कोरोना संक्रमणले फेरिएको एक सचिवको दिनचर्या


काठमाडौं । यसपटकको कोरोना भाइरस (कोभिड-१९) संक्रमण ह्वातै बढेसँगै मुलुकको प्रमुख प्रशासनिक तथा राजनीतिक केन्द्र सिंहदरबार प्रत्यक्ष असर परेको देखिन्छ । विज्ञहरुले यसलाई कोरोना भाइरस संक्रमणको तेस्रो लहर(ओमिक्रोन भेरिएन्ट )को संकेत गरिरहँदा सिंहदरबारबाटै कोरोना फैलिन थालेको पाइएको छ ।

सिंहदरबारभित्र कोरोना आतंकै मच्चिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होम आइसोलेसनमा बस्नु पर्ने अवस्था आयो । यद्यपि दुवैजनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ ।

सिंहदरबारभित्रका भिआईपीहरू कोरोना भाइरस संक्रमणको मुख्य चपेटेमा परेका छन् । मन्त्रीदेखि सचिवसम्म कोरोना भाइरस( कोभिड-१९)को संक्रमणबाट प्रताडित बनेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा र स्वास्थ्य सचिवकोसमेत जिम्वेवारी सम्हालेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै कार्यरत अर्का सचिव शिशिरकुमार ढुंगाना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका हुन् ।

कोरोना संक्रमित भिआईपीहरू होम आइसोलेसनमा के गरिरहेका छन् भन्ने कुरा बाहिर नआएपनि एक सचिवको दिनचर्या भने ‘क्रियटिभ’ काममा बितिरहेको फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत सार्वजनिक भएको छ ।

कोरोना संक्रमित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति क्षेत्र हेर्ने सचिव दिनेश भटृराईको दिनचार्य पेन्टिङमा रमाएर बितिरहेको सार्वजनिक भएको फोटो र भिडिओबाट देखिन्छ ।

 

नेपाली कलाकार(चित्रकार)ले बनाएको एउटै पेन्टिङ १० लाखभन्दा बढी मूल्यमा विदेशमा निर्यात गर्न सकिने चर्चा  चलिरहेका बेला  त्यही क्षेत्र वाणिज्य तथा आपूर्ति हेर्ने सचिव भट्टराईको सौख पेन्टिङमा देखिएपछि चित्रकारहरु उत्साहित बनेका छन् ।

हस्तकला तथा पेन्टिङमा ठूलो रोजगारीको अवसर सिर्जना गर्ने सकिने भएकाले सचिव भट्टराईको पेन्टिङ कार्यले नेपाली कलाकारकाे सिर्जना यस्ता कलाहरु विदेशमा बिक्री तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण संदेश दिएको यो क्षेत्रमा संलग्नहरुको भनाइ छ ।

कोरोना संक्रमणको समयलाई सदुपयोग गर्दै वाणिज्य तथा आपूर्ति सचिव भट्टराईले व्यापार घाटा कम गर्न तथा निर्यात प्रवर्द्धन गर्ने सम्भावना बोकेको पेन्टिङमा रुची राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जे होस् कोरोना संक्रमणमा आत्मबल बलियो बनाउन र आफूलाई कोरोनाबाट विजयी गराउन पनि यस्ता क्रियटिभ काममा लाग्नु सकारात्मक कुरा हो । अन्य कोरोना संक्रमितलाई पनि आइसोलेसनमा समय सदुपयोग गर्न यो पेन्टिङ कार्य प्रेरणाको स्रोत बन्न सक्छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com