भरतपुरमा बन्ने भयो ३ सय बेडको संघीय शिक्षक अस्पताल


काठमाडौं । ३ सय बेडको संघीय शिक्षक अस्पताल भरतपुर जिल्लाको चितवन महानगरपालिकाभित्र बन्ने भएको छ । डा. विमल शर्मा चालिसे समितिको सिफारिसमा टेकर सरकारले भरतपुर महानगरपालिकाको भगवानपुरमा उक्त शिक्षक अस्पताल बनाउने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा चितवनको भरतपुर महानगरपालिकाको भगवानपुरमा शिक्षक अस्पताल बनाउन मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत छुट्टै शिक्षक अस्पताल बनाउने घोषणा गरेका थिए । त्यसैका आधारमा शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक २२ गते अस्पतालका लागि जग्गा खोज्न डा. चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको थियो । उक्त समितिले  भरतपुर महानगरपालिका-५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्षसहितको प्रतिवेदन शिक्षामन्त्री पौडेललाई बुझाएको दुई हप्ता पनि भएको छैन ।

अन्तत: डा. चालिसे नेतृत्वको समिति नै उपयुक्त भनेर सिफारिस गरेको ठाउँ भरतपुरमा ३ बेडको संघीय शिक्षक अस्पताल बन्ने भएको हो ।

शिक्षक अस्पतालका लागि जग्गा खोज्न गठित समितिले  चितवनको भरतपुरसहित नवलपरासीको गैडाकोट, मकवानपुरको चित्लाङ र भक्तपुरको गुन्डु र जगातीमा जग्गा खोजेको थियो । समितिले ३ सय बेडको संघीय शिक्षक अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्ने औंल्याएको छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ## भरतपुर, ## शिक्षक अस्पताल, ## शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #देवेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com