हराएको २४ लाख खोप खोज्न बनाएको समितिले रिपोर्ट बुझायो


काठमाडौं । हराएको भनिएको २४ लाख डोज खोप खोजबिन गर्न गठित समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा बनेको खोप खोजबिन समितिले मन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

२४ लाख खोप हिनामिना गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा विरुद्ध चार्ज लागिरहेको अवस्थामा समितिले बुझाएको प्रतिवेदनमा के छ भन्ने कुरा चासोका साथ हेरिएको छ ।

समितिले स्थानीय तह, प्रदेश र खोप पठाइएका केन्द्रहरुबाट विवरण लिएर प्रतिवेदन तयार पारेको हो । ५ सदस्य छानबिन समितिले विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई पटक-पटक ताकेता गरेको थियो । फाइनल रिपोर्ट मन्त्रीलाई बुझाएको जानकारी दिँदै समितिका एक सदस्यले स्वास्थ्यमन्त्री खतिवडाले केही दिनभित्रै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

प्रतिवेदका विषयमा स्वास्थ्य लाइभले बुझ्न खोज्दा समितिका संयोजक डा. लोहनी सम्पर्कमा आउन चाहेनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ १६ गते डा. लोहनीको संयोजकत्वमा विवरण फेला नपरेको भनिएको २४ लाख डोज खोप खोज्न उक्त समिति बनाएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com