स्वास्थ्यमा बेथिति

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा घर बनाउनेलाई मेडिकल उपकरण खरिदको जिम्मा दिने तयारी


काठमाडौं । भवन बनाउने कम्पनीलाई मेडिकल उपकरण खरिदको जिम्मा दिएर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नमूना काम गर्न लागेको छ । आर्थिक चलखेलमा प्रतिष्ठानले यस्तो कदम चालेको अधिकारीहरु बताउँछन् ।

गैरकानुनी रुपमा भवन बनाउनेलेनै मेडिकल उपकरण खरिद गर्ने भन्दै एक अरब बढीको मेडिकल उपकरण एउटा मात्रै कम्पनीलाई मिल्नेगरी खरिद गर्न लागेको हो । स्वास्थ्य लाइभलाई उपलब्ध डकुमेन्ट अनुसार १ अबर २७ करोड रुपैयाँमा भवन र उपकरण खरिद गर्न टेन्डर गरिएको छ । प्रतिष्ठानका अनुसार अंकोलोजी र कार्डियोलोजी भवन समेत उक्त रकम भित्र बनाइनेछ । यो सेटिङ
स्वास्थ्यमा मेडिकल उपकरण खरिद गर्दै आएका माफिया विशाल पण्डितलाई हुनेगरी मिलाइएको छ ।

एक अधिकारीले भने, ९० प्रतिशत मेडिकल उपकरण खरिदका लागि १० प्रतिशत कन्स्ट्रक्सनलाई इपिसी मोडलमा लगेर जोडिएको छ । गज्जब त सिभिलको ठेकेदारलाई मेडिकल उपकरण खरिद गर्न जिम्मा दिने भएको छ । यो कार्य विशाल पण्डितलाई लक्षित गरेर ल्याइएको हो । नेपालमा फरक-फरक कम्पनीका उपकरण प्रयोगमा छन् । प्रतिष्ठान आफैले खुलाएको टेन्डरमा पनि अंकोलोजीमा फरक-फरक कम्पनीका उपकरण राखिएको छ । कुनै नेदरल्याण्ड्सको कम्पनीले बनाउने छन् भने कुनै स्विडेनका छन् ।

क्यान्सरको लिनियर एक्सिलेरेटर इलेक्टा कपनी स्विडेनको हो । ब्राकीथेरापी इलेक्टा कपनी स्विडेनको हो । सिटी सिमुलेटर फिलिप्स कम्पनी नेदरल्याण्डको हो । ‘यी कम्पनीको अथोराइज्ड डिलर नै विशाल पण्डितको कम्पनी हो’, एक अधिकारी भन्छन् ।

यि उपकरणहरु नेपालमा अन्य कम्पनीका पनि चलेका छन् । जस्तै लिनियर एक्सिलिलेटर भेरियन कम्पनी, अमेरिकाको, एक्युरे कम्पनी अमेरिकाकै हो । यो बाहेक ब्रेकी पनि भेरियन र बेबिग कम्पनीको पनि नेपालमा चलेको छन् । प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद कुमार यादवका अनुसार भवन निर्माण र उपकरण खरिद एउटै कम्पनीलाई दिन लागिएको हो । उपकरणको व्यवस्थापन सहज हुने भएकाले एउटैलाई मिल्नेगरी स्पेक तयार पारिएको उनले बताए । त्यसैले अन्य कम्पनीहरु प्रतिस्पर्धाबाट बाहिर हुने छन् । टेन्डर गर्दा फरक-फरक कम्पनीका सामान छुट्याएर गर्नु पर्नेमा अरुलाई आउने नदिने हिसाबले एउटैले सबै ल्याउने गरी खुलाइएको हो । उक्त कुरालाई रजिष्ट्रार डा. यादवले पनि स्वीकार गरेका छन् ।


प्रतिष्ठानका अनुसार घर बनाउने काम र मेडिकल उपकरण खरिद गर्ने काम एउटैबाट गर्नेगरि टेन्डर निकालिएको हो । ‘कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयले एक गलैचा ब्यापार गर्दै आएको ओम्नीलाई सेटिङ् मिलाएर स्वास्थ्यसामग्री खरिद गर्ने जिम्मा दिएको थियो प्रतिष्ठानका एक कर्मचारीले भने, ‘अहिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले घर बनाउने ठेकदार तयार पारेर उसैलाई महत्वर्ण मेडिकल उपकरण समेत ल्याउन जिम्मा दिन लागेको छ ।’

स्रोतका अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयार पारेको स्पेकमा उपकरणका सबै लिष्ट हस्पिटेक इन्टर प्राइजेजको कपी पेस्ट हरेको छ । प्रतिष्ठानका रजिस्ट्रार डा. यादवले खरिद सम्बन्धी डकुमेन्टमा सही गरेर अगाडि बढाएका छन् । आर्थिक लोभमा यादवले नीतिगत भ्रष्टाचारको बाटो रोजेको अधिकारीहरु बताउँछन् ।

‘ई.पी.सी.’माध्यमबाट खरिद गर्ने खेल
रजिस्ट्रार डा यादवले उपकरण खरिद प्रक्रियामा एउटै ब्यक्तिलाई मात्र दुवै काम गर्नेगरि ‘ई.पी.सी.’ माध्यमबाट खरिद गर्ने सम्बन्धी निर्देशिका २०७८ अपनाएका छन् । अधिकारीहरु ‘ई.पी.सी.’ माध्यमबाट खरिद गर्नु गैरकानुनी भएको तर्क गर्छन् ।

