कोरोना परीक्षण ल्याबहरू प्रहरीको निगरानीमा, गिरोह नजिक पुगेको दाबी


काठमाडौं । नेपाल प्रहरीले कोरोना परीक्षण ल्याबको धन्दा चलाउने गिरोह नै रहेको दाबी गरेको छ । पछिल्लो समय कोरोना ल्याबका नाममा ब्यापक ठगी धन्दा चलाउने गरिएको दाबी गर्दै प्रहरीले निजी ल्याबहरुमाथि निगरानी बढाएको हो ।

वैदेशिक रोजगारीमा जाने युवा-युवतीहरूको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आए नेगेटिभ बनाउने गिरोह नै सक्रिय रहेको प्रहरीको निष्कर्ष छ । भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको ल्याब र कान्तिपुर अस्पतालको ल्याबमा छापा हानेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि प्रहरीले उक्त निष्कर्ष निकालेको हो । प्रहरीले पीसीआर धन्दा चलाउने गिरोह नियन्त्रणमा लिने तयारी थालेको जनाएको छ ।

पासपोर्ट र फोटोसमेत अर्कै व्यक्तिको राखेर पीसीआर रिपोर्ट बनाउने समूहको बिगबिगी रहेको सूचनका आधारमा प्रहरीले निजी ल्याबहरूमाथि निगरानी बढाउन थलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र अपराध महाशाखाको टोलीले पीसीआर धन्दा चलाउने गिरोहविरूद्ध संयुक्त अपरेशन सञ्चालन गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रहरीले उक्त अपरेशन सञ्चालन गर्ने तयारी थालेको सिआईबीका एक अधिकारीले स्वास्थ्य लाइभलाई जनाए ।

प्रहरीको फरार सूचीमा रहेका कैलाश खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिष्टल ल्याब सञ्चालन गरेर लामो समयदेखि ठगी धन्दा चलाउँदै आएपनि कुनै कारबाही भएको थिएन । स्वास्थ्य लाइभले यो विषयमा पटकपटक कुरा उठाएपनि मिलेमतोमा धन्दा जारी थियो । खड्काको पीसीआर ठगी धन्दालाई नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको संरक्षण रहँदै आएको आरोप लाग्ने गरेको छ । यो ल्याबलाई हालै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रोकेको छ ।

निजी ल्याबमा एन्टिजेन परीक्षण गरे कै शुल्क हजार रुपैयाँसम्म लिने गरेको उजुरी परेपछि प्रहरीले सक्रियता बढाएको हो । कोरोना परीक्षणका नाममा पछिल्लो समय चल्न थालेको ठगी धन्दा रोक्न प्रहरी अपरेशन कतिको सफल हुन्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एन्टिजेन किट, #पीसीआर ठगी धन्दा, #प्रहरी निगरानी, #सिआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com