अदालतमा पेशी स्थगित गराएर वीपीका किर्ते प्राध्यापक गिरीसँग नियुक्तिमा ‘लेनदेन’

डा. सूर्य संग्रौला वीपीको रजिष्ट्रार बन्न 'अयोग्य'


काठमाडौं । सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी स्थगित गराएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग नियुक्तिमा ‘लेनदेन’ गरेको पाइएको छ ।

आफूलाई बर्खास्त गर्ने वीपी प्रतिष्ठानको सिनेट रोक्न उपकुलपति डा. गिरीले सर्वोच्च अदालतमा हालेको रिटको आजको सुनुवाई स्थगित गरेर वीपी प्रतिष्ठानको रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गरिएको हो ।

वीपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान सूर्य संग्रौलालाई नियुक्त गरिएको छ । त्यस्तै वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति गिरीको सिफारिसमा वीपीको  अस्पताल निर्देशकमा डा. जगत प्रसादलाई  नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले उनीहरूलाई आज नियुक्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीपीका किर्ते प्राध्यापक गिरीले आफूलाई बर्खास्त गर्न बालुवाटरमा बोलाइएको सिनेट रोक्न सर्वोच्च अदालतमा अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए । उक्त रिटमा प्रधानमन्त्री एवं कुलपति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं समेतलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठ सम्मिलित संयुक्त इजलाशमा त्यो रिटको आज सुनुवाई रहेको थियो । तर विपक्षी प्रधानमन्त्रीलगयतले नै पेशी स्थगित गरेर किर्ते प्राध्यापक गिरीलाई सहज हुने गरी प्रतिष्ठानको रजिष्ट्रार, अस्पताल निर्देशक र सिनेट सदस्य थपेको छ ।  उपकुलपति गिरीको सिफारिसमा सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल, डा. स्मृति कार्की नियुक्त भएका छन्।

कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान सूर्यलाई वीपीको रजिष्ट्रार बनाउने नाममा बालुवाटारले किर्ते प्राध्यापक गिरीसँग सौदाबाजी गरेको छ । यो नियुक्तिमा प्रधानमन्त्री एवं वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको टिमदेखि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्मको नाम जोडिएको छ ।

डा. सूर्य संग्रौला वीपीको रजिष्ट्रार बन्न ‘अयोग्य’

कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान डा. सूर्य संग्रौला वीपीको रजिष्ट्रार बन्न ‘अयोग्य’ रहेको आरोप लागेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, जनस्वास्थ्य, अस्पताल प्रशासन, व्यवस्थापन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा दश वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा स्वास्थ्यसँग सम्बन्धित विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा नवौं तह वा सो सरहको पदमा काम गरेको अनुभव हुनुपर्ने योग्यता छ । तर डा. सूर्यमा यो योग्यता र अनुभव नभएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ ।

‘डा. सूर्यको स्वस्थ्य सम्बन्धी डीग्री छैन, स्वास्थ्य क्षेत्रको व्यवस्थापन/प्रशाासनमा १० वर्ष काम गरेको अनुभव छैन । तर, डा. सूर्यमा डा. डिलाको श्रीमान हुनुबाहेक यो क्षेत्रमा अन्य अनुभव नै छैन ।’, वीपी प्रतिष्ठानका एक पूर्व पदाधिकारीले स्वास्थ्य लाइभसँग भने ।

कांग्रेस नेतृ संग्रौला र वीपीका नवनियुक्त रजिष्ट्रार डा. सूर्य

संग्रौलालाई रजिष्ट्रार बनायो भने प्रमसँग सुमधुर सम्बन्ध बन्छ भनेर किर्ते उपकुलपतिले समेत संग्रौलालाई नियुक्त गराउन स्वास्थ्यमन्त्रीलाई दवाव दिएको बताइन्छ । तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रतिवेदनको आधारमा प्रम देउवाले उपकुलपति गिरिलाई बर्खास्त गर्न प्रतिष्ठानको सिनेट बोलाउन दिएको निर्देशनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेर अल्पकालीन आदेशबाट पद जोगाएका गिरीको मुद्दा आजै सर्वोच्चबाट खारेज हुनबाट जोगाउन पेशी स्थगित गराइएको आरोप छ । मुद्दाको पेशी स्थगित गराएर रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्ति गर्नुले गम्भीर प्रश्न खडा भएको छ ।

प्रमलाई रिझाउन संग्रौलाई रजिष्ट्रार बनाउने अनि उपकरण खरिदमा सेटिङ गर्न प्रतिष्ठानका जुनियर चिकित्सक डा. जगत प्रसादलाई अस्पताल निर्देशकमा नियुक्ति गर्ने गिरीको दाउ सफल भएको वीपी प्रतिष्ठानमा चर्चा छ । गत शुक्रबार बिहान गिरी र स्वास्थ्यमन्त्री खापुङबीच एक घण्टा गोप्य छलफल भएर डा. जगतलाई निर्देशक बनाउने सेटिङसहित प्रक्रिया अगाडि बढाएको आरोप थियो । तर स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले अवरोध खडा गरेपछि त्यो दिन नियुक्ति हुन सकेन । आज भने स्वास्थ्यमन्त्री खापुङले गिरीसँगको सेटिङ बमोजिम वीपी प्रतिष्ठानको रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेरै छाडेका छन् ।

स्वास्थ्यमन्त्री खापुङ समेत गिरीको जालमा फसेर चिकित्सा शिक्षा आयोगको मापदण्डविपरीत डा. जगत प्रसादलाई अस्पताल निर्देशकमा नियुक्त गर्न बाध्य भएको मन्त्रालयका अधिकारीहरु दाबी गर्छन् । डा. जगत प्रसाद एसोसिएट प्रोफेसर मात्र रहेको र उनीभन्दा माथि प्रतिष्ठानमा १४० जना प्राध्यापक रहेका छन् ।

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३५ अनुसार आयोगले प्रतिष्ठानहरुलाइ नियुक्ती सम्बन्धी दिएको निर्देशनमा पेशागत दक्षता, व्यवस्थापकीय क्षमता, संस्थागत प्रतिवद्धत, सार्वजनिक रूपमा स्वच्छ छवि र बरिष्ठाता हुनैपर्ने उल्लेख छ ।  । डा. सूर्य र डा. जगतमा सो नरहेको आरोप छ ।

रजिष्ट्रारमा नियुक्त डा. सूर्य संग्रौला पूर्वाञ्चल विश्वविध्यालय परीक्षा नियन्त्रक हुँदा अनियमिताको आरोपमा तालाबन्दी समेत लागेको थियो । उनी त्यहाँबाट आर्थिक विवादमा कुछिएर निस्किएका व्यक्ति हुन् ।

किर्ते उपकुलपतिले आफ्ना मातहतका पदाधिकारीहरु समेत अयोग्य र पपेट राखेर प्रतिष्ठानमा लुट्तन्त्र जारी राख्न खोजेको आरोप छ । यो नियुक्तिले त्यसलाई थप मलजल गरेको वीपी प्रतिष्ठानका अधिकारीरूको टिप्पणी रहेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## किर्ते प्राध्यापक, #अस्पताल निर्देशक जगत प्रसाद, #उपकुलपति डा. ज्ञानेन्द्र गिरी, #कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, #डिला संग्रौला, #वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौला सं, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com