४६ युवा चिकित्सकको टिमसहित डा. लोचन कार्की भारत प्रस्थान


काठमाडौं । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको नेतृत्वमा संघका पदाधिकारी र ४६ युवा चिकित्सक भारत प्रस्थान गरेका छन् ।

भारतको चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई)मा क्षमता अभिवृद्ध तालिममा सहभागी हुन् ४६ चिकित्सकसहित चिकित्सक संघका पदाधिकारीहरू त्यता प्रस्थान गरेका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की, उपाध्यक्ष अनिल बिक्रम कार्की, महासचिव डा. बद्री रिजालसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली हुँदै चण्डीगढ जान लागेको हो । उनीहरू अहिले विमानमार्फत दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार एकहप्ते नेतृत्व विकास (लिडरसीप डेभलपमेन्ट) र क्षमता अभिवृद्ध कार्यक्रम( क्यापासिटी विल्डिङ प्रोग्राम)मा पहिलोपटक ४६ चिकित्सक पीजीआई चण्डीगढ प्रस्थान गरेका छन् ।नेपाल चिकित्सक संघ(एनएमए) र नेपालस्थित भारतीय दूतावासमार्फत पीजीआई चण्डीगढसँग भएको सम्झौता बमोजिम आडा ४६ जना युवा डाक्टर भारत लगिएको अध्यक्ष डा. कार्कीले बताए । विधा अनुसारको तालिम लिन नेपालबाट लगातार चिकित्सकहरु भारत पठाउने उनको भनाइ छ ।

भारतीय दूतावास अन्तर्गत रहेको आईटेक भन्ने कार्यक्रम छ । आईटेकले, चिकित्सा, कानुन, इन्जिनियरिङ लगायतका विषयमा तालिम दिन्छ । आईटेक र मेडिकल एसोसिएसनबीच नेपालका युवा चिकित्सकहरुलाई विभिन्न विधामा आवश्यकता अनुसार तालिम पठाउने सम्झौता भएको छ’, अध्यक्ष डा. कार्कीले भने, कोभिडको कारण यो काम हुन सकेका थिएन । अब हाम्रो आवश्यकता अनुसार निरन्तर डाक्टरहरु भारत पठाइन्छ ।’,

२५ वर्षदेखि ४५ वर्षसम्मका युवा डाक्टरहरु उक्त तालिममा सहभागी हुन पाउने डा. कार्कीले जानकारी दिए । एकहप्ते, दुईहप्ते, एक महिने, तीनमहिने विभिन्न खाले तालिम दिन नेपालबाट १५ सय चिकित्सक लाने कुराकानी भइरहेको उनको भनाइ छ ।

नेपालबाट भारतको नयाँदिल्ली हुँदै चण्डीगढसम्म पुर्‍याउने, विभिन्न अस्पताल घुमाउने सबै व्यवस्था भारतीय सरकारले गर्ने बताउँदै डा. कार्कीले यसलाई ठूलो उपलब्धिका रुपमा लिएका छन् । यो सकिएलगत्तै ५० जना युवा चिकित्सकहरु फेरि यस्तै प्रकृतिको तालिम लिन भारत लगिएको उनले बताए । चण्डीगढ, एम्स जस्ता ख्याति प्राप्त संस्थामा लगेर नेपाली युवा चिकित्सकलाई भारतीय सरकारले नेपालको आवश्यकता र माग अनुसारको तालिम दिने अध्यक्ष डा. कार्कीको भनाइ छ । यो लाने क्रम निरन्तर चलिरहने उनले स्पष्ट पारे ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com