कोभिडका नाममा ५० अर्ब बढीको सामान आएको अनुमान तर हिसाब गोलमाल


काठमाडौं । चीनको वुहाना सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस अझै नियन्त्रणमा आएको छैन । विभिन्न चरणमा गरी विश्वमा तेस्रो छाल सुरु भएको छ ।

कोरोना सुरु भएपछि संक्रमण नियन्त्रणका नाममा ५० अर्ब भन्दाबढीको सामग्री नेपाल भित्रिएको छ । तर, त्यसको हिसाब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन ।

स्वास्थ्य सस्थालाई दिने, राज्यलाई दिने जस्ता विभिन्न निःशुल्क सहयोगका नाममा महँगा स्वास्थ्य सामग्रीहरु भित्रिएका छन् । तर, ती सामानको कुनै हिसाब स्वास्थ्य मन्त्रालयले दिन सकेको छैन ।

अधिकारीहरुले बताएअनुसार कोभिडको नाममा भित्रिएका सामग्रीहरु केही सरकारलाई दिएर धेरै बिक्री भएका छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, मास्क, स्यानिटाइजर, अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसियू वेड, एचडियू वेड लगायत कोभिडसँग सम्बिन्धत थुप्रै सामग्रीहरु कोभिडका नाममा एक रुपैयाँ पनि भन्सार नतिरी नेपाल प्रवेश गराइएको छ ।

अधिकारीहरुले बताए अनुसार ५० अर्ब भन्दाबढीको भन्सार छुट भएको छ । तर, स्वास्थ्य मन्त्रालयलाई थोरै मात्र बुझाएको बुझिएको छ । मन्त्रालयसँग माग गरिए पनि तथ्यांक दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विवरण उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलाई परिपत्र गरेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य सेवा विभागलाई पत्र काट्दै कोभिड १९ सुरु भएदेखी उक्त रोगको रोकथाम, नियन्त्रण निदान र उपचारको लागि हालसम्म खरिद गरी वा अनुदान सहयोग स्वरुप प्राप्त गरेका औषधि, स्वास्थ्य सामग्री तथा उपकरणहरुको विवरण कोभिड संकट व्यवस्थापन केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जानकारी गराउन अनुरोध गरेको थियो ।

त्यस्तै अर्थ मन्त्रालयलाई पनि सोही विवरण उपलब्ध गराउन भन्सार विभागलाई परिपत्र गरेको छ । भन्सार विभागको विवरण र स्वास्थ्यलाई हस्तान्तरण भएको विवरणमा ठुलो भिन्नता भएको आशंकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै विवरण माग गरेको हो । तर, अहिलेसम्म पनि स्वास्थ्य मन्त्रालयले उक्त विवरण दिन सकेको छैन । विवरण दिन नसक्नुले नि:शुल्क आएका स्वास्थ्य सामग्रीहरुमा मिलेमतो गरी बिक्री गरेको हुनसक्ने आशंका उब्जिएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##अर्थ मन्त्रालय, ##डा राेशन पाेखरेल, ##भन्सार बिभाग, ##स्वास्थ्य सेवा बिभाग, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com