अस्पतालबाट फर्किएका शताब्दी पुरूष सत्यमोहन जोशीको अन्तिम इच्छा पूरा गरिदिने पर्यटनमन्त्री श्रेष्ठको आश्वासन


काठमाडौं । केही समय अगाडि मात्र अस्पतालबाट उपचार गरेर फर्किएका शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशीले चक्रसंवर पौभा निर्माण गर्ने अन्तिम इच्छा रहेको व्यक्त गरेका छन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई घरमै निमन्त्रणा गरेर चक्रसंवर पौभा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् । नेपालको कला र संस्कृति झल्किने चक्रसंवर पौभा निर्माण गर्ने शताब्दी पुरूष जोशीको इच्छा पूरा गरिदिने संस्कृतिमन्त्री श्रेष्ठले आश्वासन दिएका छन् । चक्रसंवर पौभा निर्माणको प्रस्ताव ग्रहण गर्दै उनले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले उक्त प्रस्तावलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

चक्रसंवर पौभा निर्माण गरेर यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिने उल्लेख गर्दै शताब्दी पुरूष जोशीले यो कार्यले देशकै इज्जत बढाउने सुनाए ।   जोशीको अन्तिम इच्छा अनुरूप सङ्ग्रहालयमा यसै आर्थिक वर्षभित्र चक्रसंवर पौभा  निर्माण गर्न भूमिका खेल्ने संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

‘शताब्दी पुरुष डा. सत्यमोहन जोशीको आग्रह बमोजिम  ललितपुर जिल्ला, ललितपुर महानगरपालिका मङ्गलबजारस्थित रहेको निवासमा (जुन निवाास उनको मृत्यु पश्चात लोकसाहित्य परिषद्लाई हस्तान्तरण गरिएको छ) गएको हुँ ।  उनको अन्तिम ईच्छा अनुरूप चक्रसंवर पौभा निर्माण गरि दिन गरिएको आग्रह बमोजिम अवलोकन गर्न एवं छलफल गर्न  पुगेको हुँ । उक्त काममा लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’, संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले स्वास्थ्य लाइभसँग भने ।

पौभामा विशेषतः बौद्ध आस्था र हिन्दू देवीदेवताका जीवनी र लीला कोरिन्छ । चक्रसंवर पौभामार्फत नेपालको कला विश्वभर चिनाउन लागिपरेका शताब्दी पुरूष जोशीले मन्त्री श्रेष्ठको सहयोग खोजेका हुन् । झन्डै ४३ लाख बजेटमा विश्व सम्पदा सूचीमै पार्न सक्ने गरी चक्रसंवर पौभा निर्माण गर्न सकिने जोशीको भनाइ छ ।

 सहस्राब्दीभन्दा पुरानो पौभा चित्रकला अभ्यासमा बाँकी रहेका थोरै मात्रै सिद्ध कलाकारहरूमध्ये लोक चित्रकर एक हुन् । चित्रकारका कृतिहरु विश्वभरका सङ्ग्रहालय र ग्यालेरी हरुमा सजाइएका छन् । विगत दुई दशकदेखि सत्यमोहन जोशी पौभा चित्रकारहरूको नयाँ पुस्तालाई प्रशिक्षण दिने र नेपालमा पौभा अभ्यासको ज्ञान फैलाउने काममा लागिपरेका छन् । सत्यमोहन जोशीको नेपालमा पौभा अभ्यासको ज्ञान फैलाउने र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने काममा संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले पनि भूमिका खेल्ने विश्वास दिलाएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चक्रसंवर पौभा, #शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशी, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com