स्वास्थ्य मन्त्रालय भत्काउछु भन्ने केशव स्थापितलाई एमालेले दियो काठमाडौं महानगरको मेयरमा टिकट


काठमाडौं ।  स्वास्थ्य मन्त्रालय भत्काउछु भन्ने केशव स्थापित एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवार भएका छन् । हिजै बसेको एमालेको सचिवालय बैठकले उनलाई काठमाडौं महानगरपालिकाको मेयरमा टिकट दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउने उद्‌घोष गरेका केशव स्थापित फेरि काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन् । नेकपा एमालेका नेता एवं बागमती प्रदेशमा प्रदेशसभा सदस्य स्थापितले काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीले अघि सारेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आज र भोलि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई मेयरमा अघि सारेपछि एमालेले स्थापितलाई मेयरको टिकट दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सबैभन्दा माथिल्लो तला अवैध रहेको स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि केशव स्थापितले आफू मेयर भएपछि उक्त अवैध संरचना भत्काउने उद्घोष गरेका थिए । ‘स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउन खोजेको हुँ, फेरि मेयर भएर भत्काउछु’, स्थापित स्वास्थ्य लाइभसँग भनेका थिए । सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) भन्ने संस्थाले अदालतमा मुद्दा हालेकाले स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउने योजना अधुरै रहेको सुनाउँदै फेरि मेयर बनेर स्वास्थ्य मन्त्रालयलको अवैध संरचना भत्काएर छाड्ने उनको उद्‌घोष थियो ।

स्वास्थ्य मन्त्रालयको अवैधानिक १४ कोठामा मन्त्रालयको कामकाज र एनएचएसएसपीको बसोबास रहेको तथ्य स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ । उक्त अवैध रुपमा खडा भएको ठाउँ स्वास्थ्य क्षेत्रका आइएनजिओ माफिया भनेर परिचित सुशील बराल, कृष्णप्रसाद शर्मा, सुरेश तिवारीलगायत संलग्न रहेको संस्था एनएचएसएसपीको कब्जामा रहेको छ ।

आइएनजिओ माफियाहरुको चंगुलमा परेका स्वास्थ्यका दलाल कर्मचारीले मन्त्रालयमा अवैध रुपमा बसेका आइएनजिओ माफियाहरुलाई त्यहाँबाट हटाउन सक्ने हिम्मत गरेका छैनन् । देशको हितभन्दा एनजिओ/आइएनजिओको हितमा काम गर्ने स्वास्थ्यका कर्मचारी एनएचएसएसपीलाई अनधिकृत मन्त्रालय कब्जा गराएर बसेका छन् । गाँजा अभियान्ता स्वास्थ्यमन्त्री विरोध खतिवडाको ध्यान मन्त्रालयमाभन्दा गाँजामा केन्द्रित हुँदा आइएनजिओ माफियाहरुको स्वास्थ्य मन्त्रालयमा रजाइँ चलेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अवैध संरचना, #एनएचएसएसपी, #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #मेयर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य मन्त्रालय भत्काउने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com