फोहोरको डंगुरमा रमाउँदै उद्‌घाटनमा व्यस्त काठमाडौं महानगरका मेयर शाक्य

सरुवा रोगको महामारी फैलिने त्रासमा स्थानीय


काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य फोहोरको डंगुरमा रमाउँदै उद्‌घाटनमा मस्त र व्यस्त देखिन थालेका छन् । महानगरपालिकाभित्र फोहोरको डंगुर पारेर पहिलानै प्रयोगमा आइसकेका आकाशे पुललगायतका संरचना उद्‌घाटन र शिलान्यास गर्न उनी निकै व्यस्त देखिन्छन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित भएर नाम लेखाउने काममा व्यस्त र मस्त रहेका मेयर शाक्यलाई काठमाडौं महानगरपालिका फोहोरको डंगुरभित्र रहेकोमा कुनै चासो छैन । महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन हुन नसक्दा  सरुवा रोगको महामारी फैलिने त्रासमा स्थानीयहरु रहेका छन् । तर, महानगरपालिकालई दुर्गन्धित बनाएर मेयर शाक्य भने भित्तामा आफ्नो नाम टाँस्ने ध्याउन्नमा लागेका छन् ।

मेयर शाक्यले गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अगाडि डेढ वर्षदेखि प्रयोगमा आइरहेको पुल उद्‌घाटन गरेर  नयाँ ‘कीर्तिमान’ कायम गरेका छन् ।

त्यहीँ स्वास्थ्य मन्त्रालय वरिपरिको बाटोमा रहेको फोहोर महानगरपालिकाले व्यवस्थापन नगर्दा कोरोनालाई भुलाउने हैजालगायत अर्को सरुवा रोगको महामारी फैलन सक्ने खतरा छ ।

मेयर शाक्यले फोहोर व्यवस्थापन जस्तो महत्त्वपूर्ण र अति आवश्यक काम छाडेर आधा पनि बनिनसकेको कमल पोखरीको संरचना उद्‌घाटन गरेर नाम लेखाएका छन् । वसन्तपुरमा क्रंक्रिट संरचना बनाएर शिलान्यास गर्दा विवादित बनेको छ ।  हरेक ठाउँमा नाम लेखाउने नाममा बदनाम हुन थालेका काठमाडौं महानगरपालिकाका मेयर शाक्य महानगरलाई दुर्गन्धित बनाएर फोहोरको ‘वास्ना’ सुँघ्दै  नाम टाँस्न हिँड्न व्यस्त छन् ।

५ वर्षे कार्यकालमा विवादनै विवादकाबीच पूरा गरेर मेयर शाक्यले काठमाडौं महानगरपालिकाबासीलाई जानेबेलामा सरुवा रोगको महामारी उपहार दिएर जाने खतरा देखिएको छ ।

फोहोरको डंगुरभित्र महानगरबासीलाई राख्ने मेयर शाक्य सय दिनमा १ सय १ कार्यक्रम दिने सपना देखाएर काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुगेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com