बाँदरमा देखिएको झाडापखालाको ब्याक्टेरिया मानिसमा पनि, काठमाडौंमा झाडापखाला फैलियो


काठमाडौं । दुई हप्ताभन्दा बढी समयदेखि राजधानीमा जम्मा भएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् । बर्खाको समयमा सडक पेटिमा जम्मा भएको फोहोर बिग्रिएर दुषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको छ ।

नेपालको एक मात्रै सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औषतमा १० जना बिरामी झाडापखालाका अस्पताल पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिन प्रतिदिन बिरामी बढ्न थालेको बताए । अहिले अस्पतालमा उपचार गर्न पुगेका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका भएको गौतमले बताए ।

अघिल्ला तीन वर्ष कोरोनाले गर्दा झाडापखालाका बिरामी हेरिएको थिएन । तर, यस वर्ष जेठमै केस ह्वात्तै बढेको छ । अस्पतालको रेकर्ड अनुसार जेठमा ८४ जना सर्पले टोकेका बिरामीले सेवा लिएका छन् भने १२९ जना झाडापखालाका छन् । सूचना अधिकारी गौतमका अनुसार अस्पताल बुधबार ३० जना बिरामी भर्ना भएकोमा ८ जना झाडापखालाका छन् । यो संख्या विगतमाभन्दा धेरै रहेको गौतमको भनाइ छ ।

राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवारोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार राजधानीबाट उपचारका लागि झाडापखालाका बिरामी आइरहेका छन् । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्’, डा. पुनले भने ।

झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरुले बताएका छन् । अहिले लागेको झाडापखाला नयाँ प्रकारको देखिन्छ । चिकित्सकहरुले भनेका छन्, ‘जीवाणु नदेखिएपछि लक्षणका आधारमा उपचार गरिएको छ । सचेत नभए यो खतरापूर्ण पनि हुन सक्छ ।’, चिकित्सकका अनुसार सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दुषित पानी बगिरहेको र उक्त पानी फलफुल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्छ ।

झाडापखालाको नयाँ ब्याक्टेरिया पुष्टि

नेपालमा भएको अध्ययनले बाँदर र मानिसमा झडापखाला लगाउने ब्याक्टेरिया एउटै भएको पत्ता लागेको छ । सन् २०१७ देखि २०१९ सम्म नेपालको पशुपति र स्वयम्भूका बाँदरमा गरिएको अध्ययनले मानिस र बाँदरमा झाडापखाला लगाउने ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पुष्टि भएको थियो । उक्त समयमा झाडापखाला लागेर बाँदर बिरामी परेपछि अध्ययन गरिएको थियो तर, त्यसको नतिजाले हालै पूर्णता पाएको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको अनुसन्धानबाट यस्तो ब्याक्टेरिया पत्ता लागेको हो । सोही समयमा राजधानीको सिवेक अस्पतालले स्वयम्भूमा घुम्न आएका विदेशी नागरिकमा पनि अनुसन्धान गरेको थियो । झाडापखाला लागेका केही पर्यटकको दिसाको नमूना परीक्षण गर्दा बाँदरमा देखिएको ‘क्याम्पलो ब्याक्टर’ नै पुष्टि भएको थियो ।

अनुसन्धान गर्ने सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले ११० वटा झाडापखाला लागेका बाँदरको नमुना परिक्षण गरेको थियो । झाडापखाला लागेका बाँदर मध्ये ६४ वटामा क्याम्पलो ब्याक्टर नामक ब्याक्टेरिया पुष्टि भएको थियो । ‘क्याम्पलो ब्याक्टर’ को डिएनए र जिनोमिक्स परीक्षण गर्दा दुई वटा नयाँ ब्याक्टेरिया पत्ता लागेको अनुसन्धान कर्ता वैज्ञानिक डा. दिवेस कर्माचार्याले बताए ।

एउटाको नामाकरण ‘क्यान्दिदा क्याम्पाइलोबाक्टर ईन्फान्ट्रस’ गरिएको छ, जुन नेदरल्याण्डमा नेपाल भन्दा अगाडि पुष्टि भएको थियो तर, अर्को नयाँ भने विश्वमा पहिलोपटक भएकाले यसको नामाकरण गरिसकिएको छैन’, कर्मचार्यले भने । सन् २०१८ मा बालबालिका र बृद्धमा झाडापखाला लगाउने मुख्य कारण क्याम्पलो ब्याक्टर बनेको थियो । डा. कर्मचार्य भन्छन्, ‘स्वयम्भू र पशुपतिका बाँदर र मानिसहरुको सम्पर्क निकै नजिक छ । खान दिने र खेलाउने हुँदा यस्तो ब्याक्टेरिया सर्न सक्ने सम्भावना धेरै छ ।’, अझ केही हप्तादेखि राजधानीको फोहोर उठेको छैन । यस्ता ब्याक्टेरिया यी फोहोरमा ब्यापक हुन सक्ने चिकित्सक बताउँछन् । फोहोरबाट निस्किएको दुषित पानी खानेपानीमा मिसिएर यस्तो ब्याक्टेरिया शरीरमा प्रवेश गरी झाडापखाला लगाउँछ ।

सरुवा रोग विज्ञ ता पुर्व रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी राजधानीको फोहोरले झाडापखालाका बिरामी बढ्न थालेको बताउँछन् । अझ अहिले निरन्तर पानी परेकाले फोहोर तितर वितर भएको छ । खानेपानीमा यसको फोहोर मिसिने भएकाले मानिसहरुमा झाडापखाला बढाएको छ । समयमा यसको ब्यवस्थापन गर्न नसकेको खण्डमा यसले हैजाको महामारी निम्त्यिाउने छ । फोहोरले ठुलो दुर्घटना निम्त्याउने डा. मरासिनी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको पुर्व तयारी थालेको छैन । अस्पतालमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । सडकमा हिँडिनसक्नु फोहोर छ । उयसले जनस्वास्थ्यमा पार्ने गम्भी असर र यसबाट जोगिने उपायका बारेमा स्वास्थ्य मन्त्रालय मौन बसेको छ । स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास सरकारको कुनै तयारी नभएको बताउँछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दिवेश कर्मचार्य, #बाँदर, #ब्याक्टेरिया, #भाडापखला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