मुटु रोगीले पनि गर्न सक्ने जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर

१९ सय तिरेर मकवानपुर गढीमा सेल्फीसहित जीपलाईनमा यात्रा गर्न सकिने


काठमाडौं । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए ।

साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश सरकारले विशेष ध्यान दिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । मकवानपुर गढी जीपलाईन चढ्दै उनले यो क्षेत्रमा पर्यटकीय सम्भावनाहरुको चर्चा गरेका छन् । ढुङ्गे गढी नजिकबाट सुरु भएको जीपलाइन यात्रा  मकवानपुर गढी गएर टुङ्गिन्छ । एक किलोमिटर भन्दा बढी दूरी रहेको जीपलाइनको मज्जा लिँदै पर्यटनमन्त्री श्रेष्ठले साहसिक पर्यटनको प्रवर्द्धन गरेका हुन् ।

मुटु रोगीले पनि गर्न सक्ने जीपलाईन नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने महत्त्वपूर्ण माध्यम भएको पर्यटनमन्त्री श्रेष्ठको तर्क छ । मकवानपुरगढी जीपलाईन तथा होटल गढी भ्यु एण्ड रिसोर्ट जीपलाईन दिलिप घिमिरेका अनुसार जीपलाईनले बागमती प्रदेशको राजधानी मकवानपुरको पर्यटन प्रवर्द्धन विशेष भूमिका खेलेको छ । मुटुका रोगीले पनि सहजै गर्न सक्ने जीपलाईन साहसिक पर्यटन र खेलकुदको महत्त्वपूर्ण आधार रहेको सुनाए । जम्मा १९ सय रुपैयाँ तिरेर सेल्फीसहित जीपलाईनमा यात्रा गर्न सकिने सञ्चालक घिमिरेको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलीखेलमा जीपलाईन चढेपछि त्यो ठाउँमा जीपलाईन चढ्नेको घुईँचो लागेको थियो । पर्यटनमन्त्री श्रेष्ठले जीपलाईनको यात्रा गरेपछि यो क्षेत्रमा पनि पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ । जीपलाईन सञ्चालन घिमिरेले ३० प्रतिशत छुटमा अहिले जीपलाईनको यात्रा गर्न सकिने बताउँदै यस्ता साहसिक खेलमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #जीपलाईन, #बागमती प्रदेश, #मकवानपुर गढी, #मकवानपुरगढी जीपलाईन सञ्चालक दिलिप घिमिरे, #मुटु रोगी, #संस्कृति तथा पर्यटनमन्त्री, #साहसिक खेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com