स्वास्थ्यमा बेथिति

पूर्वाधार र जनशक्तिबिनै १९ करोडको उपकरण किन्न लागेको खुलासा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको पूर्वाधार र जनशक्ति नै तयार नभइ  १९ करोडको उपकरण किनेर ‘डम्प’ गर्न लागेको खुलासा भएको छ ।

मेडिकल क्षेत्रका माफिया विशाल पण्डितको सेटिङमा स्वास्थ्य मन्त्रालयले बिना पूर्वाधार र जनशक्ति इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न लागेको खुलासा भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा शिलान्यास भएका ३ सय ९६ वटा स्थानीय तहका आधारभूत अस्पतालमध्ये एउटा पनि निर्माण सम्पन्नको चरणमा देखिँदैनन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने भनिएका ती अस्पतालमध्ये अधिकांश अस्पताल निर्माणको सुरुवात समेत हुन सकेको छैन । सय वटा हाराहारीमा निर्माणाधीन अस्पताल परियोजना सम्पन्न हुनका लागि अझैं डेढ दुई वर्ष लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न भने सरकारले हतारो देखाएको छ ।

बिना पूर्वाधार र जनशक्ति विशाल पण्डितको प्रालिलाई मात्र मिल्ने गरी सेटिङमा १९ करोडको उपकरण खरिद गर्न स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुनै लागेका छन् । पण्डितले यहीं मौकाको फाईदा उठाउँदै पहिला आपूर्ति गरेका उपकरणभन्दा तीनगुणा महँगोमा सरकारलाई इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम भिडाउन खोजेका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अनावश्यक उपकरण किनेर थन्क्याउनु पनि भ्रष्टाचार नै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माफियाको सेटिङमा अनावश्यक १९ करोडको इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम किनेर भ्रष्टाचार गर्न खोजेको प्रस्टै देखिन्छ । स्वास्थ्य उपकरण खरिदका ठेक्कामा एकछत्र राज गरिरहेका विशाल पण्डितले स्वास्थ्यबाट कसरी ‘बिजनेस’ निकाल्छन् भन्ने उदाहरण इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद हो ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका प्रिय पात्र पण्डितले स्वास्थ्यमा आफूअनुकूल कर्मचारी लान शक्ति केन्द्र धाइरहेको स्वास्थ्य लाइभले सूचना प्राप्त गरेको छ । उनले पछिल्लो समय स्वास्थ्यमा सेटिङ भत्किन थालेको भन्दै आफूअनुकूल कर्मचारी लान खोजिरहेका छन् । ६ महिनादेखि प्रयास गर्दा मात्र टेण्डर खुलाएको पण्डितकै भनाइले त्यसलाई पुष्टि गर्छ ।

स्वास्थ्य मन्त्रालय पण्डितको छायाँ बनेकाे छ । स्वास्थ्य लाइभले उनिमाथि थप अनुसन्धान सुरु गरेकाे छ । पण्डित इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिदमा ७  करोडको झेल गर्न लागेका छन् । यो प्रकरणले राज्य लुट्न माफियाहरू कसरी सक्रिय छन् भन्ने बुझ्न सजिलो भएको छ ।

सात सय ५३ स्थानीय तहमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउन शिलान्याश गरेको हो ।  ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन । यीमध्ये पाँच शय्याका ५२ वटा , १० शय्याका एक सय ९ वटा र १५ शय्याका ३५ अस्पताल बनाउने योजना सरकारको छ । तर नानी जन्मनु कहिले कोक्रो बुन्नु अहिले भन्ने नेपाली उखान जस्तै त्यसका लागि १९ करोडको इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

अस्पताल भवन बनेपछि त्यसै अनुसारको जनशक्ति समेत व्यवस्थापन गर्नु पर्ने हुन्छ । मुलुकमा डलरको अभाव भइरहँदा बिना पूर्वाधार र जनशक्ति विदेशबाट इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम खरिद गर्न खोजेर पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसहित स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई विवादमा तान्न खोजेका छन् । यो खरिद प्रकरणमाथि तत्काल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाउनु पर्ने देखिन्छ ।

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : ##विशाल पण्डित, #इन्टीग्रेटेड हस्पिटल वेस्ट म्यानेजमेन्ट सिष्टम, #घोटाला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com