बर्खास्त हुनुपर्ने वीपीका किर्ते उपकुलपति गिरीले स्वास्थ्य मन्त्रालयसँग १३ करोड मागे


काठमाडौं । सरकारले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार बर्खास्त हुनुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्रालयसँग १३ करोड मागेको खुलेको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार किर्ते प्राध्यापक गिरीले थ्री टेस्ला एमआरआई मेसिन किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १३ करोड मागेको देखिन्छ । गिरीले स्वास्थ्य मन्त्रालयलाई गरेको पत्रचारमा प्राध्यापकको उपाधि गायब बनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको छानबिन समितिले उपकुलपति गिरीसँग प्राध्यापकको उपाधि पाएको प्रमाण पेश गर्न निर्देशन दिएको थियो । उक्त उपाधि प्रमाणित नभए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको स्वास्थ्य मन्त्रालय उल्टै १३ करोड दिनु पर्ने बाध्यतामा परेको छ ।

किर्ते प्राध्यापकको उपाधि देखाउँदै आएका वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीमाथि भ्रष्टाचार मुद्दा लाग्नु पर्ने हो । तर सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोग उनीसामू निरीह देखिन्छ ।

किर्ते प्राध्यापक उपकुलपति गिरीलाई बर्खास्त गर्ने उद्देश्यले प्रधानमन्त्री एवं वीपी प्रतिष्ठान कुलपति शेरबहादुर देउवाले तत्कालीन स्वास्थ्यमन्त्री एवं सहकुलपति विरोध खतिवडालाई बालुवाटारमा सिनेट बोलाउन निर्देशन दिएका थिए । आफूलाई बर्खास्त गर्ने सुईको पाएका गिरीले सिनेट रोक्न सर्वोच्च अदालतबाट आदेश ल्याएका थिए । त्यहीं आदेशको आडमा उनले वीपी प्रतिष्ठानमा करोडौंको खरिद अनियमितता गरिरहेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई वीपी प्रतिष्ठानमा रिक्त रहेका पदमा एकीकृत समाजवादी निकटलाई नियुक्त गर्ने आश्वासन दिएर स्वास्थ्य मन्त्रालयबाट बजेट झार्ने प्रयासमा रहेको वीपीका अधिकारीहरू बताउँछन् ।

किर्ते प्राध्यापक उपकुलपतिलाई बर्खास्त गर्नु पर्नेमा अस्पताल निर्देशकलगायत पद र कार्यकारिणी समितिको सदस्य नियुक्तिमा स्वास्थ्यमन्त्री खापुङ लागेको स्रोतले जनाएको छ । समाजवादीका कार्यकर्ताहरु नियुक्तिको लिस्ट नै बोकेर किर्ते प्राध्यापक उपकुलपति गिरीसँग बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ । यसको फाइदा उठाउने दाउमा गिरी रहेको देखिन्छ । १३ करोडको खेल पनि त्यहीं विषयसँग जोडिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com