सीसीएमसीसीलाई चुनौती दिँदै गोकर्णेश्वरको स्कूल खोल्ने निर्णय


काठमाडौं । गोकर्णश्वर नगरपालिकाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीसी)ले गरेको सिफारिसलाई चुनौती दिँदै स्कूल खोल्ने निर्णय गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर कायम रहेकाको भन्दै सीसीएमसीसीले माघ मसान्तसम्म स्कूल, कलेज, ट्युसन सेन्टरलगायत बन्द गर्न सिफारिस गरेको थियो । त्यसलाई चुनौती दिँदै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले माघ २३ गते आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय खोल्ने निर्णय गरेको छ ।

गोकर्णेश्वरको पछिल्लो स्कूल खोल्ने निर्णयले सीसीएमसीसीको औचित्यमाथि नै प्रश्न उठेको छ । त्यस्तै जिल्ला प्रशासन काठमाडौंले पनि सीसीएमसीसीको सिफारिसअनुसार नै माघ मसान्तसम्म स्कूलहरू बन्द गर्ने निर्णय गरिसकेको छ । प्रशासन र सीसीएमसीसीको निर्णयविरुद्ध गोकर्णेश्वर नगरपालिका अघि बढेको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यकाअनुसार नगरपालिकाको शिक्षा समितिको बुधबारको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेसागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार उक्त निर्णय भएको उनको भनाइ छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराएर नगरपालिकाभित्रका विद्यालय सञ्चालन गर्ने  नगरपालिकाको शिक्षा समितिले निर्णय गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #गोकर्णेश्वर नगरपालिका, #विद्यालय खोल्ने निर्णय, #शिक्षा समिति, #सीसीएमसीसी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com