शैक्षिक प्रमाणपत्र छानबिनमा रहेका आर्मीका चिकित्सक न्यौपानेलाई उपरथी बनाइयो


काठमाडौं । शैक्षिक प्रमाणपत्र छानबिनमा रहेका नेपाली सेना (आर्मी)का चिकित्सक अरुण कुमार न्यौपानेलाई उपरथी बढुवा गरेको पाइएको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक  सहायकरथी डा. न्यौपानेलाई प्राविधिक उपरथीमा बढुवा गरी  सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको पाइएको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा नेपाल मेडिकल काउन्सिलले जङ्गी अड्डासँग नेपाली सेनामा कार्यरत डा. न्यौपानेको सेवामा प्रवेश गर्दा पेश गरेको कागजात माग गरेको देखिन्छ । साथै काउन्सिलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत त्यो विषयमा सोधपुछ भएको स्मरण गराएको छ । शैक्षिक प्रमाणपत्रको विषयमा छानबिनमा तानिएका डा. न्यौपानेको शैक्षिक प्रमाणपत्र खोजी भएपछि हतार-हतार  सहायकरथीबाट उपरथीमा बढुवा गरेर सैनिक स्वास्थ्य महानिर्देशनालयको जिम्मेवारी सुम्पिएको पाइएको हो ।

नेपाल मेडिकल काउन्सिलमा डा. न्यौपानेको शैक्षिक प्रमाणपत्रको रेकर्ड नभेटिएपछि काउन्सिलले जंङ्गी अड्डासँग रेकर्ड मागेको थियो । तर जङ्गी अड्डाले रक्षा मन्त्रालयमार्फत रेकर्ड माग्न भन्दै काउन्सिललाई जवाफ पठाएर डा. न्यौपानेलाई उपरथीमा बढुवा गरेको तथ्य खुल्न आएको हो ।

‘नेपाल मेडिकल काउन्सिलमा १३८२ दर्ता नम्बर भएका डा. अरुण कुमार न्यौपानेको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र फेला नपरेपछि जङ्गी अड्डासँग सेवा सुचारू गर्ने समयमा पेश गरेको उनको शैक्षिक योग्यता तथा अनुभवका सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपि मागिएको थियो’, काउन्सिल उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो, ‘तर, ती कुरा रक्षा मन्त्रालयसँग माग्नु भनेर जङ्गी अड्डा उम्किएको छ । यता उपरथीमै बढुवा  नै भइसकेछ ।’,

नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको नाम उल्लेख नगर्ने शर्तमा काउन्सिल स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

उपरथीमा हालै बढुवा भएका डा. न्यौपानेले भारतकाे चण्डीगढमा पढेको प्रि-मेडिकलको प्रमाणपत्रमा अहिले विवादको घेरामा छ । त्यस्तै उनको नागरिकताको प्रमाणपत्र समेत विवाद आएको छ ।

डा. न्यौपानेसँग ४ वटा नागरिकता रहेकाे आरोप लागेपछि उनको उमेर विवाद समेत सतहमा आएको छ ।  न्यौपानेले २०४० सालमा नागरिकता लिँदा उनको प्रमाणपत्र नम्बर १५७१८ मा उमेर १८ वर्ष उल्लेख छ । प्रतिलिपि भनेर उल्लेख नभएको नागरिकता नम्बर १५७१ समेत न्यौपानेले लिएको फेला परेको हो ।

उपरथी डा. न्यौपानेको नागरिकता प्रमाणपत्रमा नै कैफियत रहेको पाइएको हो । प्रतिलिपि नै उल्लेख नभएको नेपाली सेनाका चिकित्सक न्यौपानेका यी नागरिकताको अर्को विवादको विषय बनेको छ ।  नेपाल साप्ताहिक  २०७६ माघ ११ गतेको अंकमा उनको नागरिकताको विषयमा प्रश्न उठाएको स्वास्थ्य लाइभले प्राप्त गरेको हो । तर विवादकैबीच डा. न्यौपाने उपरथीमा बढुवा भएर सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशक बनेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com