स्पाइनल इन्जुरी पीडित सुनसरीका पारस मोतेको उपचारका लागि सहयोगको अपिल


काठमाडौं । स्पाइनल कर्ड इन्जुरी रोगबाट पीडित सुनसरी, इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर १० वर्षदेखि उक्त रोगसँग जुध्दै आएका मोतेले पैसाको अभावले थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरेका हुन् । उनले भने,‘स्पाइनल कर्ड इन्जुरीको १० वर्षअघि साथीहरुले पैसा जुटाएर दिल्लीको एक सरकारी अस्पतालमा एकपटक एम्बुलाइजेसन गरे । अझै दुईपटक अस्पतालले एम्बुलाइजेसन गर्नुपर्छ भनेको छ, तर, मसँग पैसा छैन् ।’ उनले आफ्नो थप उपचारमा आर्थिक सहयोग गर्न देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई आग्रह गरे । उनले एकपटक एम्बुलाइजेसन गरेको ४ लाख रुपैयाँ शुल्क लाग्ने बताए ।

एम्बुलाइजेसनको लागि करिब ९ महिना भारतमा बस्न पर्ने भन्दै आफूमात्र नभएर बिरामी कुरुवाको समेत खानपिनको बन्दोबस्त गर्न समस्या भएको सुनाए । १० वर्षअघि भारतको इन्डिया एन्ट हस्पिटलमा उपचार गराएको उनले जानकारी दिए । उनले आफुलाई सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई एन.एम.बी बैंकको सुनसरी तरहरा शाखाको खाता नम्बर ०५५००८३९३८४०००११ र मोबाइल नम्बर ९८०४०३७४२८ मा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आर्थिक अभावमा उपचारबाट बञ्चित भएका पारस मोतेलाई देश तथा विदेशमा रहेका सबैले सहयोग गरेर उपचार सहज बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘पारस मोतेले पैसाको अभावले आफ्नो उपचार गर्न नसकेको भनेपछि म भावविह्वल भएँ ।’

धमलाले मोतेको उपचारको लागि राज्यको तर्फबाट सहयोग हुनुपर्ने भन्दै सरकारबाट सहयोग नभए १० लाख रुपैयाँ रिपोर्टर्स क्लब नेपालले अग्रसरता लिएर जुटाउने पनि प्रतिबद्धता गरे । उनले भने,‘विभिन्न व्यक्ति र सरकारसँग सहयोग मागेर उहाँको उपचारमा खर्च जुटाउने छौं। जसरी पनि उहाँको उपचार गर्छौं । यो हाम्रो साझा प्रतिवद्धता हो । जुटेको रकम पारदर्शी राखिनेछ । सबै रकम संकलन भएपछि उहाँलाई उपचारको लागि भारत लग्नेछौ ।’

सबैले २–२ हजार, ५–५ हजार जम्मा गरेपनि मोतेको उपचारको लागि खर्च जुट्ने धमलाको भनाई थियो । सबै सहयोगी हात जुटाएर मिलेर पारसलाई बचाउनुपर्ने भन्दै धमलाले उनको उपचारको लागि आफुले कुनै कसरत बाँकी नराख्ने दृढता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) का युवा नेता रामप्रसाद रिजालले अहिलेको सरकारले देश र जनताको हितभन्दा आफ्नो कार्यकर्तामात्रै पोस्ने काम गरेको टिप्पणी गरे । उनले स्वास्थ्य सेवा नै सबैभन्दा ठुलो परोपकार भएको भन्दै सामान्य व्यक्तिहरुको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको गुनासो पोखे ।

उनले आफ्ना सहपाठी मोतेको उपचार नेपालमा सम्भव नभएकोले थप उपचारको लागि भारत लैजान करिब १० लाख रुपैयाँको आवश्यकता रहेको सुनाए । उनले मोतेको उपचारको लागि सहयोग गर्न पनि सहयोगी मनलाई अपिल गरे ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com