स्वास्थ्य लाइभ प्रभाव

बानेश्वरमा पाठशाला स्कूलले रजाइँ गरिरहेको डा. उप्रेतीले हडपेको जग्गा किनबेच नहुने


काठमाडौं । नयाँ बानेश्व थापागाउँस्थित पाठशाला स्कूले रजाइँ गरिरहेको डा. प्रेमरमण उप्रेतीलगायतले हडपेको ‘पर्ती’ जग्गा किनबेचमा रोक लगाइएको छ ।

स्वास्थ्य लाइभले पर्ती उल्लेखित जग्गा डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीले नाममा किर्ते गरेर दुषित दर्ता गरेको प्रमाणसहित समाचार प्रकाशित गरेपछि मालपोतबाट जग्गा खरिद बिक्रीमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० कित्ता नम्बर १२७ को झन्डै एक रोपनी ‘पर्ती’ उल्लेखित जग्गा डा. उप्रेती परिवारले किर्ते गरी दर्ता गराएको दाबीसहित समाचार प्रकाशित भएको थियो । मालपोत कार्यालय डिल्लीबजारले पनि प्रारम्भिक निष्कर्षमा सरकारी जग्गा हुन सक्ने आधार देखिएकाले किनबेचमा रोक्का राखिएको जनाएकाे छ ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टुनाबहादुर श्रेष्ठले भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा डा. प्रेमरमण उप्रेतीसमेतको नाममा दर्ता भएको जग्गा किनबेच गर्न रोक लगाइएको स्पष्ट पारे । उनले उक्त जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत सबै कागजात मागेकाले पठाइसकिएको जानकारी दिए ।

कवि अर्जुन पराजुलीसहितको लगानी रहेको पाठशाला स्कूलले पार्किङका लागि भाडामा लिएर रजाइँ गर्न थालेपछि स्थानीयले खोजी गर्दा उक्त पर्ती जग्गा उप्रेती परिवारको नाममा दुषित दर्ता भइसकेको प्रमाण फेला परेको हो । भूकम्प चुनावजस्ता आवश्यक काममा सार्वजनिक प्रयोजनका लागि उपयोग हुँदै आएको थापागाउँ नयाँ बानेश्वरको उक्त जग्गामा जस्ताले बारेर पाठशाला स्कूलले पार्किङ बनाएपछि स्थानीय तातेका छन् ।

कवि पराजुलीसहित पाठशाला स्कूलका सञ्चालकहरुको उक्साहटमा डा. उप्रेतीले कोरोना भाइरस महामारीको मौका छोपेर उक्त सार्वजनिक जग्गा कब्जा गरेको स्थानीयहरु बताउँछन् । स्थानीय बासिन्दाले त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई अनुरोध गरेपछि भूमि व्यवस्था मन्त्रालयमार्फत कानुनी प्रक्रिया पूरा गरी सरकारकै नाममा फिर्ता ल्याउने अभियानमा स्थानीयसँगै उनीपनि लागेका छन् । त्यसपछि भूमि व्यवस्था मन्त्रालयले पनि चासोका साथ अग्रसरता देखाएको हो ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सक्रियतापूर्वक उक्त जग्गामाथि छानबिन गरिरहेको पाइएको छ । अख्तियार प्रमुखको हैसियतमा प्रेमकुमार राई आएपछि किर्ते र दुषित दर्ता गरी व्यक्तिको नाममा पुर्‍याइएका सरकारी/सार्वजनिक जग्गा धमाधम फिर्ता ल्याउने काम भइरहेको छ । अख्तियार प्रमुख राईको सक्रियतामा धेरै जग्गा भूमाफियाहरूबाट फिर्ता आइसकेका छन् । थापागाउँको उक्त जग्गा पनि फिर्ता आउने चरणमा रहेको पाइन्छ ।

मालपोत कार्यालय डिल्लीबजारले अख्तियारलाई थापागाउँको उप्रेती परिवारको नाममा गोइसकेको जग्गा सरकारी हुन सक्ने भनेर जवाफ पठाएको देखिन्छ । करिब ६ महिना अघि नै सबै विवरण अख्तियारमा पठाइएको बताउँदै मालपोतका एक अधिकारीले अख्तियारबाट थप केही नआएको जनाए ।

अहिले पनि पाठशाला स्कूलले पार्किङ बनाएर थापागाउँको उक्त जग्गामा रजाइँ गरिरहेको देखिन्छ । सामाजिक सेवा गर्नु पर्ने स्कूलले नै सार्वजनिक प्रयोजनका लागि प्रयोग भइरहेको जग्गा भाडामा लिएर उल्टै समाजलाई चुनौती दिएको पाइन्छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #अख्तियार दुरूपयोग अनुसन्धान आयोग, #कवि अर्जुन पराजुली, #डा. प्रेमरमण उप्रेती, #नयाँ बानेश्वर थापागाउँ, #पर्ती जग्गा, #पाठशाला स्कूल, #पाठशाला स्कूलको पार्किङ, #मालपोत कार्यालय, #सरकारी जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com