२० वर्षदेखि नर्भिक अस्पतालको सरकारी जग्गामा रजाइँ

कौडीको भाउमा डेढ रोपनी जग्गा भाडामा लिएर अहिलेसम्म पैसा नै नतिरी उपभोग गरिरहेको खुलासा


काठमाडौं । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले २० वर्षदेखि डेढ रोपनीभन्दा बढी सरकारी जग्गामा रजाइँ गरिरहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित कित्ता नम्बर २०८५ को क्षेत्रफल १ रोपनी ८ आना १ पैसा १ दाम सरकारी जग्गा वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘कब्जा’मा रहेको खुलेको हो ।

नर्भिक अस्पतालले तत्कालीन भूमिसुधार कार्यालयका अधिकारीहरूसँग सेटिङ मिलाएर कौडीको भाउमा उक्त जग्गा हत्याएको देखिन्छ । नर्भिक अस्पतालले भूमिसुधार कार्यालय, काठमाडौंमा वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँ भाडा बुझाउने स्वास्थ्य लाइभले फेला पारेको सम्झौतामा उल्लेख छ । मालपोत कार्यालय स्रोतका अनुसार नर्भिकले अहिलेसम्म उक्त भाडा बुझाएको छैन ।

२०६५ साल जेठ १ गतेदेखि सम्झौता लागू हुने गरी २० वर्षका लागि नर्भिक अस्पतालले कौडीको भाउमा उक्त जग्गा ल्याएको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबारका प्रमुख टुनाबहादुर श्रेष्ठ नर्भिक अस्पतालले अहिलेसम्म सम्झौता बमोजिम भाडा नतिरेको बताउँछन् । प्रत्येक वर्षको असार मसान्तसम्म भूमिसुधार कार्यालयलाई जग्गा भाडा बुझाउने सम्झौतामा देखिएपनि अहिलेसम्म नर्भिक अस्पतालले भाडा नतिरेको कार्यालय प्रमुख श्रेष्ठले स्पष्ट पारे ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट स्वास्थ्य लाइभललाई प्राप्त कागजातमा सरकारी जग्गा भाडामा लगाउने गरी भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय, काठमाडौंका भूमिसुधार अधिकारी लुम्ब प्रसाद शिवाकोटी र नर्भिकका तर्फबाट वरिष्ठ प्रवन्धक मोहन प्रसाद खनालको हस्ताक्षर रहेको छ ।

नर्भिक अस्पतालले २०५९  सालदेखि नै थापाथलीस्थित उक्त सरकारी जग्गा प्रयोग गर्दै आएपनि २०६४ सालबाट मात्र नर्भिकले कौडीको भाउमा भाडा तिर्ने गरी सेटिङमा गरेको प्राप्त कागजातबाट खुल्ने आएको छ । नर्भिकले २०५९ सालदेखि २०६३ सालसम्मको  १ लाख ६२ हजार ४ सय ८६ रुपैयाँ एकमुष्ट भाडा दाखिला गर्ने सम्झौतामा उल्लेख छ । तर नर्भिकले उक्त रकम एकमुष्ट दाखिला गराएको रेकर्ड समेत कार्यालयले उपलब्ध गराउन सकेको छैन ।

सरकारी जग्गा बिनाप्रतिस्पर्धा भाडामा लगाउने मिल्दैन । तर नर्भिकले सीधै थापाथलीस्थित ‘प्राइम लोकेसन’को डेढ रोपनी बढी जग्गा हत्याएको फेला परेको हो ।

सार्वजनिक/ सरकारी जग्गा संरक्षण गर्दै आएका काठमाडौंको उक्त क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य एवं संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पनि नर्भिकले रजाइँ गरिरहेको सरकारी जग्गामा चासो दिएका छन् । भूमाफिया दीपक मल्होत्रा, जेएन तण्डुकारलगायतले हडपेको सरकारी जग्गामा डोजर लगाएर सरकारकै संरक्षणमा ल्याउन सक्रिय श्रेष्ठले नर्भिक अस्पतालले सरकारी जग्गा हडपेको जानकारी पाउन साथ त्यसमा चासो राखेका हुन् ।

यता नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह भने आफूहरुले उक्त जग्गा लिजमा लिएको लिजवापतको रकम तिरिरहेको दाबी गर्छन् । ‘नर्भिकले उक्त सरकारी जग्गा लिजमा लिएको हो, लिजको रकम नतिरे त लिज खत्तम भइहाल्छ नि !’, सिंहले भने

स्वास्थ्य लाइभले नर्भिक अस्पताल र भूमिसुधार कार्यालयबीच भएको सरकारी जग्गा भाडामा लगाउने सम्झौताको थप चिरफार गर्नेछ ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #कौडीको भाउमा भाडामा, #टुना बहादुर श्रेष्ठ, #नर्भिक अस्पताल, #राजेन्द्र सिंह भण्डारी, #लुम प्रसाद अधिकारी, #वसन्त चौधरी, #सरकारी जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com