सरकारी पैसामा सेभको दादागिरी

सेभ द चिल्ड्रेन भन्छ, ‘३ मिलियनको स्वास्थ्य सामग्री खरिद गर्यौ’, स्वास्थ्य मन्त्रालय भन्छ, ‘हामीलाई दिएकै छैन’,


काठमाडौं । कोरोना भाइरस कोभिड १९ महामारीको समयमा ग्लोवल फण्डले सेभ द चिल्ड्रेनमार्फत नेपाल सरकारलाई ५.१ मिलियन डलर स्वास्थ्य सामग्री खरिद गर्न फास्ट ट्रयाकमार्फत उपलब्ध गराएको थियो । नेपाल सरकारले टेन्डर आह्वान गरेर उचित ठहरिएपछि सेभ द चिल्ड्रेनलाई अनुमति दिने हो । तर, स्वास्थ्य मन्त्रालयले थाहै नपाई सेभ द चिल्ड्रेनले करिब ३ मिलियन डलरको स्वास्थ्य सामग्री खरिद गरेको बुझिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सेभ द चिल्ड्रेनबिचको कुरा बाझिएकाले स्पष्ट रुपमा सामान खरिदमा ठूलो अनियमितता भएको आंशका गर्न सकिन्छ । सेभ द चिल्ड्रेनका एकजना अधिकारीले करिब ३ मिलियन डलरको स्वास्थ्य सामग्री खरिद गरेको बताए । ती अधिकारीले भने, ‘ग्लोवल फण्डले फास्ट ट्रयाकमार्फत स्वास्थ्य सामग्री खरिद गर्न भनेर ५.१ मिलियन डलर दिएको थियो । हामीले करिब ३ मिलियन डलरको सामग्री खरिद गरेका छौं । अब डिसेम्बरपछि बाँकी रकमको खरिद गर्ने भन्ने छ ।’,

कन्ट्री कोर्डिनेशन मेकानिजम (सिसिएम)का अधिकारीहरुले बताएअनुसार मे २०२१ मा फास्ट ट्रयाकमार्फत रकम उपलब्ध गराउन ग्लोवल फण्डसमक्ष प्रपोजल पेश भएको थियो । उक्त प्रपोजल स्वीकृत भएर तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई २७ जुलाई २०२१ मा ग्लोवल फण्डले पठाएको पत्र स्वास्थ्य लाइभले फेला पारेको छ ।

सेभ द चिल्ड्रेनका अधिकारीले स्वास्थ्य सामग्री खरिद गरेको भन्ने तर्कको स्वास्थ्यका अधिकारीहरुले ठाडै अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा. कृष्ण पौडेलले ग्लोवल फण्डबाट कोभिडमा फास्ट ट्रयाकमर्फत आएको रकमले सामग्री गरिद गरेकोबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

त्यस्तै व्यवस्थापन महाशाखाका तत्कालीन खरिद शाखा प्रमुख उपेन्द्र ढुंगानाले पनि सेभ द चिल्ड्रेनले कोभिडमा कुनै पनि स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण नगरेको बताए । ‘हामीलाई सेभ द चिल्ड्रेनले फास्ट ट्रयाकबाट खरिद गर्ने भनेको सामान हस्तान्तरण भएको छैन । सेभले खरिद गरेर समुदायमा वितरण गरेको हुन सक्छ ।’ तर समुदायका प्रतिनिधिले पनि कुनै स्वास्थ्य सामग्री हात नपरेको बताए ।

ग्लोवल फण्ड हेर्ने सिसिएमका अधिकारीहरुले पनि ५.१ मिलियन डलर रकम स्वास्थ्य सामग्री खरिद गर्न आएको भएपनि अहिलेसम्म खरिद गरेकोबारे कुनै जानकारी नभएको बताएका छन् । सेभले किनेको भए किन सरकारलाई हस्तान्तरण भएन उनीहरुले प्रश्न गरेका छन् ।

स्वास्थ्य लाइभलाई जानकारीमा आएअनुसार सेभ द चिल्ड्रेन र सरकारी अधिकारीहरुको मिलेमतोमा स्वास्थ्य सामग्री खरिद भएको छ । ग्लोवल फण्डले दिएको रकमले अक्सिजन सिलिण्डरलगायत आइसियूमा चाहिने विभिन्न प्रकारका स्वास्थ्य सामग्री र ठूलो संख्यामा गाडीहरु समेत खरिद गरिएको बुझिएको छ । उक्त स्वास्थ्य सामग्री खरिदमा ठूलो रकम घोटला भएको अनुमान गरिएको छ ।

