डब्ल्युएचओद्वारा ‘काम देखाउन’ मुख्यमन्त्रीदेखि राष्ट्रिय सभा अध्यक्षसम्म दुरुपयोग


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), नेपालले खोप कार्यक्रमसम्बन्धी काम देखाउन मुख्यमन्त्री, सांसददेखि राष्ट्रिय सभाका अध्यक्षसम्मलाई दुरुपयोग गरेको पाइएको छ ।

सरकारले जनसंख्याका झन्डै ८३ प्रतिशतलाई पूर्ण मात्रामा खोप लगाइसकेपछि डब्ल्युएचओले अन्तिम अवस्थामा आएर काम देखाउने र जस लिने उद्देश्यले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई प्रयोग गरेर राज्यको उपल्लो तहमा रहेका व्यक्तिहरु दुरुपयोग गरेको पाइएको हो ।

खोप कार्यक्रमको सुरुवाती चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै बलबुताले व्यवस्थापन गर्नु परेको थियो । त्यो बेला सरकारलाई प्रविधिक सहयोग गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयमा हालीमुहली  गरिरहेको डब्ल्युएचओ र उक्त संस्थाका नेपाल प्रतिनिधि डा. राजेश पाण्डव गुप्तवास बसेका थिए । नेपालले खोप कार्यक्रममा उल्लेख्य प्रगति गरेपछि भने त्यसको जस लिन र काम देखाउन डब्ल्यएचओका प्रतिनिधि डा. पाण्डव सक्रिय बनेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग समन्वय गर्ने मात्र हैसियत भएका पाण्डव विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई बाइपास गरी स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता मिश्रा र प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवलाई लिएर प्रदेश-प्रदेश घुम्न निस्किएका छन् ।

जतिबेला खोप लगाउन मान्छे आएका थिएनन् र खोप व्यवस्थापन गर्ने विषयमा स्वास्थ्यकर्मीहरुलाई समस्या परेको थियो त्योबेला चुपचाप बसेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु खोप कार्यक्रमको अन्तिम अवस्थामा देश दौडामा देखिन्छन् ।

‘कोभिड-१९ विरुद्धको खोप सम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ अन्तरक्रिया कार्यक्रमका नाममा डब्ल्युएचकोको खटनपटनमा स्वास्थ्यका उच्च अधिकारीहरु देश घुम्न निस्किएका हुन् । स्वास्थ्य मन्त्रालय कै उच्च अधिकारीहरुले यसलाई अनावश्यक कार्यक्रम भन्ने टिप्पणी गरेका छन् । उनीहरूले डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवको भूमिकामाथि समेत प्रश्न तेर्स्याएका छन् ।

डब्ल्युएचओ प्रतिनिधि पाण्डवको चंगुलमा परेका स्वास्थ्यका उच्च अधिकारीका कारण कर्णाली प्रदेशको मुख्यमन्त्री जीवनबहादुर शाही, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतलाई व्यापाक दुरुपयोग गरेको पाइएको छ । मुख्यमन्त्री र राष्ट्रिय सभा अध्यक्षको भूमिकामा रहेका व्यक्तिहरुले पनि ‘प्रोटोकल’को ख्यान नै नगरी डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. पाण्डवसँग कुम जोडेर बसेको देखिन्छ ।

डब्ल्युएचओले गर्नु पर्ने काम नगरी नगर्नु पर्ने काममा जस लिन खोजेको र त्यसलाई स्वास्थ्य मन्त्रालयका जिम्मेवार अधिकारीहरुले समर्थन गरेको पाइन्छ । यो गम्भीर बहसको विषय बनेको छ ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. मिश्रा भने कोभिड-१९ विरुद्धको खोप मात्र नभएर जोखिम सञ्चार र सामुदायिक सहभागिताको विषयमा सांसदहरुको भूमिका खोजिएको बताउँछिन् ।  कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट अनुरोध भएकाले आफूहरू त्यहाँ गएको उनको भनाइ छ ।

झन्डै ८४ प्रतिशतले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको सन्दर्भमा यस्तो कार्यक्रमको के औचित्य छ भने स्वास्थ्य लाइभको प्रश्नमा प्रवक्ता मिश्राले यो कोभिड- १९ विरुद्धको खोपको विषय मात्र नभएको दाबी गरिन् ।

डब्ल्युएचका नेपाल प्रतिनिधि पाण्डवको टिओआर र उनले सञ्चालन गरिरहेको गतिविधिबारे स्वास्थ्य लाइभले विस्तृत रुपमा अध्ययन गरिरहेको छ । पाण्डवलाई यो विषयमा स्वास्थ्य लाइभले पटकपटक जानकारी मागेपनि उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ## डा. श्याम सुन्दर यादव, ##कोभिड-१९ विरुद्धको खोप, #डब्ल्युएचओ, #डा. राजेश पाण्डव, #दुरुपयोग, #प्रवक्ता डा. संगिता कौशल मिश्रा, #मुख्यमन्त्री जीवनबहादुर शाही, #राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com