ग्लोवल फण्ड र सरकारको लापरबाहीले लागूऔषध प्रयोगकर्तालाई दिइने ‘मेथाडोन’ देशभर अभाव


काठमाडौं । लागुऔषध दुर्व्यसनीले प्रयोग गर्ने ‘मेथाडोन’को देशभर अभाव भएको छ । ग्लोवल फण्ड र नेपाल सरकार गैरजिम्मेवार बन्दा मेथाडोनको अभाव हुन पुगेको सम्बन्धित क्षेत्रका अधिकारीहरु बताउँछन् । मेथाडोन वितरण गर्ने अस्पतालहरुका अनुसार सोमबारदेखि देशभर अभाव भएको छ ।

आठवटा सरकारी स्वास्थ्य संस्था र ३ वटा गैरसरकारी संस्थाले सरकारबाट अनुमति लिएर लागुऔषध दुर्व्यसनीलाई मेथाडोन वितरण गर्दै आएका छन् । सिरिन्जबाट लागुऔषध लिनेलाई शरीरमा कम क्षति होस् भनेर मुखबाटै लागुऔषध खुवाउन मेथाडोन प्रयोग गरिएको हो । यसलाई मौखिक प्रतिस्थापना उपचार पद्धति भनिन्छ । यो उपचार पद्धतिमा दुर्व्यसनीलाई मेथाडोन प्रयोग गर्न दिइन्छ ।

लागुऔषध जोखिम न्यूनीकरण योजनाअन्तर्गत सरकारले मौखिक प्रतिस्थापन उपचार गराउँदै आएको हो । कुलतको उपचारका लागि सेभ द चिल्ड्रेनले ग्लोवल फण्डमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई वार्षिक करोडौँ रकम दिँदै आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले पनि मेथाडोन अभाव भएको स्वीकार गरिन् । ‘हामीले खरिद गर्ने हैन डा. देवकोटाले भनिन् ‘मेथाडोन ग्लोवल फण्डले खरिद गरेर नेपालमा पठाउने हो । ग्लोवल टेन्डर मार्फत ‘बाम्बो’ ले खरिद गरेर पठाउने हो ।’,

निर्देशक डा. देवकोटाका अनुसार ग्लोबल फण्डले तत्काल मेथाडोन पठाउन नसक्ने बताएको छ । राज्य गैरजिम्मेवार हुँदा मेथाडोन अभाव हुन पुगेको हो । ‘नेपाल आफैंले खरिद गर्न पाएको अवस्थामा यस्तो समस्या आउँने थिएन’, डा. देवकोटा भन्छिन् । मेथाडोन अभावले स्वास्थ्य मन्त्रालयलाई लागु औषध प्रयोगकर्ताले चर्को दवाव दिएका छन् । लागु औषध प्रयोग कर्ताको नाममा करोडौं रुपैयाँ चलाउने तर औषधि दिन नसक्ने भएपछि सरकार दवावमा परेको हो ।

सुई प्रयोग गर्ने कडा खालको लागूऔषध प्रयोगकर्ताले सुई साटफेर गर्ने हुँदा उनीहरूलाई एचआईभी÷एड्स, हेपाटाइटिस जस्ता रोगबाट जोगाउने र क्रमशः लागूऔषधको दलदलबाट निकालेर सामान्य जीवनमा फर्काउने उद्देश्यले मेथाडोन प्रयोग गर्न थालिएको हो । नेपालमा उक्त मेथाडोन प्रयोग गर्न गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत लिइएको छ । स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने उक्त कार्यक्रम ग्लोवल फण्डले सेभ द चिल्ड्रेनमार्फत गर्दै आएको छ । जसले गर्दा बेला बेलामा ग्लोवल फण्डले मेथाडोनको अभाव सिर्जना गराउँदै आएको छ ।

‘एचआईभी÷एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आफै खरिद गर्ने भन्दा पनि ग्लोवल फण्डले दिएको छैन’, अधिकारीहरु भन्छन् । अधिकारीहरुका अनुसार दोस्रो विश्वयुद्धमा घाइते भएका सैनिकहरूलाई ‘पेनकिलर’ को रूपमा प्रयोग गरिएको मेथाडोन सन् १९३९ मा जर्मनीमा उत्पादित कडा खालको लागूऔषध हो । जुन पहिलो पटक सन् १९६४ मा अमेरिकामा सुईबाट हेरोइन लिने दुव्र्यसनीहरूलाई दिन शुरू गरिएको थियो ।

देशभरका ११ वटा वितरण केन्द्रमा विस्तार हुँदा पनि १२ सय जना लागूऔषध प्रयोगकर्ताले मात्र मेथाडोन सेवन गरिरहेको तथ्यांक छ । तुलनात्मक रूपमा गुणस्तरयुक्त ड्रग्स मानिने, निःशुल्क पाइने, प्रहरीबाट जोगिनु नपर्ने र देशका प्रमुख शहरहरूमा विस्तारित वितरण केन्द्रहरूमा सहजै उपलब्ध हुने मेथाडोन सेवन गर्नेहरूको संख्या खासै बढ्न सकेको छैन ।

मेथाडोन वितरण हुने सस्थाहरु
शिक्षण अस्पताल
मानसिक रोग अस्पताल
गण्डकी अस्पताल
भेरी अस्पताल
लुम्बिनी अस्पताल
नारायणी अस्पताल
कोशी अस्पताल
मेची अस्पताल

गैरसरकारी संस्था
स्पर्श
सारथी
निर्णय

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com