ग्लोवल फण्डले नेपाल सरकारलाई दिएको रकमबाट स्वास्थ्य सामग्री खरिद गरेको सेभले किन स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएन ? यसको हिसाब किताव खोज्ने बेला आएको छ । फास्ट ट्रयाकबाट ल्याउने स्वास्थ्य सामग्री तथा उपकरणहरु बढीमा तीन महिनाभित्र ल्याइसक्नु पर्छ । तर, लामो समय बितिसक्दा समेत स्वास्थ्य सामग्री खरिद भए /नभएको पुष्टि भएको छैन ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताएअनुसार आफूहरुले सेभ द चिल्ड्रेनलाई ‘साँढे’झैं छाडेकाले सरकारलाई मतलव गरेको छैन । सरकारलाई आएको रकममा चरम दोहन हुँदा समेत सरकारी तवरबाट कुनै अनुगमन भएको छैन । जसको बावजुत सेभले आफूअनुकूल सामान ल्याउने र प्रायोग गर्ने गरेको यी भनाईबाट स्पष्ट हुन्छ । नेपालमा सेभ द चिल्ड्रेन नामक एक आइएनजिओ सरकार र जनताको हितमा भन्दा पनि आफ्नो अनुकूलतामा काम गर्दै आएको छ ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई पठाएको पत्र हेर्दा ग्लोवल फण्डले नेपाल सरकारलाई कोभिडको दोस्रो महामारीको बेला फास्ट ट्रयाक र एडिसनल (थप) फण्डीङ गरी जम्मा २ करोड ९० लाख १८ हजार ६३ युएस डलर अवार्ड दिएको थियो । यतिको ठूलो रकम के मा खर्च गरिएको छ सार्वजनिक भएको छैन । ग्लोवल फण्डले दिएको उक्त रकमबाट कति सामान खरिद भयो, लक्षित वर्गसम्म पुग्यो, पुगेन भनेर कसैले पनि हेरेको छैन ।
सरकारमा बस्नेहरु आफ्ना केही नातागोतालाई एनजिओ/आइएनजिओमा जागिर दिएपछि उनीहरुले गरेको कामको हिसाब खोज्ने चेष्टा गर्दैनन् र गरेका पनि छैनन् । जसको पछिल्लो उदाहरण हो ५.१ मिलियन डलरको स्वास्थ्य सामग्री खरिद काण्ड । तर, अब यसको सुक्ष्म अध्ययन स्वास्थ्य लाइभले गर्ने छ । हामी नेपालमा बसेर एनजिओ /आइएनजिओले गरेको नाङ्गो हस्तक्षेपको मसिनो गरी अध्ययन गर्न थालेका छौं ।

मिति २०२१ जुलाइमा ग्लोवल फण्डले तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई कोभिडमा विभिन्न स्वास्थ्य सामग्री खरिद गर्न दिएको रकमको लेटर सहित अन्य महत्वपूर्ण डकुमेन्ट स्वास्थ्य लाइभलसँग सुरक्षित छ । उक्त पत्रलाई मात्रै आधार बनाउँदा पनि कोभिडमा ग्लोवल फण्डले २ करोड ९० लाख १८ हजार ६३ युएस डलर अवार्ड दिएको स्पष्ट छ ।

बाँकी २ करोड ३९ लाख १९ हजार ८ सय डलर समेत सेभ द चिल्ड्रेनमार्फत संचालन भइरहेको छ । उक्त रकम विभिन्न शीर्षकमा खर्च हुनेगरी तीन वर्षका लागि दिएको छ । पत्र अनुसार सेभ द चिल्ड्रेनले यो रकम १६ मार्च २०२१ देखि २०२४ जुलाइ ३१ सम्म खर्च गर्नुपर्ने छ ।
ग्लोवल फण्डले नेपालमा एचआइभी/टिबी/मलेरियामा खर्च गर्दै आएको छ । अधिकारीहरुकाअनुसार ग्लोवल फण्डले सामग्री खरिद गर्दा ४० प्रतिशत सस्तोमा आउँछ, विश्वस्तरमा गुणस्तरीय ठहरिएको हुन्छ साथै चाँडो सामान आउँछ । तर, सेभले तीन महिनामा दिने सामान अहिलेसम्म सरकारलाई हस्तान्तरण गरेको छैन ।

नेपाललाई आएको उक्त बजेटमा सरकारका उच्च अधिकारी र सेभ द चिल्ड्रेनबीचको मिलेमतोमा ठूलो अनियमितता भएको आक्षेप लगाउन सकिने आधार स्वास्थ्य लाइभले फेला पारेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com