लाभको पदमा पुगेपछि विवादित बनेको योगेश दम्पती


समाचार टिप्पणी

काठमाडौं । नेपाल नर्सिङ परिषद्(नर्सिङ काउन्सिल)को रजिष्ट्रार हुँदा नेकपा एमालेका सचिव योगेश भट्टराईकी श्रीमती बिन्दा घिमिरे घुस काण्डमा मुछिइन् । उनले काउन्सिलकी सदस्य जिता बराललाई प्रयोग गरेर विद्यार्थीसँग काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गराएबापत घुस बार्गेनिङ गर्ने गरेको विवाद सतहमा आएको थियो ।

योगेशकी श्रीमती बिन्दासँगको सेटिङमा मिलाएर जिताले ३ लाखका दरले घुस लिने गरेको तथ्य सार्वजनिक भएपछि उनी विवादमा आएकी हुन् । त्यसको बचाउमा तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई स्वयं उत्रिएका थिए ।

नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दाको नाममा जिताले साढे दुई लाख घुस लिइसकेको र ५० हजार लिन बाँकी रहेको च्याट  सार्वजनिक भयो ।  त्यसपछि काउन्सिलभित्रको धन्दाबाहिर आएको हो । उनी लाभको पदमा पुगेर गैरकानुनी लाभ लिन लागेको यो घटनाले देखाउँछ ।

नर्सिङ काउन्सिलको रजिष्ट्रार हुँदा लाइसेन्स परीक्षा उत्तीर्ण गराउन घुसमा सेटिङ मिलाउने श्रीमती बिन्दामाथि आरोप लागिरहेको बेला श्रीमान् योगेश भट्टराईले पनि पर्यटनमन्त्री हुँदा बतास समूहसँग सेटिङ गरेको कुरा सार्वजनिक भएको छ ।

नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशालालगायतका ऐतिहासित तथा धार्मिक महत्त्वका संरचना बतास समूहसँग सेटिङमा कौडीको भाउमा सुम्पने काम गरेको योगेशमाथि आरोप लाग्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छानबिन समितिले नारायणहिटी र पशुपतिमा बतास समूहसँग सेटिङ गरेको पुष्टि गरिसकेको छ ।

योगेशले बताससँग प्रत्यक्ष मात्र होइन अप्रत्यक्ष रुपमा पनि सेटिङ गरेको तथ्य समेत सार्वजनिक भएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले नै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरेको खुलासा गरेका छन् ।

बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिकृत अर्थात् बतासका पार्टनर डिमप्रकाश पौडेललाई वायुसेवा निगमको एमडी र अर्का ‘बिजनेश पार्टनर’ धनन्जय रेग्मीलाई बताससँगको सेटिङमा नेपाल पर्यटन बोर्डको सिईओ बनाएको मन्त्री आलेको दाबी छ ।

पौडेल, चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक, नेपाल क्यान्सर अस्पतालको कार्यकारी,  बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिकृत हुँदै नेपाल वायुसेवा निगमको एमडी बन्न पुगेका हुन् । यो सबै बतास र योगेश भट्टराईबीचको सेटिङले भएको पर्यटनमन्त्री प्रेम आलेको दाबी छ । यी  सेटिङ काण्डले गर्दा भट्टराई विवादमा तानिएका हुन् ।

भट्टराईले श्रीमती बिन्दालाई नर्सिङ परिषद्, सालो विश्वम्भर घिमिरेलाई भ्रमण वर्षको सचिवालय, भाञ्जा पिताम्बर सिग्देललाई भ्रमण वर्षको सचिवालय तथा उनका स्वकीय सचिव प्रेम गुरागाइँकी श्रीमती भूमिका पौडेललाई नेपाल पर्यटन बोर्डमा नियुक्त गरेको विषय पनि निकै विवादित बन्यो ।  उनले आफ्नै बिजनेश पार्टनर इश्वरी पौडेललाई नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा लगेर अर्को विवादित काम गरेको चर्चा चल्दै आएको छ ।

