बेलायतमा तत्काल २ हजार नर्स पठाउने सरकारको तयारी


काठमाडौं । सरकारले मित्र राष्ट्र बेलायतमा तत्काल २ हजार नर्स पठाउने गरी तयारी थालेको छ । नेपाली नर्सलाई बेलायतमा रोजगारी विषयको मोडालिटी तयार पार्न गठित दुईदेशीय कार्यदलले मस्यौदा तयार पारिसकेकाले तत्काल २ हजार नर्स बेलायत पठाउने तयारी गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ र बेलायती राजदूत निकोला पोलिटबीच भएको शिष्टाचार भेटवार्तामा श्रम समझदारी गरेर नेपाली नर्स बेलायत लाने कुरा भएको छ । भेटवार्तामा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर गरेर बाटो खुला गर्ने सहमति भएको छ । पहिलो चरणमा दुईहजार नर्सलाई बेलायत लाने गरी तयारी भइरहेको श्रम मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बेलायतमा नेपाली नर्स पठाउन दुबै देशका प्रतिनिधि सम्मिलित मोडलिटी तयार पार्ने कार्यदलले मस्यौदा तयार पारिसकेकाले एकहप्ताभित्रै समझदारी हुने श्रममन्त्री श्रेष्ठको विश्वास छ । नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याब टेक्निसियनहरुलाई पनि बेलायतमा रोजगारीका लागि सहजिकरण गरिदिन मन्त्री श्रेष्ठले बेलायती राजदूत निकोलालाई अनुरोध गरेका छन् ।

शिष्टाचार भेटमा तनहुँमा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माणका लागि सहयोग गरिदिन पनि  श्रममन्त्री श्रेष्ठले बेलायती राजदूतसमक्ष प्रस्ताव राखेका छन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com