मन्त्रालयपिच्छे अस्पताल बनाउने होडबाजी, शिक्षापछि श्रम मन्त्रालय तात्यो


काठमाडौं । पछिल्लो समय मन्त्रालयपिच्छे अस्पताल बनाउने होडबाजी चलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने तयारी थालेसँगै श्रम मन्त्रालय पनि तातेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै श्रमिक अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन गर्न श्रम मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको नेतृत्वमा कार्यदल नै गठन भएको छ । कार्यदलले श्रमिक अस्पताल निर्माण तथा सञ्चालकका लागि आवश्यक अध्ययन गरेर रिपोर्ट दिने छ । त्यसपछि श्रमिक अस्पताल बन्ने प्रक्रिया अघि बढ्ने कार्यदलका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यका साथै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि रहेको श्रमिक अस्पतालको सम्भाव्यता अध्ययन कार्यदलले रिपोर्ट दिएपछि द्रुत गतिमा अस्पताल निर्माण हुने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ श्रमिकलाई सर्वसुलभ तरिकाले उपचार गर्ने उद्देश्यले श्रमिक अस्पताल स्थापना गर्न खोजिएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भरतपुरको चितवनमा ३ सय बेडको शिक्षक अस्पताल बनाउने निर्णय गरेसँगै श्रम मन्त्रालयले श्रमिक अस्पतालको अवधारणा अघि सारेको हो । शिक्षा मन्त्रालयले डा. विमल शर्मा चालिसेको नेतृत्वमा कार्यदल बनाएर संघीय शिक्षक अस्पतालको सम्भाव्यता अध्ययन र जग्गा खोज्ने काम गरेको थियो । श्रम मन्त्रालयले भने श्रमिक अस्पताल बनाउन सहसचिवको नेतृत्वमा कार्यदल बनाएको हो ।

यता छुट्टै जेष्ठ नागरिक अस्पताल बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच प्रतिस्पर्धा भएको छ । जेष्ठ नागरिक अस्पताल बनाउन जेष्ठ नागरिक मन्त्रालयले तयारी थालेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उछिनेको छ ।
स्वास्थ्य मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत जेष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धनमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेपछि जेष्ठ नागरिक मन्त्रालय हेरेको हेरै भएको हो ।
थपलियाको संयोजकत्वमा गठित उक्त कार्यदलमा डा. पोमावती थापा र सदस्य-सचिवमा स्वास्थ्य मन्त्रालयका उपसचिव सानुबाबु अधिकारी रहेका छन् । दुईमहिना बढी हुँदा पनि उक्त कार्यदलले प्रतिवेदन दिन नसकेर असक्षम सावित भएको छ ।

यता गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी अस्पताल, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेना अस्पताल, सामान्य प्रशासन मन्त्रालय अन्तर्गत निजामति कर्मचारी अस्पताल हुँदै शिक्षक, श्रमिक र जेष्ठ नागरिक अस्पताल बन्ने पाइपलाइनमा छन् ।
छुट्टै अस्पताल बनाउन मन्त्रालयपिच्छे होडबाजी चलेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## शिक्षक अस्पताल, #जेष्ठ नागरिक अस्पताल, #डा. राधिका थपलिया, #निजामति अस्पताल, #प्रहरी अस्पताल, #शिक्षा मन्त्रालय, #श्रम मन्त्रालय, #श्रमिक अस्पताल, #सहसचिव शेषनारायण पौडेल, #सेना अस्पताल, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com