बर्खास्त गर्नुपर्ने वीपीका ‘किर्ते’ उपकुलपतिसँग नियुक्तिमा सौदाबाजी गर्दै बालुवाटार 


काठमाडौं । तत्काल सिनेट बोलाएर बर्खास्त गर्नुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धारानका ‘किर्ते’ प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग बालुवाटारले नियुक्तिमा सौदाबाजी गरिरहेको खुल्न आएको छ ।

वीपी प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यक्तिहरु किर्ते प्राध्यापक गिरीसँग रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्तिमा सौदाबाजी गरेर उनलाई झन् बलियो बनाउने खेलमा लागेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाका श्रीमान डा. सूर्य संग्रौलालाई रजिष्ट्रार बनाउने स्वार्थमा लाग्दा किर्ते प्राध्यापक गिरीले आफूलाई जोगाउने अवसर पाएका छन् ।

कांग्रेस नेतृ संग्रौला पनि आफ्ना श्रीमान सूर्यलाई रजिष्ट्रार बनाउने नाममा विधि, पद्धति, विकृति, विसंगति सबैमा आँखा चिम्लिएर वीपी प्रतिष्ठानलाई धराशायी बनाउने खेलमा लागेकी छिन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रक हुँदा विवादित बनेका डा. संग्रौलालाई वीपीको रजिष्ट्रार बनाउन प्रधानमन्त्री देउवा स्वंय लागेको बताइन्छ । उनले स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई डा. संग्रौलालाई वीपीको रजिष्ट्रार बनाउन दवाव दिएको चर्चा छ । यो मौकाको फाइदा उठाउँदै वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीले डा. जगतनारायणलाई अस्पताल निर्देशक बनाउने दाउमा लागेका छन् ।

बालुवाटारबाट विवादित डा. संग्रौलालाई रजिष्ट्रार बनाउन दवाव आएपछि उनले पनि आफूले गरेका हरेक बदमासीमा साथ दिँदै आएका डा. जगतनारायणलाई अस्पताल निर्देशक बनाउन डा. गिरी लागेका छन् । उनीहरूको नाम सहकुलपति एवं स्वास्थ्यमन्त्री खापुङसमक्ष सिफारिस भइसकेको छ ।

बालुवाटार नै नियुक्तिको सौदाबाजीमा लागेपछि बर्खास्त हुनुपर्ने किर्ते प्राध्यापक उपकुलपति डा. गिरीलाई हाइसन्चो भएको छ । उल्टै अस्पताल निर्देशकमा विश्वास पात्र छिराउने तरखरमा छन् । विभिन्न छानबिन समितिले दोषी ठहर गरेका डा. गिरीलाई हटाउने विषयमा मौन रहेको बालुवाटारले विवादित व्यक्तिलाई रजिष्ट्रार बनाउने खेलमा लागेर उनकाे बार्गेनिङ पावर बढाइदिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डा. सूर्य संग्रौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com