शिक्षक अस्पतालदेखि विद्यार्थीलाई खोपसम्म शिक्षामन्त्रीको फेहरिस्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल बनाउनेदेखि विद्यार्थीलाई खोप दिनेसम्म आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै शिक्षामन्त्री पौडेलले मन्त्री र मन्त्रालयको कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । विश्व स्वास्थ्य संगठनले सिफारिश गरेअनुसार ४ वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरुलाई पनि छिट्टै खोप लगाउने उनको भनाई छ । त्यस्तै, उनले शिक्षक अस्पताल चितवनमा निर्माण हुने कुरा मन्त्रिपरिषद्बाट निर्णय भएको सुनाए ।

उनले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको सुनाए । उनले भने,‘शैक्षिक सत्र लस नगर्नेगरि एसर्ईईको परीक्षा तालिका सार्वजनिक गरेका छौं । चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौं । सरकारले खोपलाई अभियानको रुपमा अघि बढाएको छ । ’

शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उनले सुनाए । उनले भने,‘शिक्षकहरुको आन्तरिक बढुवा अहिले अघि बढाएका छौं । १८ वर्षदेखि यो काम रोकिएको थियो ।  केन्द्रीय लाईब्रेरी जमलमा निर्माण गर्दैछौं । केशरमहलभित्र पूरातत्व प्रकृतिको पुस्ताकालय रहन्छ, उच्च शिक्षाको थुप्रै सुधारको काम गरेका छौं । त्रिविको परीक्षा प्रणालीदेखि सबै शिक्षण प्रणाली सुधार गरेका छौं ।’

मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जनाए । त्यस्तै, उनले ७५३ वटै पालिकामा प्राविधिक शिक्षा पुर्याउनेगरि सरकारले काम गरिरहेको र पढ्दै कमाउँदै कार्यक्रमलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको बताए ।  उनले भने,‘यसको लागि भवन बनेको ठाउँमा आईसिटी ल्याब पुर्याउने र भवन नबनेको ठाउँमा भवन बनाउने काम हुँदैछ, शिक्षा क्षेत्रमा आउने वर्षदेखि कमसेकम २० प्रतिशत बजेट पुर्याउनेगरि अघि बढेका छौं । शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कामदेखि करिकुलम व्यवस्थित् गर्ने काम भएका छन् । नीतिगत कामलाई क्रमशः अघि बढाएका छौं । चिकित्सा कलेजले अतिरिक्त शुल्क लिएको कुरा आएको थियो । हामीले यो विषय पनि सल्टाएका छौं ।’

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता समेत रहेका पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भैसकेको छ। यो राम्रो कुरा हो । लोकतन्त्रमा निर्वाचन भनेको अनिवार्य कुरा हो, आधार हो । निर्वाचनको मिति घोषणा भएको छ, यो महत्वपूर्ण विषय हो । ०७४ सालमा स्थानीय तहको निवाृचन हुँदा तीन चरणमा भएको थियो, त्यसमा कुनलाई अन्तिम कार्यकाल मान्ने ? भन्ने कुरा थियो । यो विषय ऐन÷कानूनमा लेखिएको थिएन । त्यही भएर छलफल भयो । निर्वाचन नगर्ने वा सार्ने भन्ने कुरा थिएन । मिल्छ भने तीनै तहको निर्वाचन एकै पटक गर्ने भनेर छलफल भएको थियो ।’

उनले गठबन्धन नभएपनि आफ्नो दल एक्लै भएपनि चुनावमा प्रतिष्पर्धा गर्ने बताए । यद्धपी गठबन्धनका अध्यक्षहरुमा भने अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ भन्ने धारणा रहेको उनले सुनाए ।

मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए । उनले भने,‘एमसीसीबारे अहिलेसम्म संस्थागत निर्णय गरेर कुनैपनि पार्टीले एकमत बनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ।’

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ## शिक्षक अस्पताल, ## शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #खोप कार्यक्रम, #शिक्षामन्त्री देवेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com