भगवान कोइरालाको बाल अस्पताल भवन बनाउन काठमाडौं महानगरद्वारा ४ करोड अनुदान


काठमाडौं । वरिष्ठ चिकित्सक भगवान कोइराला नेतृत्वको बाल अस्पताल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड अनुदान दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएका छन् । उक्त नीति तथा कार्यक्रममा नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख छ ।

बाल अस्पतालको भवन निर्माणका लागि ४ करोड अनुदान दिनेगरी काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थकातर्फबाट अध्यक्ष डा. भगवान कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली र बाल अस्पताल अध्यक्ष डा. कोइरालाबीच बाल अस्पताल भवन बनाउन अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई निरन्तरता दिँदै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले नीति तथा कार्यक्रममार्फत बाल अस्पताल भवन निर्माणका लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए  ।

त्यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन निर्माणको लागि ५ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको मेयर साहले बताए । काठमाडौं महानगरपालिकाले मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणको लागि ५ करोड अनुदान दिएको छ । सरकारबाट अनुदान लिँदै आएको उक्त  कलेजले शिक्षामा चर्को व्यापार गर्दै आएको छ । विद्यार्थीसँग महँगो शुल्क लिने काठमाडौंको अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजले भवन बनाउनका लागि काठमाडौं महानगरपालिकाबाट ५ करोड आर्थिक सहयोग पाएको हो ।

वीपी कोइराला मेमोरियल ट्रष्टको अनुसन्धान केन्द्र भवन निर्माणको लागि पनि काठमाडौं महानगरपालिकाले ३ करोड आर्थिक सहयोग उपलब्ध गराएको देखिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #काठमाडौं महानगरपालिका, #डा. भगवान कोइराला, #बाल अस्पताल, #मेयर वालेन साह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com