अन्ततः वीर अस्पतालको प्रमुखमा बाह्रौं तहका जान मानेनन् 


काठमाडौं । कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल, वीरको प्रमुख प्रशासकीय अधिकारीमा बाह्रौं तहमा बढुवा भएका  कोही पनि जान तयार भएनन् ।

स्वास्थ्य सेवाको बाह्रौं तह (प्रमुख विशेषज्ञ)को दरबन्दी रहेको वीरमा हालै बढुवा भएका बाह्रौं तहका कोही पनि जान नमानेपछि स्वास्थ्य मन्त्रालयमै व्यवस्थापन गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीर अस्पतालमा बाह्रौं तह (प्रमुख विशेषज्ञ) लाई पठाउन खोजेका थिए । मन्त्रालय स्रोतकाअनुसार प्रमुख विशेषज्ञमा बढुवा भएका डा. श्यामसुन्दर यादव, डा. भिमसिंह तिंकरी र डा. गुणराज लोहनीमध्ये कोहीपनि जान नमानेपछि मन्त्रीको चाहनामा ब्रेक लागेको हो ।

स्वास्थ्य लाइभले यसअघि नै ‘स्वास्थ्यमन्त्रीले वीर अस्पतालको कमाण्डर भेटेनन्’ शीर्षकमा समाचार लेखेर उक्त कुराको खुलासा गरिसकेको छ । वीर अस्पतालको दरबन्दीमा बढुवा भएकाहरु नै त्यहाँ जान नमानेपछि मन्त्री खतिवडा बाह्रौं तहलाई स्वास्थ्य मन्त्रालयमै व्यवस्थापन गर्न बाध्य भएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाले प्रमुख विशेषज्ञ डा. लोहनी र डा. यादवमध्ये एक जनालाई वीरको प्रमुख प्रशासकीय अधिकारी बनाएर पठाउन खोजेका थिए । तर दुवै जना वीरमा जान तयार भएनन् । डा. यादवले आफू लामोसमय अस्पताल बसेर काम गरेकाले मन्त्रालयमै बसेर काम गर्ने इच्छा राख्दै आएका थिए भने डा. लोहनी पनि मन्त्रालयमै बस्ने र वीरमा नजाने अडानमा थिए । अन्तत: डा. लोहनीलाई मन्त्रालयको नीति, योजना तथा अनुगमन र गुणस्तर मापन महाशाखा हेर्ने गरी र  डा. श्यामशुन्दर यादवलाई जनसंख्या व्यवस्थापन महाशाखा र समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको हो ।

डा. भीमसिंह तिंकरीको सेवा अवधि दुईमहिना पनि बाँकी नरहेको र अनी अस्वस्थ रहेको कारण देखाउँदै कुनै जिम्मेवारी नदिइएको हो । डा. तिंकरीले स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने इच्छा देखाएपनि विभागक महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई पठाएको धेरै समय नभएकाले तत्काल डिजी फेर्न मन्त्री खतिवडा तयार नभएको मन्त्रालय स्रोतको भनाइ छ ।

स्वास्थ्य सेवामा स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयमा गरी तीनजना प्रमुख विशेषज्ञको दरबन्दी रहेको थियो । व्यक्ति विशेषको स्वार्थमा पछि वीरमा प्रमुख विशेषज्ञको एउटा दरबन्दी थपेर ४ जना बनाइयो । तर, वीरमा दरबन्दी थप गरेर बढुवा भएकाहरु नै वीरमा जान तयार नभएपछि मन्त्रालयमै व्यवस्थापन गरिएको हो ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com