वीपी प्रतिष्ठान धरासयी बनाउने मञ्जु भण्डारीलाई धराने जनताले देखाइदिए

किर्ते प्राध्यापक उपकुलपति बर्खास्त गर्न आलटाल गर्ने कांग्रेसलाई पनि नसिहत


समाचार टिप्पणी 

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बोकेर प्रतिष्ठान धरासायी बनाउन भूमिका खेल्ने मञ्जु भण्डारीलाई धराने जनताले देखाइदिएका छन् ।

धरान उपमहानगरपालिकाको उपमेयर समेत रहेकी भण्डारीलाई एमालेको गढ धरानमा मेयर उठ्दा तेस्रो स्थानमा पुर्‍याएर भण्डारीलाई धराने जनताले देखाइदिएका हुन् । वीपी प्रतिष्ठान डुबाउन लागिपरेका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीलाई हटाउन आलटाल गर्ने नेपाली कांग्रेसलाई पनि धराने जनताले नसिहत दिएका छन् ।

धराने जनताले वीपी प्रतिष्ठान डुबाउन लागिपरेका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीको पक्षमा खुलेर लागेकी एमालेबाट मेयरमा उठेकी उम्मेदवार भण्डारीलाई धरानको १२ हजार ८२५ मतका साथ तेस्रो स्थानमा सीमित गरिदिएका हुन् ।

धराने जनताले धरान उपमहानगरपालिकाको मेयरका कांग्रेसका उम्मेदवार किशोर राईलाईभन्दा ४ हजार  ७६२ बढी मत दिएर वीपी प्रतिष्ठान सुधारका अभियान्ता हर्क साम्पाङलाई चुनेका छन् । कांग्रेसका राईले  १६ हजार ५९ मत ल्याउँदा साम्पाङले २० हजार ८२१ मत ल्याएर धरानको मेयरमा बनेका छन् । वीपी प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) सदस्य समेत रहेकी एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने १२ हजार ८२५ मत ल्याएर लजास्पद हार बेहोरेकी छिन् । मेयरमा निर्वाचित साम्पाङ र भण्डारीले ल्याएको मतको अन्तर ८ हजार ९९६ रहेको छ ।

वीपी प्रतिष्ठान धरासायी बनाउने किर्ते प्राध्यापक उपकुलपति डा. गिरीकोविरूद्ध खुलेर लागेका साम्पाङलाई मेयरमा जिताएर धराने जनताले एमाले- कांग्रेसलाई चक्मा खुवाइदिएका छन् ।

विवादस्पद उपकुलपति बोकेर हिँड्ने एमालेकी मञ्जु भण्डारीलाई देखाइदिएका धराने जनताले ती उपकुलपतिलाई हटाएर वीपी प्रतिष्ठानको समस्या समाधान गर्न आलटाल गर्ने कांग्रेसलाई समेत नसिहत दिएका हुन् । धरान उपमहानगरपालिकाको मेयर वीपीको सिनेटमा पदेन सदस्य रहने व्यवस्था छ ।

घोपा क्याम्प बचाउ अभियान, सर्दु जलधार क्षेत्र संरक्षण, धरान खानेपानीदेखि सर्दु खोलामा अवैध उत्खनन् लगायतका मुद्दामा डटेर लागेका साम्पाङलाई धराने जनताले मेयरको भूमिकामा स्थापित गरिदिएका छन् ।

वीपी प्रतिष्ठान डुबाउन भण्डारीको बदमासी 

वीपी प्रतिष्ठानको कानुन अनुसार वीपी प्रतिष्ठानले सञ्चालक परिषद्(सिनेट) सदस्यमा प्रतिष्ठित विद्वान, समाजसेवी, उद्योगपति तथा व्यापारीमध्येबाट कार्यकारिणी समितिको सिफारिसमा सहकुलपतिले मनोनित गरेका बढीमा दुई जना सदस्य रहने व्यवस्था छ । किर्ते प्राध्यापक गिरीले वीपी प्रतिष्ठानलाई तहसनहस बनाउन उक्त कोटा दुरुपयोग गर्दै धरानकी उपमेयर समेत रहेकी मञ्जु भण्डारीलाई सिनेट सदस्यमा मनोनित गरेका थिए । एमालेको तर्फबाट स्वास्थ्यमन्त्री बनेका भानुभक्त ढकाललाई फकाएर कोटा दुरुपयोग गरी भण्डारीलाई गिरीले सिनेट सदस्य बनाएका थिए । त्यसपछि वीपी प्रतिष्ठान डुबाउने खेलमा लागेका गिरीको साथमा निरन्तर उनी उभिइन् ।

