विमानस्थलमा सञ्चालित १२ मध्ये तीनवटा ल्याबलाई मात्रै अनुमति, अरुको गुनासो 


काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीनवटालाई मात्रै युएईको परीक्षण अनुमति दिएको छ । मंगलबार अनुगमनमा गएको प्रयोगशालाको टोलीले तीनवटा सुमेरु अस्पताल प्रालि, स्टार अस्पताल मनेलिक्युलर ल्याब र महेन्द्रनारायण निधी मेमोरियल अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा मात्रै अनुमति दिएको पाइएको छ । तर, उक्त निर्णयको अन्य प्रयोगशालाले भने विरोध जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको एक टुकडी मंगलबार एक्कासी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित प्रयोगशालाको अनुगमनमा निस्किएको थियो । अधिकारीहरुले बताएअनुसार विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झासहितको टुकडी तीनवटा प्रयोगशालामा मात्रै प्रवेश गरेको थियो ।

प्रयोगशाला अनुगमनमा निस्किएको टोली आउँने आशामा अन्य प्रयोगशालाका कर्मचारी पनि बसे तर, उक्त टुकडी तीनवटा प्रयोगशालाबाहेक अन्यमा नगएको उनीहरुको गुनासो छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले एक विज्ञप्ति जारी गर्दै आफूले अनुगमन गरेका ती ल्याबलाई मात्रै परीक्षण अनुगमती दिएको जनाएको छ ।

अवैध रुपमा विमानस्थलमा ल्याव सञ्चालन गरेर जनता ठगेको क्रिष्टल डायग्नोष्टिक सेन्टरकाबारेमा कयौं उजुरी पर्दा कारबाही गर्न नसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक घण्टा अनुगमन गरेर तीनवटा प्रयोगशालालाई मात्रै वैधानिकता दिनुले शंकास्पद गतिविधि भएको अन्य प्रयोगशाला संचालकले बताएका छन् ।

अल्फा केयरका मेडिकल डाइरेक्टर डा. अजय पराजुली आफूहरुको ल्याबमा अनुगमन गर्न नआएको गुनासो गर्छन् । ‘हामीले अनुगमनमा आउँन पत्र समेत पठाएका थियौं तर, त्यसको कुनै सुनुवाइ भएन ।’, उनले भने मंगलबार अनुगमनमा आएको बुझिएपनि तीन ल्याव बाहेक अन्यन्त्र नछिरेको पराजुली बताउँछन् ।

केन्द्रीय प्रयोगशालाले किटान गरेको नाम भन्दा अन्य प्रयोगशालाले पनि विमानस्थलमै पीसीआर परीक्षण गर्दै आएको उनीहरुको तर्क छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निकालेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट माघ ११ गते भएको स्थलगत निरीक्षणमा सुमेरु अस्पताल, स्टार अस्पताल र महेन्द्र नारायण निधी अस्पतालले चलाएका प्रयोगशालाले मात्रै सोही स्थानमा कोभिड परीक्षण गर्ने पाइएकाले उक्त प्रयोगशाला स्वीकृत कार्यविधि बमोजिम उक्त स्थानमा युएई जाने यात्रुहरुको कोभिड-१९ परीक्षण गर्न अनुमति प्रदान गरिएको ब्यहोरा जानकारी गराइन्छ । कोभिड-१९ पीसीआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्रै चलाउने प्रावधान नरहेको र अन्य प्रयोगशालाहरुले विमानस्थल परिसरमा कलेक्सन सेन्टरको रुपमा मात्रै कार्य गरिरहेको पाइएकाले आजकै मितिदेखि उक्त कार्य नगर्न भनेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, विविध, समाचार
ट्याग : ## अवैध क्रिष्टल, ## डा. अजय पराजुली, ## त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल, ## पीसीआर टेष्ट, ## युएई, ## राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, ## ल्याब, ## स्टार हस्पिटल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com