कोभिड-१९ को आशंका भएका बिरामी ल्याउनसाथ मुख्य गेटमै ताला ठोक्ने गरेका थिए । त्यो बेला पनि डा. बाँस्तोला र डा. पुनको टिमले टेकुलाई अब्बल अस्पतालको हैसियतमा स्थापित गरेर छाडे । निजी अस्पताल भन्दा सरकारी अस्पताल भरोसायोग्य र आपत विपतमा सरकारी अस्पताल नै चाहिने रहेछ भनेर जनमानसमा अमिट छाप छोड्न सफल भए ।

कोरोना कालमा टेकु अस्पताललाई अब्बल र सफल दर्जामा स्थापित गराउन सफल उनै डा. अनुप बाँस्तोलालाई कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्ट फैलिरहेको बेला क्षयरोग अस्पताल हुत्याइएको छ । निजी अस्पताल सञ्चालकहरुको डिजाइनको कोपभाजनमा उनी परेको देखिन्छ ।

अस्पताल निर्देशक बनेको छोटो अवधिमै टेकु अस्पताललाई  सुधार र सुविधा सम्पन्न बनाउन लागेका डा. बाँस्तोललाई सुधार ‘गरेबापत’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले अपमानजनक ढंगले सरुवा गरिदिएका छन् । डेंगीमा अपमान खेपेका अनुपले कोरोनामा सरकारबाट सरुवाको उपहार भेटेका हुन् ।

अनुपको नेतृत्वमा चिटिक्क पारिएको टेकुको हल
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com