कोभिड-१९ को तीव्र संक्रमण र लकडाउनको बेला काठमाडौंको पार्क भिलेजमा सिनेट बैठक राखेर वीपी प्रतिष्ठान डुबाएर बिएण्डसीलाई उकास्ने ‘ग्राइन डिजाइन’मा मञ्जु भण्डारीलाई विशेष जिम्मेवारी दिने काम भएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको वीपी प्रतिष्ठानको ४४ औं सिनेट बैठकले झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने उद्देश्यले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरणका गर्न कार्यदल बनाएको थियो । वीपी प्रतिष्ठानका उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा गठित वीपी प्रतिष्ठानलाई थप विकास, विस्तार, विशिष्टीकृत गर्न विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्ने उक्त कार्यदलमा आयल निगम र मध्यपश्चिम विश्वविद्यालयमा हुँदा निकै विवादमा आएका उपेन्द्र कोइराला, धरानकी तत्कालीन उपमेयर मञ्जु भण्डारी, मोहनचन्द्र रेग्मी, मधुर भट्टराई, बालकृष्ण भट्टराईलगायत सदस्य रहेको थिए ।

उक्त सिनेट बैठकबाट वीपी प्रतिष्ठानको जग्गा व्यापारी चेतन अग्रवाल, सम्राट श्रेष्ठलगायतलाई लिजमा दिन खोजिएको थियो । स्वास्थ्यमन्त्री ढकाल, उपकुलपति गिरी र भण्डारी उक्त कुरामा खुलेर लागेका थिए ।

सिनेटबाट स्वीकृत गराउँनका लागि तयार पारेको प्रस्तावमा प्रतिष्ठानको स्वामित्वमा भएको सुनसरीको धरानस्थित छाताचौकको जग्गा, मोरङ जिल्लाको सुन्दरहरैचौकस्थित रहेको जग्गा काठमाडौं र भक्तपुर जिल्लामा रहेको जग्गा र चल अचल सम्पत्तिमा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रसमेतको लगानीको माध्यमबाट नवीन प्रविधि, गुणस्तरीय सेवा, व्यवस्थापकीय कुशलता एवं लगानीमैत्री वातावरण निर्माण गर्दै प्रतिष्ठानको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन निजी क्षेत्रसँग साझेदारी गर्ने भनिएको थियो । व्यापारीहरुलाई प्रतिष्ठानको जग्गा उपभोग गर्न दिने उद्देश्यले सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपकुलपति ज्ञानेन्द्र गिरीले उक्त प्रस्ताव तयार गरेका थिए । अबौं रुपैयाँको जग्गा केही व्यापारीहरुसँगको मिलेमतोमा कौडीको भाउमा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारीको नाम दिइएको भन्दै  चौतर्फी विरोध भएपछि  उनीहरू पछाडि हट्न बाध्य भएका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि शुद्धिकरणको आन्दोलन चलिरहेको छ । धरानलाई मृत शहर (डेथ सिटी)बाट माथि ल्याउने वीपी प्रतिष्ठानलाई धरासायी बनाउने पदाधिकारीहरुलाई समर्थन गर्ने भण्डारीलाई धरान जनताले देखाइदिएका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धरानमा वीपी प्रतिष्ठान नलगेको भए धरान अहिलेको जस्तो अवस्थामा रहँदैन थियो । वीपी प्रतिष्ठानकै कारण माथि उठेको धरान प्रतिष्ठानकै कारण डुब्ने खतरामा पुगेपछि धराने जनताले ब्यालेटमार्फत रियाक्सन देखाएका छन् ।

वीपी प्रतिष्ठान डुबाउन खोज्ने एमालेकी मञ्जु भण्डारीलाई धराने जनताले ब्यालेटमार्फत देखाइदिएपछि वीपी प्रतिष्ठान बचाउन नलाग्नेहरुको पनि यस्तै हालत हुने देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विचार, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #मञ्जु भण्डारी, #हर्क साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com