पिजी प्रवेश परीक्षामा नक्कली विद्यार्थी बनेको आशंकामा तीनजना भारतीय पक्राउ


काठमाडौं । चिकित्सा शिक्षा आयोगले शनिबार लिएको पिजी प्रवेश परीक्षामा सहभागी भएकामध्ये तीनजना भारतीय नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।

नक्कली परीक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा सिआईबीले काठमाडौंको एलआरआई स्कुल कलंकी र नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान सानो भर्‍याङबाट तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका जितेन्द्र कुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी रहेका छन् । तर, यो समूह निकै ठूलो भएको बुझिएको छ ।

सिआईबीको टोलीले काठमाडौंको विभिन्न परिक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको सिआईबीका प्रवक्ता एसपी श्याम कुमार महतोले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगद्वारा शनिबार सञ्चालित एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गर्ने तीनजना भारतीय पक्राउ गरिएको उनको भनाइ छ । शिक्षा ऐन, २०२८ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतोले बताए ।

स्वास्थ्य लाइभले आजै ‘पिजी प्रवेश परीक्षामा नक्कली विद्यार्थी बनेर परीक्षा दिए, वर्षाैदेखि तयारी गरेका नेपाली विद्यार्थी ट्वा !’, शीर्षकमा समाचार प्रकाशित गरेको थियो । काठमाडौं कै परीक्षा केन्द्रमा नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले तीनजनालाई समात्नुले काठमाडौं बाहिर गिरोह नै परिचालन भएको अनुमान लगाउन सकिन्छ । भारतीय र नेपाली गिरोह मिलेर पिजीको प्रवेश परीक्षामा चलखेल गरेको आरोप लाग्दै आएको छ । यसमा चिकित्सा शिक्षा आयोगका अधिकारी समेत संलग्न रहेको सिआईबी सोतको दाबी छ ।

यता परीक्षा हुनुभन्दा २४ घण्टा अगाडी बिचौलियाले विद्यार्थीलाई पास गराउँन पैसाको बार्गेनिङ गरेका म्यासेज  स्वास्थ्य लाइभले सार्वजनिक गरेको  थिए । त्यति मात्रै हैन नक्कली भनिएको प्रवेश पत्र पनि सार्वजनिक भएको थियो । तर, त्यो सत्य हो हैन भन्नेबारे छानबिनपछि सार्वजनिक होला ।

पिजीको परीक्षा फिक्सिङ हुँदा पनि चिकित्सा शिक्षा आयोग जसरी पनि परीक्षा सञ्चालन गर्ने पक्षमा उभियो । चौतर्फी विवादकाबीच चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेपछि आयोगको भूमिका माथि समेत प्रश्न तेर्सिएको छ ।

पिजीको परीक्षाबाट नक्कली परिक्षार्थी र परीक्षामा अमार्यादित कार्य गरेको आशंकामा सिआईबीले तीनजना पक्राउ गरेपछि स्वास्थ्य लाइभले खुलासा गरेको तथ्यलाई थप पुष्टि गर्ने आधार देखिन्छ । उनीहरुमाथि छानबिन भइरहेकाले थप विषय विस्तारै आउने सिआईबीले स्पष्ट पारेको छ । यो घटनाले आयोगले लिने परीक्षाको निष्पक्षता र क्षमतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com