कोरोना संक्रमित सचिवको संख्या बढ्दै, सचिव गेलाललाई पनि कोरोना


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित सचिवको भीडमा आजबाट शहरी विकास सचिव मनीराम गेलाल पनि थपिएका छन् ।

सीसीएमसीसीका संयोजक समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कै अर्का सचिव शिशिरकुमार ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, सचिव कृष्णबहादुर राउत हुँदै सचिव गेलालसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १ सय दिनको अवसरमा गरिएको पत्रकार सम्मेलनमा सचिव गेलाल नदेखिएपछि खोजी गर्दा कोरोना संक्रमणका कारण नआएको जानकारी गराइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड-१९ पुष्टि भएपछि शिक्षा सचिव यादवप्रसाद कोइराला कन्ट्रयाक्ट ट्रेसिङमा परेका  थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई आजै कोरोना संक्रमण पुष्टि भएपछि सचिव महेश्वर न्यौपानेसहित सयौंको संख्यामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।आलेका कारण सचिव मात्र होइन पशुपति धर्मशालाका कर्मचारी , नारायाणहिटी संग्राहालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत उपस्थिति सयौंको संख्यामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णबहादुर श्रेष्ठ पनि निर्धारित कार्यक्रम रद्द गरेर बसेका छन् । श्रम मन्त्रालयको उपल्लो तहसम्मै कोभिड-१९  भुसको आगोझैं फैलिसकेको छ । श्रम सचिव एकनारायण अर्याल पनि कोभिडको उच्च जोखिममा रहेको मन्त्रालय स्रोतले बतायो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Dinesh Bhattarai, ##Krishna B Raut, ##Maheshor Neupane, ##Maniram Gelal, ##Prem Ale, ##Ram P Thapaliya, ##shishir k dhungana, ##Yadhav P Koirala

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com