नेपालको पहिलो मेडिकल उपकरण सूक्ष्म दर्शक यन्त्र


काठमाडौं । नेपालको पहिलो डाक्टर रत्न दास वैद्य हुन् । कलकत्ताबाट बि.सं.१९५९ सालमा डाक्टर पास गरेर नेपालको पहिलो एलोप्याथीक चिकित्सक बने । पहिलो डाक्टर बनेका उनले सो समयमा कस्ता उपकरणबाट सेवा दिन्थे भन्ने कौतुहलता सबैमा हुन्छ, जुन स्वभाविक पनि छ ।                                             

स्वास्थ्य लाइभले विगतका इतिहास केलाउने काम सुरु गरेको छ । नेपालको पहिलो चिकित्सक डा. रत्न दास वैद्य हुने भने पहिलो मेडिकल उपकरण सूक्ष्म दर्शक यन्त्र (माइक्रोस्कोप) भएको बुझिएको छ । किनकी पहिलो चिकित्सकले डाक्टरी सकेर नेपाल फर्कदा माइक्रोस्कोप पनि सँगै लिएर आएका थिए ।

डाक्टर रत्न दास वैद्यले ११९ बर्ष अघि प्रयोग गरेको माइक्रोस्कोप नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको संग्रहालयमा राखिने भएको छ । नेपाल चिकित्सक संघ र स्वास्थ्य लाइभले संग्राहालयमा राख्ने मेडिकल उपकरणहरुको खोजी गरिरहेको छ । नेपाली चिकित्सा जगतमा यो काम ऐतिहासीक हुने अधिकारीहरु बताउँछन् ।

नेपालका पहिलो डाक्टर रत्न दास वैद्यले प्रयोग गरेको अनुमानित ११९ बर्ष पुरानो माइक्रोस्कोप डाक्टरी अध्ययन सिध्याएर नेपाल फर्किदा आफूसँगै ल्याएका थिए । उनले ल्याएर प्रयोग गरेको सूक्ष्म दर्शक यन्त्रको सि.नं. ९६७५ रहेको छ । हेनरी क्राउच, लन्डनमा निर्माण भएको उक्त सूक्ष्म दर्शक यन्त्र नेपालको पहिलो मेडिकल उपकरण भएको अधिकारीहरु बताउँछन् ।

रत्न दास डाक्टर बनेर स्वदेश फर्कनसाथ महाराज श्री ३ चन्द्र शम्शेरको निजी चिकित्सक भई सेवा सुरु गरे । उनले ल्याएको पहिलो सूक्ष्म दर्शक यन्त्र पनि चन्द्र शम्शेरको उपचारमा प्रयोग गरिएको थियो । उक्त सूक्ष्म दर्शक यन्त्रको वजन १५ किलोभन्दा बढी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com