प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सक तोकिएका डा. रुपाखेती को हुन् ?


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेती नियुक्त भएका छन् । मन्त्रिपरिषदले डा. शैल रुपाखेतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको (विशिष्ट श्रेणी) चिकित्सक नियुक्त गरेपछि उनी को हुन् भन्ने विषयमा सबैलाई चासो बढेको छ । अरु जस्तो चर्चामा आउँन नरुचाउने डा. रुपाखेतीले २४ माघबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् चिकित्सकको हैसियतमा औपचारिक नियुक्ति पाएका छन् ।

उनका लागि यो नियुक्ती नौलो कुरा थिएन, प्रधानमन्त्री हुनु अगाडी देखि नै उनी देउवाको पारिवारिक चिकित्सकका रुपमा आवद्ध थिए र अहिले पनि छन् । डा शैल रुपाखेती नेपालको पहिलो निजी मेडिकल कलेज मणिपालको एमबीबीएस पहिलो ब्याचका विद्यार्थी हुन् । मणिपाल मेडिकल कलेजमा एमबीबीएस सकाएपछि डा. रुपाखेती चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा विभिन्न विद्यामा आवद्ध भएर काम गरे ।

मुख्यगरी डा. रुपाखेतीले तत्कालीन स्वास्थ्यमन्त्री स्व. डा. उपेन्द्र देवकोटासँग रहेर न्युरो सर्जरीमा लामोसमय काम गरे । त्यति मात्रै हैन डा. दामोदर पोखरेल, डा. मनोहरलाल श्रेष्ठ, डा. महावीर कृष्ण मल्लसँग समेत लामोसमय काम गरेको अनुभव उनीसँग छ । डा. देवकोटा, डा. पोखरेल, डा. श्रेष्ठ, डा. मल्ल राष्ट्रियस्तरमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरमा पनि सीमित चिकित्सकको सूचीमामा पर्ने डाक्टरहरु हुन् ।

अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त डाक्टरले पत्याएका व्यक्ति हुन् शैल । उनी मेडिकल अफिसरको रुपमा नै ख्यातिप्राप्त चिकित्सकसँग लामोसमय काम गरेर धेरै ज्ञान हासिल गरेका चिकित्सक हुन् । उनलाई नजिकबाट बुझ्नेहरुले डा. रुपाखेती न्युरो सर्जन बन्छन् भन्ने अनुमान त्यसबेला लगाउँथे । तर, उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर जनरल सर्जरीमा मास्टर्स गरे । त्यसलगत्तै डा. शैल रुपाखेती ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई) सर्जरीमा आकर्षित भए ।

उनले ओरिगन हेल्थ साइन्स इन्स्टिच्युट अमेरिकाबाट एड्भान्स जिआइ एवंम मिनिमल्ली इन्भेसिभ सर्जरीमा फेलोसिप गरे । त्यति मात्रै हैन डा. रुपाखेतीले डा. मधु घिमिरेसहितको टिमसँग मिलेर जिआइ सेन्टर खोल्न सहयोग गरेका थिए । डा.रुपाखेती शल्य चिकित्सा समाजमा सहसचिवको रुपमा रहेर काम गरिसकेका छन् । हाल उनी कोषाध्यका रुपमा कार्यरत छन् ।

यता अक्सपोर्ट विश्व विद्यालय अन्तर्गतको प्राइमरी हेल्थकेयर नामक संस्थाबाट काम गरेका उनले विभिन्न अन्तर्राष्ट्रिय फोरममा गएर ट्रमा व्यवस्थापनको विषयमा चिकित्सकहरुलाई तालिम दिँदै आएका छन् । नेपालमा पनि डा. रुपाखेती प्राइमरी ट्रमा केयरसँग आवद्ध छन् । साथै उनी स्टार अस्पतालका बहालवाला मेडिकल डाइरेक्टर पनि हुन् ।

यसबाहेक डा. रुपाखेतीले आएल आचार्यको ग्यास्ट्रोसम्बन्धी ठूलो सेन्टर बनाउने परिकल्पना अनुसार भर्खरै नेपालको सबैभन्दा ठुलो ग्यास्ट्रो सेन्टर सुरुवात गरेका छन् । बिरामीको सेवा सँगसँगै डा. रुपाखेती समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । विभिन्न रोटरी क्लबहरुमा आवद्ध भएर उनले समाज सेवा गर्दै आएका छन् ।

डा. रुपाखेतीलाई सबैसँग सहज रुपमा घुलमिल हुने चिकित्सकका रुपमा समेत हेरिन्छ । आम नागरिकले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा पाउँनु पर्छ भन्ने उदेश्यका साथ डा . रुपाखेती विदेशमा देखिएका नयाँ नयाँ प्रविधि भित्राउने अग्रणी चिकित्सकका रुपमा देखा परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com