मन्त्री फिर्ताको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा नेकपा एसमा विद्रोह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा नेकपा नेकपा एकीकृत समाजवादी (एस)मा विद्रोह सुरु भएको छ ।

सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने नेकपा एकीकृत समाजवादीको निर्णयप्रति स्वास्थ्यमन्त्री विरोध खतिवडासहित १० सांसदले असहमति जनाउँदै विद्रोह गरेका हुन् । उनीहरूले बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रिमण्डल पुनर्गगठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने जनाउँदै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ज्ञापन पत्र दिएका छन् ।

सांसद समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले तत्काल संसदीय दलको बैठक बोलाउन निवेदन दिएका हुन् । त्यस्तै सांसद कृष्ण लाल महर्जन गोपल बहादुर बम, विना देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरीले पार्टीले गरेको मन्त्री फिर्ता बोलाउने गरी गरेको निर्णयमा विद्रोह गरेका हुन् ।

‘पूर्व जानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापी ठिक मान्न सकिँदैन ।’, एसका १० सांसदले दिएको ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

स्थायी कमिटीको बैठकमा बजेट पास भएपछि गठवन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक पटक आजै / भोली नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाब किमार्थ राम्रो मान्न नसकिने १० सांसदको ठहर छ ।

मन्त्रीहरूले संसदमा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि छाड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानिएको भन्दै यो व्यवहारप्रति गम्भीर भएको जनाएका छन् ।

प्रस्ताव गरिएका मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित रहेकोमा समेत १० सांसदले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैर सांसद र एकै जिल्लाबाट एकैपटक मन्त्रीमा सिफारिस गरेको, पूराना र नयाँको सन्तुलन मिलाएको कुराप्रति हामी गम्भीर असहम छौं ।’, एसका १० सांसदले भनेका छन् ।

स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा एसका १० सांसदले मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न पनि जोडदार माग गरेका छन् । उनीहरूले अध्यक्ष माधव कुमार नेपाललाई सम्बोधन गरेको ८ बुँदे ध्यानाकर्षण पत्रमा तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग राखेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com