राप्तीको उपकुलपतिबाट हटेपनि प्रतिष्ठान नछोड्ने संगिताको दाउ


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादास्पद पूर्व उपकुलपति डा. संगित भण्डारीले आफ्नो कार्यकाल सकिएपछि राप्तीमै बस्ने चाँजोपाँजो मिलाएको पाइएको छ । उनी कार्यरत बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट रातारात दुई वर्षे विदा स्वीकृत गराई राप्ती प्रतिष्ठानकै नाक, कान, घाँटी विभागको प्रमुखको रूपमा कार्य गर्ने गरी संगिताले चलखेल थालेको पाइएको हो ।

“पूर्व उपकुलपति भण्डारीले आफ्नो कार्यकाल सकिनु केही दिन मात्र अगाडि प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापा बिदामा भएको समयमा डीन डा. सागर पन्थीलाई निमित्त रजिष्ट्रार नियुक्त गरेर प्रतिष्ठानको नियमविपरीत प्राध्यापक पदमा आफ्नो नियुक्ति आफै गराएकी हुन्” रजिष्ट्रार कार्यालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो । आफ्नो कार्यकालमा अनेकौं अनियमितामा मुछिएकी डा. भण्डारीले आफूले प्रतिष्ठान छोडेर गयो भने नयाँ पदाधिकारीले आफ्नो छानबिन गर्ने सम्भावना देखेर दबाब बनाई राख्न उपकुलपतिबाट झरेर विभागीय प्रमुख भएर पनि दुईवर्ष प्रतिष्ठानमै बस्ने सोच बनाएको हुन सक्ने एक पदाधिकारीले बताए ।  कार्यकालको अन्त्यमा आफ्नो घरको उपचार समेत प्रतिष्ठानको खर्चमा गरेको आरोप डा. संगितामाथि लाग्दै आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भइसकेका छन् ।

यता डा. भण्डारीले भने आफू नयाँ उपकुलपति नआउन्जेल मात्र राप्ती प्रतिष्ठानमा काम गरेको दाबी गरिन् । नयाँ उपकुलपति नआईसकेको र केही कुरा मिलाउन बाँकी नै रहेकाले राप्तीमै रहनु परेको उनको भनाई छ । ‘चैत्रदेखि धरानमै जोइन् हुन्छु’, उनले भनिन् । डा. भण्डारीले पछिल्लो समय बीपीबाट बिदा स्वीकृत गराएर राप्ती प्रतिष्ठानकै विभागीय प्रमुख बनेर बस्ने तयारीमा छिन् । स्वास्थ्य लाइभले सोध्दा भने डा. भण्डारीले झस्किन् ।

विवादै विवादकावबीच बितेको डा. भण्डारीको चार वर्षे कार्यकालमा यी आरोपहरू लाग्ने गरेको छ :

👉बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थायी प्राध्यापक रहेको र सो प्रतिष्ठानको नाक, कान, घाँटीटी विभागको प्रमुख रहंदा ४२ लाखको माइक्रोस्कोप गायब गरेको आरोप ।

👉नीज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहँदा महाभूकम्प को समयमा संसोधित कानुनको लाभ उठाउँदै करिब ४० करोडको उपकरण खरिद र निर्माण कार्यमा ठूलो अनियमितता गरेको सम्बन्धमा अख्तियारमा उजुरी तामेलीमा रहेको ।

👉राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त भए पछि आफ्ना मातहतका पदाधिकारीलाई अधिकारविहीन बनाई पूर्णत: कमिसनखोरीमा लाग्नाले २ जना शिक्षाध्यक्ष, २ जना डीन, १ जना रजिष्ट्रार र २ जना अस्पताल निर्देशकलाई राजिनामा दिन वाध्य बनाएको ।

👉राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्देश्य अनुरुप शिक्षा र अनुसन्धानमा कुनै प्रगति नगरी नितान्त रूपमा कमिसनको निमित्त अनियमित तवरले उपकरण खरिद गर्ने अनि स्टोरमा राख्ने कार्यमा मात्र तल्लिन रहेको ।

👉पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित संसदीय समिति तथा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र स्वास्थ्य मन्त्रालयकै अर्का सह-सचिव तीर्थ बुर्लाकोटीको संयोजकत्वमा मन्त्रालयलद्वारा गठित अलग अलग छानबिन समितिहरुले उपकुलपति भण्डारीका अनेकौं अनियमितता प्रमाण सहित औंल्याउदै कारबाहीको सिफारिस गरेको ।

👉Oxygen Plant खरिद (RAHS/NCB/HE/02/078/079) मा करिव ७० लाख भन्दा बढी अनियमितता गरेको आरोपसहित यी आरोप लागेको छ :

👉प्रतिष्ठानको मूल्यांकन समितिले सारभूत रूपमा प्रभावग्राही भनि सिफारिस गरिएको र प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारीले समेत सम्पूर्ण प्राविधिक स्पेसिफिकेसन पुरा गरेको भनि प्रतिवेदन पेश गरेको कम मूल्यको उपकरण खरिद नगरी करिव ६२ लाख बढी मूल्यको उपकरण खरिद गरिएको ।

👉प्रतिष्ठानका बायोमेडिकल इन्जिनियरले दिएको प्रतिवेदनले आफ्नो व्यक्तिगत आर्थिक स्वार्थ पुरा नहुने देखेर उपकरण व्यापारीको मिलेमत्तोमा प्रदेश मन्त्रालय अन्तर्गतका बायोमेडिकल इन्जिनियरलाई मूल्यांकनमा संलग्न गराई आर्थिक अपचलन गर्ने बाटो बनाएको ।

👉मूल्यांकन समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयको राय लिन सिफारिस गरेतापनि सो नगरी धाक, धम्की प्रशाशनिक बल प्रयोग गरेर बढी मूल्यको उपकरण खरिद गरेको ।

👉खरिद कार्यमा शक्ति प्रयोग गर्ने नियतले मातहतका पदाधिकारी र अधिकारीको अनेकौं पटक कार्यक्षेत्र र भूमिका परिवर्तन गर्ने गरेको ( जस्तै : कहिले लेखा प्रमुख कैलाश देबलाई निमित्त रजिष्ट्रार त कहिले शाखा अधिकृत झंकार लामिछानेलाई निमित्त रजिष्ट्रार त कहिले आफ्नै श्रीमान् डा. प्रल्हाद कार्कीलाई काजमा ल्याएर निमित्त रजिष्ट्रार र निमित्त अस्पताल निर्देशक, कहिले शाखा अधिकृत झंकार लामिछाने र लेखा प्रमुख कैलाश देवलाई निमित्त रजिष्ट्रारबाट हटाएर खरिद वा मूल्यांकन समिति प्रमुख आदि)

👉कमिसनमा झगडा भएर पूर्व रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई हटाएर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहँदा आर्थिक अपचलन गर्न सहयोग गरेका उक्त प्रतिष्ठानका लेखा प्रमुख प्रकाश थापालाई राप्ती प्रतिष्ठानको रजिष्ट्रार नियुक्त गरेर हाल सबै शाखा अन्तर्गतका खरिद फाइलहरु कब्जा गरेर उनीमार्फत सम्पूर्ण कागजातहरु मिलाउने कार्य भइरहेको आरोप लाग्न थालेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com