मणिपालदेखि मसाज सेन्टरसम्म: जहाँ बतास चल्यो, त्यहाँ कानुन ढल्यो


काठमाडौं । मणिपाल शिक्षण अस्पतालदेखि, नारायणहिटी दरबार संग्रहालय हुँदै पशुपतिको धर्मशालामा खोलिएको मसाज सेन्टरसम्म बतास समूहले बदमासी गरेको पोल खुलेको छ ।

राज्यलाई बुझाउनु पर्ने मणिपाल शिक्षण अस्पतालमा बतास चल्दा भारतीय समूहले सरकारलाई सित्तैमा हस्तान्तरण गर्नु पर्ने संरचनामा बाधा अड्चन आएको छ । नारायणहिटी दरबार संग्रहालयमा सम्झौताविपरीत अनधिकृत संरचना बनाएको पुष्टि भएको बतास समूहले तिलगंगाको पशुपति धर्मशालामा धर्मशालाको नियमविपरीत जिम क्लब, स्पा(मसाज सेन्टर) र साउना राखेको पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिको फेला पारेको छ ।

नारायणहिटी दरबार संग्रहालयमा पनि कफी शप खोल्ने सम्झौता गरेको बतास समूहले थप १५ रोपनी जग्गा हडपेर बंकरभित्र बार र बाहिर डान्सबार चलाउने संरचना खडा गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले ठेक्कामा मिलेमतो भएको बतास समूहले सम्झौताविपरीत काम गरेकोलगायतका बदमासी बाहिर ल्याएको थियो । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि उनी राजीनामा दिएर टाप ठोकिसकेका छन् ।

नारायणहिटीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेेको छ ।

पर्यटन मन्त्रालयले नै गठन गरेको अर्को छानबिन समितिले पशुपति धर्मशालामा पनि बतास समूहले बदमासी गरेको पोल खोलेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले नियम उल्लंघन गरी बतास समूहअन्तर्गतको आनन्द होटल प्रालिलाई धर्मशाला सञ्चालनको ठेक्का दिइएको फेला पारेको छ ।

छानबिन समितिले पशुपति क्षेत्र विकाष कोष सञ्चालक परिषदका तत्कालीन पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाही गर्न समेत सिफारिस गरेको छ ।  धर्मशाला ठेक्का सम्झौताको सुरूदेखि नै मिलेमतो रहेको भन्दै समितिको प्रतिवेदनले त्यसरी ठेक्का लगाउँदा सार्वजनिक खरिद ऐन २०७४ को मर्मविपरीत प्रतिस्पर्धा गराइएको निष्कर्ष निकालेको छ । एउटा कम्पनीलाई मात्रै पर्ने गरी टेन्डर आह्वान गरेर मिलेमतो गरिएको देखिने समितिको प्रतिवेदनले औंल्याएको हो ।

भारत सरकारको लगानी समेतमा ३४ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण गरिएको थियो। पशुपतिनाथ क्षेत्रमा १७ रोपनी जग्गामा फैलिएको धर्मशाला २०७६ वैशाख ३० गते बतास समूहको आनन्द होटललाई दस वर्ष लिजमा दिने सम्झौता भएको थियो।  बतास समूहले सम्झौताअनुसार ३९८ वटा बेड बनाउनु पर्नेमा जम्मा १५० वटा बेड बनाएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये २१ वटा मात्रै ३५० रूपैयाँमा भाडामा लगाइएका छन्। यसबाहेक १२ वटा बेड १०३०, एउटा बेड ५५०० र बाँकी २९०० रूपैयाँ भाडामा लगाइएको प्रतिवेदनमा समेटिएको छ।

पशुपति क्षेत्र विकास कोषमा तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल , डा. मिलनकुमार थापालगायतको भूमिकामाथि छानबिन समिति प्रश्न उठाएको देखिन्छ । नेपाल-भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकारप्राप्त निकायको स्वीकृतिबिना गरिएको, ठेक्का आह्वान गर्दा प्रतिस्पर्धा सीमित गर्न र कुनै फर्मलाई मात्र दिने उद्देश्यले मिलेमतो गरेको निष्कर्ष निकालेको छ ।

पशुपति क्षेत्र विकास कोष र आनन्द होटलबीच भाडामा दिँदा सम्झौताका सर्तहरू निर्धारण गर्दा कानुनबमोजिम पदीय दायित्व निर्वाह नगरिएको र स्वीकृतिबेगर धर्मशालाको बाहिरी तथा भित्री भागमा संरचना निर्माण गरेका निष्कर्ष निकाल्दै छानबिन समितिले सम्झौता भंग गर्नुपर्ने रायसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको छ ।

नारायणहिटीमा जस्तै पशुपति धर्मशालामा पनि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउन भनिएको छ । पशुपति र नारायणहिटीमा सेटिङ गर्ने  गिरोहले रबीन्द्र अधिकारी पछाडि योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएको आरोप लाग्दै आएको छ ।

मणिपाल मेडिकल कलेज, नारायणहिटीदेखि पशुपति धर्मशालासम्म बतास समूहको गतिविधि र विभिन्न छानबिन समितिले दिएको प्रतिवेदन हेर्दा जहाँ बतास चल्यो त्यहाँ कानुन ढल्यो भने जस्तो अवस्था देखिन्छ ।

 

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com