‘ई.पी.सी.’ भन्नाले निमार्ण सम्बन्धी आयोजनाको डिजाईन सहित ईन्जिनियरिङ्ग, खरिद तथानिर्माण चरणकाकार्यहरु तथा आवश्यकता अनुसार निर्धारित अवधिकालागि गर्नुपर्ने मर्मत सम्भार र संचालन समेत निर्माण व्यवसायीबाट गराउने माध्यम हो ।

‘ई.पी.सी.’ निर्देशिका अनुसार खरिद गर्न सकिने भनेको सार्वजनिक निकायले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने सुरुङ्ग, सुरुङ्ग मार्ग वा फ्लाई ओभर जस्ता संरचना तयार गरी निर्माण गरिने सडक, सिंचाई, खानेपानी, जलविद्युत वा प्राविधिक रुपमा जटिल प्रकृतिको पुल जस्ता पूर्वाधार निर्माण सम्बन्धी आयोजना हुन् । यता विमानस्थल, रंगशाला, सभागृह जस्ता भौतिक संरचना निर्माण सम्बन्धी आयोजना पनि ‘ई.पी.सी.’ भित्र पर्छन् । पूर्वनिर्धारित जटिल प्लान्ट जडान गर्नु पर्ने फोहोर व्यवस्थापन आयोजना प्रशोधन केन्द्र वा त्यस्तै प्रकृतिका अन्य आयोजना पनि ‘ई.पी.सी.’ खरिदभित्र पर्छन् ।

ई.पी.सी. माध्यमबाट खरिद गर्ने सम्बन्धी निर्देशिका २०७८ ले स्पष्ट रुपमा गर्न पाउने विषय उल्लेख गरेको छ । तर, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र घर बनाउने ठेकदारको मिलेमतोमा मेडिकल उपकरण खरिद प्रक्रिया अगाडी बढाइएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. यादव घर फरक व्यक्तिले बनाउने र मेडिकल उपकरण फरक व्यक्तिले ल्याउदा उचित व्यवस्थापन गर्न नसकिने भएकाले एउटैले ल्याउन मिल्नेगरी खरिद प्रक्रिया अगाडी बढाएको बताउँछन् ।

एक अधिकारीले भने, ‘ई.पी.सी.मा निर्माण सम्बन्धी काम गर्ने ठेकदारले स्वास्थ्य उपकरण खरिद गर्ने भनेर टेन्डर निकालिएको छ । ९५ प्रतिशत मेडिकल उपकरण भएको ठेक्कामा ५ प्रतिशत निमार्णको काम गर्नेलाई दिने योजना अनुसार प्रक्रिया अगाडी बढाएको छ । त्यसकालागि भवन र उपकरण खरिदमा एउटैलाई मिल्नेगरी स्पेक तयार पारिएको हो ।’,

‘सुनेको भरमा ‘ई.पी.सी.’माध्यमबाट खरिद गर्न खोजेको हुँ’,

डा. कुमार यादव, रजिस्ट्रार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनका लागि अहिलेसम्म कुनै काम भएको छैन । घर निर्माणका लागि पनि कुनै काम अगाडी बढेको छैन । तर, पनि हामीले मेडिकल उपकरणको खरिद प्रक्रिया चै भवन बनाउनु भन्दा पहिला नै गरौं भनेर टेन्डर निकालेका छौं । टेन्डरको समय अब तीन दिन मात्रै बाँकी रहेको छ ।

‘ई.पी.सी.’माध्यमबाट खरिद गर्ने सम्बन्धी निर्देशिका २०७८ अनुसार टेन्डर खुलाएका छौं । घर बनाउने र मेडिकल उपकरण ल्याउने काम यो निर्देशिका अनुसार हुदैन भने टेन्डर खारेज गर्दिन्छु । ‘ई.पी.सी.’माध्यमबाट खरिद गर्ने सम्बन्धी निर्देशिका २०७८ मैले पनि हेर्न पाएको छैन सुनेका आधारमा यही मोडेल अपनाएर टेन्डर खुलाएको हुँ । हामी नयाँ पदाधिकारी हौं । छिटो भन्दा छिटो होस् भनेर यो ‘ई.पी.सी.’ मोडेल अपनाएका हौं । त्यही भएर दुई वर्ष भित्र सबै काम सक्नेगरि टेन्डर खुलाइएको हो । अहिले साथिहरुसँग बुझिरहेको छु कसैले पनि स्पष्ट उत्तर दिन सकेका छैनन् ।

भवन नबनाई उपकरण आउँदैन । एउटै मान्छेले भवन पनि बनाउँछ र उपकरण पनि ल्याउछ । घर एउटाले बनाएर मिसिन अर्कोले ल्याउँदा राख्न नमिल्ने कोठा भएको खण्डमा कसले जिम्मा लिन्छ ? त्यही भएर सबै उपकरण खरिद र भवन निर्माण एउटालाई मात्रै होस भनेर खरिद प्रक्रिया अगाडि बढाएका हौं ।

क्याटेगोरी : समाचार
ट्याग : ##टेन्डर, ##मेडिकल उपकरण, ##विशाल पण्डित, #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com