वीपी प्रतिष्ठान डुबाउने खेलमा स्वास्थ्यमन्त्री, राप्ती-कर्णालीमा बार्गेनिङ जारी ! 

किर्ते प्राध्यापक उपकुलपति जोगाउन खोजेको आशंका


काठमाडौं ।  तत्कालिन केपी ओली सरकारमा भ्रष्टाचारको कट्टर विरोधी र माधव नेपालका मुख्य सहयोगीको रूपमा नेकपा (यस) को भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री बनेपछि वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा एकपछि अर्को विवादास्पद निर्णय र अनियमिततामा फसिरहेका छन् ।

मन्त्रालयका हरेक सरुवामा बार्गेनिङ गर्दै प्रक्रिया र पद्दति मिच्दै सरुवा गर्ने अनि विरोधको आवाज सुनेपछि रातारात आफ्नै निर्णय उल्टाउने मन्त्री खतिवडाको क्रियाकलापले मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु झनै धरासायी हुनेतर्फ उन्मुख छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई हचुवाको भरमा हटाउने निर्णयमा अदालतको फटकार खाएपछि डा. रावललाई आफैं बोलाएर जुम्लामा निर्माणाधीन ७६ करोडको भवनसम्बन्धी चासो राखेर “अब मिलेर जाउँ” भन्दै डा. रावलको शरणमा परेको आरोप लागेका मन्त्री खतिवडाले वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेत र डा. गुणराज लोहनीको फेरबदल गर्दा झन्डै पद नै गुमाएका थिए ।

खतिवडाले  प्रशासनिक र आर्थिक रूपमा अस्तव्यस्त रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका पदाधिकारीलाई कार्य गर्न रोक लगाउँदै सबै पदाधिकारीको अधिकार स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवलाई प्रत्यायोजन गर्ने सम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट भएको भन्दै डा. यादवलाई एकै निर्णयमा एकैपटक उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक बनाएर जग हसाउने कार्य गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत प्रतिष्ठानको स्थापना भएको र सो प्रतिष्ठानका पदाधिकारी नियुक्ति, संचालन प्रक्रिया र पदाधिकारी हटाउने प्रक्रिया समेत प्रतिष्ठान ऐनअनुसार नै हुने गर्दछ । प्रतिष्ठान ऐनको दफा ११(घ) ले प्रतिष्ठानका चार जना पदाधिकारी हटाउने विधि स्पष्ट रूपमा तोकेको छ ।

यसको निमित्त प्रतिष्ठानका सिनेटका एक चौथाई सदस्यहरुले पदाधिकारीको कार्यक्षमता वा आचरण ठीक नभएको र यसले प्रतिष्ठानलाई क्षति भैरहेको कारणसहित कुलपति तथा प्रधानमन्त्रीसमक्ष निवेदन दिएको अवस्थामा कुलपतिले स्वास्थ्यमन्त्री एवं सह-कुलपतिको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति निर्माण गर्नेछन र सो समितिले कुलपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउँछ । यो समितिको प्रतिवेदनमा छानबिन गरिएको पदाधिकारी दोषी ठहरिएमा कुलपतिले सह-कुलपतिलाई सिनेट बैठक बोलाउन निर्देशन दिनुपर्ने छ र सह-कुलपतिको अध्यक्षतामा बस्ने सिनेट बैठकको बहुमतले पदाधिकारीलाई पदमुक्त गर्न सक्नेछ । ऐनको यो प्रावधानसँग बाझेर गरिएका कुनै पनि निर्णय अदालतले स्वीकार्दैन र निर्णय उल्टिने प्रवल सम्भावना हुन्छ ।

बीपी प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष , रजिष्ट्रार र अस्पताल निर्देशकको हकमा ऐनको ११(घ) बमोजिमको समिति बनाउन एक चौथाई सदस्यहरुले अनुरोध गरि सहकुलपतिको अध्यक्षतामा बनेको छानविन समितिको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश समेत भइसकेको छ ।

प्रतिष्ठान ऐनले निर्देशित गरेबमोजिम वैधानिक रूपमा पदाधिकारीहरुलाई पदमुत गर्न सिनेट बैठक बोलाउनुको सट्टा ऐनको दफा २०(क) मा उल्लेखित “नेपाल सरकारले आवश्यकता अनुरुप प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछ र सो को प्रतिष्ठानले पालना गर्नुपर्नेछ” भन्ने दफा टेकेर पदाधिकारीलाई कार्य गर्न रोक्दै मन्त्रालयका १२ औं तहका चिकित्सक यादवलाई सबै पदाधिकारीको अधिकार प्रत्यायोजन गर्नु सीधै ऐनको भावनाविपरीत देखिन्छ । “यो प्रतिष्ठानमा जारी सुद्धीकरण अभियान तुहाएर अदालतलाई देखाउँदै यिनै पदाधिकारीहरुको निरन्तरता दिने मन्त्रीको चाल हो । मन्त्रीले प्रतिष्ठानको स्वायत्ततामाथि धावा बोलेर यिनै पदाधिकारीलाई धम्क्याएर आफ्नो अभिष्ट पूरा गर्ने चोर बाटो समाते” प्रतिष्ठानको सुद्धीकरण अभियानमा सक्रिय रहेका एक चिकित्सकले बताए ।

सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनविपरीत डा. श्याम सुन्दर यादवलाई वीपीमा पठाएको भन्दै अदालत गएर उल्ट्याउने उद्देश्यले किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी काठमाडौंमा आएका छन् । किर्ते प्राध्यापकलाई अपालमा मुद्दा हालेर फेरि वीपीमा राज गर्ने बाटो खोल्ने दाउमा मन्त्री खतिवडा रहेको यो चलखेलबाट बुझ्न सकिन्छ ।  स्वास्थ्यमन्त्री खतिवडाले कच्चा काम गर्दा किर्ते प्राध्यापकलाई वीपीमा टिकिरहन सहयोग पुुुुुुगेको प्रतिष्ठानका अधिकारीहरुको बुझाई छ ।

यसैबीच मन्त्री खतिवडाको समूहले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा डा. ऋषिकेश नारायण श्रेष्ठसँग प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापामार्फत आर्थिक चलखेल गर्न खोजेको आरोप लाग्न थालेको छ । यो विषयमा स्वतन्त्र पुष्टि हुन नसके पनि मन्त्रालय र राप्तीकै अधिकारीहरु श्रेष्ठले  उपकुलपति बन्न थापालाई परिचालन गरेको दाबी गर्छन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ## उपकुलपति ज्ञानेन्द्र गिरी, ## कर्णाली प्रतिष्ठान, ## किर्ते प्राध्यापक, ## डा. श्याम सुन्दर यादव, ## प्रमुख विशेषज्ञ, ## मंगल रावल, ## राप्ती प्रतिष्ठान, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ## स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com