कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा पूर्व स्वास्थ्य राज्यमन्त्रीदेखि कोरोनामा औषधि बाँड्नेसम्मको चर्चा


काठमाडौं । बैशाख ३० गते स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलदेखि स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहनेहरूले निर्वाचनका लागि आ-आफ्नो तयारी सुरु गरेका छन् ।

विभिन्न व्यक्ति तथा समूहदेखि प्रमुख राजनीति दलका नेताहरूले महानगरपालिकादेखि गाउँपालिकासम्ममा चुनाव लड्ने तयारी थालेका छन् । राजनीतिक दलहरुबीच चुनावी तालमेलको समेत कसरत भइरहेको छ ।

स्थानीय तहको चुनावमा देशकै मुटु नेपालको राजधानीस्थित काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)को विषयमा बढी नै चर्चा हुने गरेको छ । मानव शरीरमा मुटुको जस्तो भूमिका हुन्छ । सरकार र राजनीतिक दलको कामको मूल्यांकन गर्न नेपालकै मुटु काठमाडौं महानगरपालिकाको मेयरको पनि उत्तिकै भूमिका रहने गरेको छ ।

नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर बनेका विद्यासुन्दर शाक्यको कमजोर र विवादित कार्यशैलीले गर्दा पार्टीबाट टिकट पाइहाले पनि यसपटक उनलाई मेयरमा जित्न निकै गाह्रो पर्ने  देखिन्छ । उनको कार्य सम्पादनले नेकपा एमालेलाई नै घाटा पुर्‍याएको विश्लेषण हुँदै आएको छ । त्यसैले एमालेले शाक्यको साटो पूर्व मेयर केशव स्थापित वा महानगर कमिटीका अध्यक्ष निर्मल देउलालाई मेयरमा अघि सार्ने छलफल समेत चलाएको छ ।

नेपालको मुटु मानिएको काठमाडौंको मेयरको भूमिकाले सिंगो पार्टीको समेत मूल्यांकन हुने भएकाले राजनीतिक दलहरुले मेयरको उम्मेदवार दिँदा निकै ध्यान पुर्‍याउनु पर्ने अवस्था छ ।

यसपटकको स्थानीय तहको चुनावमा एमालेलाई भन्दा कांग्रेसलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार छान्न निकै सकस पर्ने देखिन्छ ।

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्न सार्वजनिक घोषणा गरेर कसैले नहिँडे पनि पार्टी पङ्तीभित्र  मेयरको सम्भावित उम्मेदवारको विषयमा व्यापक चर्चा सुरु भएको छ ।

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको सम्भावित उम्मेदवारको चर्चामा पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलदेखि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठसम्मको चर्चा चलेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, विद्यासुन्दर शाक्यसँग हारेका मेयरका उम्मेदवार राजुराज जोशी, सपना जोशी, काठमाडौंका नगर सभापति निलकाजी शाक्य, पूर्व रक्षामन्त्री एवं प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधान, ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारसम्मको नाम मेयरका लागि चर्चामा आएको छ ।

कांग्रेसबाट काठमाडौंको मेयरमा नेवार फ्याक्टर र कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह फ्याक्टरले ठूलो भूमिका खेल्ने गरेको छ । प्रकाशमानले जसलाई चाह्यो त्यसैले कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाउने निश्चित छ ।

अहिले कांग्रेसबाट मेयरको चर्चामा रहेका तिर्थराम डंगोल काठमाडौं कांग्रेसको सभापति, सांसद र स्वास्थ्य राज्यमन्त्री भइसकेका व्यक्ति हुन् । उनलाई यसअघि पनि काठमाडौं महानगरको मेयरमा उठाउन खोजिएको थियो । तर प्रकाशमान विरोधी छवि बनाएका पूर्व स्वास्थ्य राज्यमन्त्री डंगोललाई मेयरको टिकट दिइएन । उनलाई पूर्व रक्षामन्त्री एवं कांग्रेस सांसद भीमसेनदास प्रधानले मेयरमा उठाउन ‘बोकेर’ हिँडेका छन् ।  ‘ज्यापू’हरुमा राम्रो होल्ड भएका डंगोल प्रकाशमान विरोधी कित्तामा रहेकाले उनले फेरिपनि टिकट पाउने सम्भावना न्यून छ ।