भट्टराई पर्यटनमन्त्री रहँदा आफ्ना निजी सचिव दीपक थापालाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)को कार्यकारी निर्देशक बनाएको कुरा पनि उत्तिकै विवादित छ । थापा पनि बतास समूहसँग कै सेटिङमा तत्कालीन मन्त्री भट्टराईको सचिवालय हुँदै नाथम पुगेको आरोप लाग्दै आएको छ ।

लक्ष्मण गौतम र दीपक थापारोचक कुरा त रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा पर्यटन बोर्डबाट सल्लाहकारको हैसियतमा मन्त्रालय तानेका लक्ष्मण गौतमलाई नै योगेशले निरन्तरता दिए । योगेश भट्टराई रवीन्द्र अधिकारीको हेलिकोप्टरमा निधन भएको ६ महिनापछि पर्यटनमन्त्री बनेका हुन् । तर त्योबीचको मन्त्री रिक्त रहेको समयमा पनि मन्त्रीको सल्लाहकार कै हैसियतमा गौतमले पर्यटन बोर्डबाट गाडीलगायतका गैरकानुनी सुविधा लिएको पाइन्छ ।

धनन्जय रेग्मीलाई पर्यटन बोर्डको सिईओ बनाउन विशेष भूमिका खेलेका गौतम अहिले पनि रेग्मीका ‘खास’ सल्लाहकार रहेको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् । मन्त्रीको सल्लाहकार हुँदा पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पद देखाएर गौतमका लागि मात्र बोर्डले गाडी र चालक गरी मासिक ७० हजार रुपैयाँ छुट्याउँने गरेको तथ्य समेत सार्वजनिक भएको छ । बोर्डमा उक्त पदमा दुई दर्जनजति भएपनि कसैलाई गाडी सुविधा दिइएको छैन तर गौतमले प्रभाव र पहुँचका आधारमा सुविधा लिएको पाइएको छ ।

गौतमले नियुक्तिका लागि पेश गरेको अनुभव पत्रमा श्रीप्रसाद बास्ताकोटी प्रबन्ध निर्देशक कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा काम गरेको उल्लेख छ । उनले त्यहाँ काम गरेको भनी झुक्याएर ‘फर्जी’ अनुभव पत्रका आधारमा जागिर खाएको आरोप छ ।

बतास समूहसँगको सेटिङ, वायुसेवा निगम, पर्यटन बोर्ड, नाथम जस्ता निकायमा गरिएको नियुक्ति, नारायणहिटी काण्ड र विवादित पृष्ठभूमिका लक्ष्मण गौतमलाई सल्लाहकार बनाएर तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई विवादमा परेको देखिन्छ ।

पर्यटनमन्त्री प्रेम आलेले त उनीमाथि हातहतियार खरखजाना कारोबार गरेर काठमाडौंमा घर किनेको गम्भीर आरोप लगाएका छन् । योगेश आपराधिक क्रियाकलापबाट किनेको भनेर आलेले दाबी गरेको घट्टेकुलोको घर होस्टललाई भाडामा लगाएर उनी बबरमहलको अर्को घरमा बस्दै आएका छन् । योगेश भट्टराईको नजिक रहेर काम गरेका मान्छेहरु भने उनले त्यो घर ‘उपहार’मा पाएको दाबी गर्छन् । यो कारणले पनि योगेश दम्पती विवादित बनेको छ ।

नर्सिङ काउन्सिलको रजिष्ट्रार हुँदा बिन्दा विवादमा आउनु र मन्त्री हुँदा योगेश विवादमा आउनुले लाभको पदमा पुग्दा योगेश दम्पती विवादित बनेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## इश्वरी पौडेल, #जिता बराल, #डिमप्रकाश पौडेल, #धनन्जय रेग्मी, #नर्सिङ काउन्सिल, #नाथम, #नेपाल वायु सेवा निगम, #पर्यटन बोर्ड, #बिन्दा घिमिरे, #योगेश भट्टराई, #रवीन्द्र अधिकारी, #लक्ष्मण गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