नेपालबाट बेलायतमा नर्स लान हुन लागेको सम्झौताप्रति डब्ल्यूएचओको ‘अब्जेक्सन’


काठमाडौं । नेपालबाट बेलायतमा नर्स लाने दुईपक्षीय सम्झौताप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘अब्जेक्सन’ जनाएको छ । विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधिहरुले बेलायती राजदूत निकोला पोलिटसँग भेटेर नेपालबाट नर्स लाने विषयमा असहमति जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले डब्ल्यूएचओका प्रतिनिधि बेलायती राजदूतलाई भेट्न गएको खुलाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफू ‘हिरो’ बन्न स्वास्थ्य मन्त्रालयसँग छलफल नगरी बेलायतमा नर्स लाने प्रक्रिया अघि बढाएको खुलेको छ ।

नेपालबाट बेलायतमा नर्सलगायत स्वास्थ्यका जनशक्ति लाँदा नेपालको स्वास्थ्य प्रणाली (हेल्थ सिस्टम)नै ‘कोल्याप्स’ हुन सक्ने भन्दै डब्ल्यूएचओका प्रतिनिधि बेलायती राजदूत पोलिटलई भेटेर ‘अब्जेक्सन’ जनाएको खुल्न आएको छ ।

बेलायतले नेपालमा स्वास्थ्यमा लगानी गर्दा डब्ल्यूएचओमार्फत गर्ने भएकाले आफूहरूलाई नसोधी नेपालबाट नर्स लाने खोजेको विषयमा डब्ल्यूएचओका प्रतिनिधि ‘अब्जेक्सन’ जनाएका हुन् ।

नेपालको स्वास्थ्यमा क्षेत्रमा ठूलो आर्थिक सहयोग गर्दै आएको बेलायतले नेपालमै नर्स अभाव भएका बेला आफ्नो देशमा लगेर नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ बनाउन नहुने डब्ल्यूएचओका प्रतिनिधिहरुको तर्क छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालमा स्वास्थ्य जनशक्ति र अवस्थाको अध्ययन र विश्लेषणनै नगरी बेलायतमा नर्स पठाउने  दुईपक्षीय सम्झौता गर्न खोजेको देखिन्छ । यो विषयमा स्वास्थ्य मन्त्रालय र डब्ल्यूएचओका अधिकारीहरुनै असन्तुष्ट देखिन्छन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेसँगै यो कुराले सरोकारवालाहरुमझ तरंग ल्याइदिएको छ ।  बेलायतले नेपालबाट दश हजार नर्स लाने गरी सम्झौता गर्न खोजेको र मन्त्रिपरिषद्ले समेत स्वीकृत दिएकाले यो विषय बहसमा आएको हो ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##नर्स, #डब्ल्यूएचओ, #बेलायती राजदूत निकोला पोलिट, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com