डंगोललाई मेयर बनाउने लबिइङमा लागेका पूर्व रक्षामन्त्री प्रधानलाई नै मेयर बनाउन कांग्रेसको एउटा तप्का लागेको छ । खास गरी कांग्रेसको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको टिमले उनलाई सांसदबाट राजीनामा गराएर मेयरमा उठाउन खोजेको हो । प्रधानलाई मेयरमा पठाएर उनको क्षेत्रबाट बानियाँ प्रतिनिधिसभा सांसदको चुनाव उठ्ने दाउमा देखिन्छन् । तर, प्रधाननै डंगोललाई टिकट माग्दै हिँडेकाले त्यो सम्भावना पनि कमजोर देखिन्छ ।

कांग्रेसबाट काठमाडौंको मेयरमा सशक्त दाबेदारको रुपमा अहिलेकी उपमेयर हरिप्रभा खड्गी देखिएकी छिन् । चाक्सीबारीभित्र एसपटक काठमाडौंको मेयरमा महिलालाई अघि सार्नु पर्ने लाइन पनि देखिएको छ । उनले मेयर शाक्यकोविरुद्धमा उभिएर महानगरको पक्षमा काम गरेको भन्ने आवाज समेत उठेको छ । खड्गी कांग्रेसबाट काठमडौंको मेयरमा सम्भावित बलियो उम्मेदवार देखिएकी छिन् । तर उनलाई बागमती प्रदेश सभा सदस्यमा पठाउने मत पनि कांग्रेसभित्र रहेको छ ।

हरिप्रभासँगै मेयरको चर्चामा रहेको अर्को नाम हो सपना जोशी । पूर्व मन्त्री स्व. नविन्द्रराज जोशीकी धर्मपत्नी सपनालाई पनि कांग्रेसबाट काठमाडौंको मेयरको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । मन्त्री जोशीको निधनसँगै उनी राजनीतिमा सक्रिय हुन थालेकी छिन् । सपनालाई मेयरभन्दा नविन्द्र चुनाव लड्दै आएको प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ८ बाटै चुनाव उठाउन एउटा समूह लागेको छ । उनको मेयरको सम्भावित उम्मेदवारको रुपमा अहिले व्यापक चर्चा छ ।

कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा चर्चामा रहेको अर्को नाम राजुराज जोशी हो ।  अघिल्लो पटक टिकट पाएर विद्यासुन्दर शाक्यसँग मेयरमा पराजित जोशी अहिले पनि मेयरका स्वभाविक दाबेदार हुन् । तर उनको पछिल्लो समय राजनीतिमा खासै सक्रियता देखिँदैन । जोशीले महानगरमा प्रतिपक्षको भूमिका समेत खेल्न नसकेको आरोप लाग्दै आएको छ ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई हरेक ठाउँमा टक्कर दिँदै आएका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ कांग्रेसबाट काठमाडौंको मेयरमा चर्चामा आएका अर्का पात्र हुन् । कोरोना महामारीको समयमा आफ्नो क्षेत्रका घरघर-घरमा औषधि बाँड्दै र पुर्‍याउँदै हिँड्ने श्रेष्ठको नाम काठमाडौंको मेयरमा आउन थालेको छ ।

कोरोना महामारीको बेला लकडाउनले गर्दा अलपत्र परेका नागरिकलाई स्कुटरमा हालेर गन्तव्यसम्म पुर्‍याउने काम गरेर चर्चामा आएका श्रेष्ठ महानगर हाँक्ने रथीका रूपमा चर्चामा आउन थालेका हुन् ।

काठमाडौं महानगरपालिकाका कोरोनाकालमा आफ्ना नागरिकलाई व्यवस्थापन गर्न नसकेर बेवास्ता गरिरहेको बेला दीपेन्द्रले बानेश्वरको रत्न राज्य स्कुलमा निःशुल्क कोरोना आइसोलेसन खोलिदिए । कोरोना संक्रमितलाई उपचार गर्न बुद्धनगरको मेरो हस्पिटलमा समेत सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएर कोरोना संक्रमितलाई निःशुल्क सेवा दिए । जबकी त्यो बेला काठमाडौं महानगरपालिकाले पनि त्यो काम गर्न सकेको थिएन ।

पूर्व मेयर पिएल सिंहसँग दिपेन्द्र

दिपेन्द्रको पहलमा कोरोना महामारीको बेला सिभिल अस्पतालले डेढ करोडको स्वास्थ्य सामग्री समेत पाएको छ ।  त्यस्तै प्रसूति गृहमा ६० लाखको एम्बुलेन्स लगायतका औषधि उपकरण खरिदका लागि उनले बजेट विनियोजन गरेका छन् ।

 

बबरमहलमा दिपक मल्होत्राले हडपेको करिब ३ रोपनी सरकारी जग्गामा डोजर लगाएर सरकारी स्वामित्वमा ल्याउन सफल भएका श्रेष्ठ सार्वजनिक जग्गा संरक्षण गर्ने योद्धाका रुपमा चिनिन्छन् । बुद्धनगरमा भूमफिया जेएन तण्डुकारलगायतले हडपेको सार्वजनिक जग्गाको मकै भाँचेर सार्वजनिक प्रयोजनमा ल्याउनेदेखि जोगी कुटीको जग्गा संरक्षण गर्नमा समेत उनको विशेष भूमिका छ ।

दिपेन्द्रले सार्वजनिक स्वामित्वमा ल्याएर पार्क बनाउन खोजेका ती जग्गामा काठमाडौं महानगरपालिकाका मेयर शाक्यले अवरोध खडा गरेर बजेटनै ‘फ्रिज’ गराइ दिएका छन् । दिपेन्द्रलाई प्रतिस्पर्धी ठानेर देवीनगरका भूमाफिया इन्द्र चाम्लिङदेखि अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)ले हडपेको सार्वजनिक जग्गा संरक्षण गर्न समेत मेयर शाक्यले अवरोध खडा गर्दै आएका छन् । सरकारीसार्वजनिक जग्गामा मेयर शाक्यले गिद्देदृष्टि लगाएपछि दिपेन्द्रले मेयर शाक्यलाई भूमाफियाका संरक्षक भन्दै आएका छन् ।

बाटो, विजुली, ढल, खानेपानी हरेक समस्यामा उपस्थिति देखाएर जनताको काम फत्ते गर्दै आएका श्रेष्ठ काठमाडौंको मेयरका सबैभन्दा उपयुक्त उम्मेदवार हुन सक्ने चर्चा छ । उनी प्रदेश सांसद भएपनि स्थानीय तहका जनप्रतिनिधिले जस्तै जनताको सेवा गर्दै आएका छन् । दिपेन्द्रलाई मन्त्रीबाट राजीनामा गर्न लगाएर मेयरमा उठाउनु पर्ने आवाज कांग्रेसभित्र उठ्न थालेको छ । तर अहिले बजेट ल्याउने बेलामा मन्त्री पदमा रहेकाले उनी मन्त्रीबाट राजीनामा दिएर मेयरमा उठ्न आउने सम्भावना निकै कम रहेको चर्चा छ ।

काठमाडौं महानगरपालिका ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले पनि मेयरको दाबी गर्दै आएका छन् । पटक-पटक वडाध्यक्ष भएका तण्डुकार अहिले काठमाडौं महानगरपालिकाको मेयरको चर्चामा छन् । उनलाई पार्टीभित्र पनि सम्मानजनक स्थान दिनुपर्छ भन्ने आवाज उठेको छ । हरिप्रभालाई मेयर र हिरालाललाई उपमेयरको उम्मेदवार बनाउनुपर्छ भन्ने लाइन पनि कांग्रेसभित्र छ । उनले भने आफू मेयरको उम्मेदवार भएको भन्दै हिँड्ने गरेका छन् ।

कांग्रेसको काठमाडौँ महानगरपालिकाका नगर सभापति निलकाजी शाक्य पनि मेयरको चर्चामा रहेका व्यक्ति हुन् । नगर सभापति भएकाले मेयरमा उनको दाबीलाई स्वभाविक रुपमा लिइएको छ । सम्भावित चर्चामा रहेका नामबाट प्रकाशमानले ‘फाइनल टच’ दिएपछि कांग्रेसबाट काठमाडौंको मेयरको उम्मेदवार मैदानमा खडा हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस, #काममाडौं महानगरपालिका मेयर, #केशव स्थापित, #तिर्थराम डंगोल, #दिपेन्द्र श्रेष्ठ, #प्रकाशमान सिंह, #मेयर विद्या सुन्दर शाक्य, #रत्नराज्य आइसोलेसन, #राजुराज जोशी, #सपना जोशी, #संस्कृति तथा पर्यटनमन्त्री, #सिभिल अस्पताल स्वास्थ्य सामग्री, #हरिप्रभा खड्गी, #हिरालाल तण्डुकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com